close

अफगानिस्तानमा ह्वाट्सएपले बन्द गरिदियो ‘तालिबान हेल्पलाइन’

टेकपाना टेकपाना

भदौ २, २०७८ १३:१८

अफगानिस्तानमा ह्वाट्सएपले बन्द गरिदियो ‘तालिबान हेल्पलाइन’

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमाथि तालिबान लडाकु समूहले नियन्त्रण लिएसँगै ह्वाट्सएपले त्यहाँको ‘कम्प्लेन हेल्पलाइन’ बन्द गरेको छ । तालिबानसँग सम्बन्धित कन्टेन्ट तथा सर्भिस बन्द गर्ने दबाब आएसँगै ह्वाट्सएपले यस्तो निर्णय लिएको हो ।

तालिबानले सञ्चालमा ल्याएकाे याे हेल्पलाइन आपतकालीन हटलाइन नम्बरको रुपमा प्रयोग हुँदै आएको थियो । जसमार्फत त्यहाँका सर्वसाधारणले आफूमाथि कुनै हिंसा, लुट लगायतका कुनै समस्या भएमा जानकारी गराउन प्रयोग गर्दै आएका थिए ।

फेसबुकले तालिबानका आधिकारिक च्यानलसमेत बन्द गरिदिएको छ । साथै फेसबुक म्यासेन्जरमा रहेका तालिबानसँग सम्बन्धित म्यासेजिङ ग्रुप बन्द गर्नका लागि आन्तरिक रुपमा खोजी भइरहेको समेत जनाइएको छ ।

तालिबानले वर्षौंदेखि सामाजिक सञ्जालमार्फत आफ्ना सामग्री प्रवाह गर्दै आइरहेको छ । तालिबानले अनपेक्षित गतिमा अफगानिस्तानलाई नियन्त्रण लिएपछि सामाजिक सञ्जाल कम्पनीहरू त्यस समर्थित सामग्रीलाई कस्तो व्यवहार गर्ने भन्नेमा दुविधामा रहेका छन् ।

अमेरिकी कानूनले तालिबानलाई आतङ्ककारी समूह करार गरेको छ । त्यसैलाई आधार मान्दै फेसबुकले उक्त समूहलाई आफ्नो सेवा प्रयोग गर्न प्रतिबन्ध लगाएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१