close

भारतमा आफ्नो पहिलो रिटेल स्टोर खोल्दै एप्पल

टेकपाना टेकपाना

चैत २३, २०७९ १०:२२

भारतमा आफ्नो पहिलो रिटेल स्टोर खोल्दै एप्पल

काठमाडौं । आईफोन निर्माता कम्पनी एप्पलले भारतमा आफ्नो पहिलो रिटेल स्टोर खोल्ने भएको छ । कम्पनीले एक ब्यानर सार्वजनिक गर्दै मुम्बई स्थित एप्पल स्टोर सञ्चालनमा ल्याउने जानकारी दिएको हो । 

बान्द्रा कुर्ला कम्प्लेक्स मुम्बईमा हुने भएकाले उक्त स्टोरलाई एप्पल बीकेसी नाम दिइएको छ । 

एप्पलको पूर्ण स्वामित्वमा रहेको स्टोर प्रिमियम जियो वर्ल्ड ड्राइभ मलमा अवस्थित रहेको छ । करिब २२ हजार वर्ग फिट क्षेत्रफल रहेको स्टोरको आर्किटेक्चर निकै आकर्षक र उच्च स्तरको देखिन्छ ।

यस अघि देखि अमेरिकाको लस एञ्जल्स र न्युयोर्क, चीनको बेइजिङ, मिलान र सिंगापुर जस्ता ठूला सहरमा रहेका एप्पल स्टोरकै तरिकाले यो स्टोर डिजाइन गरिएको छ । यद्यपि अहिलेसम्म स्टोरको अन्तिम डिजाइन भने देखाइएको छैन । 

तर एप्पलले एउटा प्रिभ्यु भने उपलब्ध गराएको छ । जुन मुम्बईका काला तथा पहेँला ट्याक्सीबाट प्रेरित भएको जस्तो देखिन्छ । यसमा रहेको कलामा एप्पलका कयौं उत्पादन तथा सेवाहरू देखाइएको छ । 

साथै चम्किलो हेलो मुम्बई (Hello Mumbai) पनि लेखिएको छ । भारतमा खुल्ने यो नयाँ स्टोर उद्घाटनलाई उत्सवको रुपमा मनाउन एप्पलले आईफोन, आईप्याड र म्याकका लागि विशेष प्रकारका वालपेपर समेत तयार पारेको छ । 

साथै स्टोरका लागि विशेष किसिमले डिजाइन गरिएको एप्पलको लोगो समेत रहेको छ । कम्पनीले 'साउन्ड्स अफ मुम्बई' नामबाट विशेष एप्पल म्युजिक प्ले लिस्ट समेत प्रचार गरिरहेको छ । 

गत महिना एप्पलले दक्षिण कोरियामा नयाँ रिटेल स्टोर खोलेको थियो । भारतमा बन्दै गरेको एप्पल स्टोर कहिलेबाट सञ्चालनमा आउँछ भन्ने कुराको भने यकिन मिति सार्वजनिक गरिएको छैन । यसपछि एप्पलले दिल्लीमा अर्को रिटेल स्टोर खोल्ने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: चैत २३, २०७९ १०:२२