close

१५औँ वर्षमा ईसेवा, ग्राहकलाई क्याशब्याकदेखि हिराको उपहार जित्ने अवसर

टेकपाना टेकपाना

माघ १०, २०७९ १८:२

१५औँ वर्षमा ईसेवा, ग्राहकलाई क्याशब्याकदेखि हिराको उपहार जित्ने अवसर

काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवाप्रदायक ‘ईसेवा’ १५औँ वर्षमा प्रवेश गरेको छ । नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको ईसेवाले १४ वर्ष पार गरेको हो ।

मंगलबार एक पत्रकार सम्मेलन गर्दै ईसेवाले डिजिटल अर्थतन्त्र निर्माणमा थप सेवा सुविधा ल्याउने प्रतिबद्धता जनाएको छ । सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले भने, “हामी जहिलेपनि हाम्रा प्रयोगकर्ताको दैनिकी कसरी सहज बनाउन सकिन्छ भन्ने कुरामा केन्द्रित हुने गरेका छौँ । आगामी दिनमा पनि अहिले भइरहेका सेवालाई थप परिष्कृत गर्दै वित्तीय सेवालाई सहज बनाई डिजिटल अर्थतन्त्रलाई बलियो बनाउँदै लैजानेछौँ ।

कार्यक्रममा उनले थपे, “हामीलाई यस अवस्थासम्म ल्याउन सहयोग गर्नुहुने आम नेपाली, प्रत्यक्ष र अप्रत्यक्ष रुपमा ईसेवामा जोडिनुभएका प्रयोगकर्ता,  हाम्रा साझेदार बैंक तथा वित्तीय संस्था, हाम्रा तीन लाखभन्दा बढी मर्चेन्ट, नियामक निकाय, हाम्रा सम्पूर्ण एजेन्ट नेटवर्क, कर्मचारी तथा मिडियाकर्मी साथीहरू तथा आम शुभचिन्तकको ठूलो सहयोग छ । म तपाईहरूको यो सहयोग र विश्वासलाई विशष धन्यवाद दिन चाहन्छु” ।

कार्यक्रममा ईसेवाका प्रमुख म्यानेजर आशिष गौतमले ईसेवाले बुधवार भएको आफ्नो वार्षिक उत्सवमा ईसेवाले सार्वजनिक गरेका अफरहरूका विषयमा जानकारी दिए ।

१४औँ वार्षिक उत्सवको अवसरमा ईसेवाले बुधवार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने कारोबारमा विभिन्न अफरहरू सार्वजनिक गरेको छ, जसमा बिहान ९ बजेदेखि १० बजेको अवधिमा आफ्नो बैंक अकाउन्ट ईसेवामा लिंक गरेमा रू. १४० क्यासब्याक पाइनेछ ।

यसैगरी बिहान १० देखि ११ बजेसम्म डायमन्ड अफर सञ्चालन हुनेछ, जसमा एक रिवार्ड पोइन्टसहित सातजना भाग्यशाली विजेताले हिरा उपहार पाउनेछन् ।

यसैगरी ११ देखि १२ बजेसम्म मुभी आवर सञ्चालन हुनेछ । यो अवधिमा मुभी टिकट खरिद गर्दा २०० रिवार्ड पोइन्ट प्राप्त गर्न सकिनेछ ।

यसैगरी १२ बजेसम्म होटल बुक अफर सञ्चालन हुनेछ । यो अवधिमा होटल बुक गर्दा विभिन्न होटलमा कोठाहरु निःशुल्क प्राप्त गर्न सकिनेछ ।

यस्तै १ देखि २ बजेसम्म भौचर मेला आवर सञ्चालन हुनेछ, जसमा विभिन्न किसिमका डिस्काउन्ट भौचर प्राप्त गर्न सकिनेछ ।

२ बजेदेखि ३ बजेसम्म क्याशब्याक अफर सञ्चालन हुनेछ । यस अवधिमा मोबाइल टपअप, एयरलाइन्स टिकट, इन्टरनेट टिभीको बिल भुक्तानी, विद्युत महशुल भुक्तानीमा १४ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सकिनेछ ।

यसैगरी ३ देखि ४ बजेसम्म मेरोशेयर अफर सञ्चालन हुनेछ । यो अवधिमा रु. ५० सम्मको शतप्रतिशत क्यासब्याक प्राप्त गर्न सकिनेछ ।

यसैगरी ईसेवाले आफ्नो वार्षिक उत्सवको अवसरमा छात्रवृत्ति कोष समेत सञ्चालन गरेको छ । यसको राशि र प्रक्रियाका विषयमा केही समयपछि एक कार्यक्रममार्फत जानकारी गराउने कम्पनीले जनाएकाे छ ।

''ईसेवाले आफ्नो १४ वर्षे यात्रामा नगदरहित (क्यासलेस) अर्थतन्त्र निर्माणको बाटोमा महत्वपूर्ण योगदान पुर्याउन सफल भएको छ । १४ वर्षको अवधिमा ईसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ७० लाख नाघेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ७० लाख जनसंख्याले ईसेवामार्फत सेवा लिइरहेका छन्,'' कम्पनीले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ ।

विज्ञप्तिमा अगाडि भनिएाे छ, ''ईसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट बस्तीहरूमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यममार्फत धेरै सहजता ल्याएको छ । १४ वर्षे यात्रामा आम मानिसलाई जुनसुकै सेवाको लागि लाइन बस्नुपरेमा सबैभन्दा पहिले ईसेवालाई सम्झने अवस्थामा ल्याई पुर्याएको छ ।''

ईसेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

ईसेवामा हाल ५० भन्दा धेरै बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट ईसेवामा रकम जम्मा गर्न तथा ईसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

पछिल्लो अध्यावधिक: माघ १०, २०७९ १८:२