close

एप्पल आईपडसँगै जन्मिएको पोडकास्ट, यसकारण विश्वभर हुँदैछ लोकप्रिय

टेकपाना टेकपाना

भदौ ४, २०८० ११:५८

एप्पल आईपडसँगै जन्मिएको पोडकास्ट, यसकारण विश्वभर हुँदैछ लोकप्रिय

काठमाडौं । एक जमाना  थियो, जति बेला समाचार सुन्न रेडियो नजिक बस्नु झुम्मिने गरिन्थ्यो । आफ्नो मनपर्ने कार्यक्रम सुन्न, त्यो आउने समय कुरेर बस्नु पर्थ्यो । 

तर प्रविधि यसरी तीव्र रफ्तारमा विकास भयो कि ती सबै कुराहरू कथा जस्ता बन्न पुगे । अहिले रेडियोमा प्रसारण हुने कुनै पनि कार्यक्रम अन्य विभिन्न माध्यमबाट सुन्न सकिने भएको छ । 

त्यस्तै यो समयमा रेडियो भन्दा ‘पोडकास्ट’ उतृष्ठ भन्नेहरूको जमात पनि निकै बढ्दो छ । स्पोटीफाई, एप्पल पोडकास्ट, गुगल पोडकास्ट जस्ता विश्व प्रख्यात एपहरूले पनि यसको महत्त्व दर्साइरहेका छन् । 

पोडकास्ट सर्च इन्जिन लिसन नोटका अनुसार हाल ३० देखि ४० लाखको सङ्ख्यामा पोडकास्ट सञ्चालनमा छन् । नेपालमा पनि पछिल्लो समय उल्लेख्य मात्रामा पोडकास्टरहरू थपिने क्रम चलिरहेको छ । 

आफू अनुकूलको समयमा सुन्न सकिने, निश्चित विषयमा गहिरो कुराकानी हुने, फरक फरक विषयहरू बारे थाहा पाउन सकिने लगायतका विशेषताले गर्दा यसलाई सुन्ने श्रोताहरूको सङ्ख्या बढिरहेको हो । अहिले त झन् भिडिओ पोडकास्ट पनि प्रसारण हुन थालेका छन् । 

त्यसो हुँदा पोडकास्ट सुन्न मात्र होइन, हेर्न पनि सकिने भइसकेको छ । तर पोडकास्टको इतिहास केलाउन भने सन् १९८० तिर पुग्नु पर्ने हुन्छ । पहिले ‘अडियो ब्लग’ भनेर चिनिन्थ्यो ।

तर २१ औं शताब्दीको सुरु भएसँगै पोडकास्टको रूपमा अस्तित्वमा आयो । ब्रोडब्यान्ड इन्टरनेटको पहुँच र आईपड जस्ता पोर्टेबल डिजिटल अडियो प्ले ब्याक उपकरणले यसको विस्तारमा महत्त्वपूर्ण भूमिका खेले । आज हामी त्यही पोडकास्ट कसरी सुरुवात भयो भन्ने बारे चर्चा गर्दै छौं;

 

पोडकास्टको सुरुआत

पोडकास्टको इतिहास सन् १९८० को दशकदेखि सुरु हन्छ । एडम करी र डेभ विनर पोडकास्टका लागि निकै महत्त्वपूर्ण व्यक्ति हुन् । उनीहरूलाई कतिपयले पोडकास्टिङका सह संस्थापक मान्छन् । पोडकास्टको इतिहास थाहा पाउनु अघि यी दुई जनाको बारेमा कुरा गरौं । 

 

पहिलो पटक पोडकास्ट शब्द लेख्ने पत्रकार बेन ह्यामरस्ले

 

अमेरिकी नागरिक करी एमटीभी नामक एक अमेरिकी केबल च्यानलमा भिडियो जकीको रूपमा करी कार्यरत थिए । विनर भने एक सफ्टवेयर इन्जिनियर हुन् । दुवै जनाको भेट हुने बेला अडियो सामग्री वितरणका विभिन्न माध्यम विकास भइरहेका थिए ।

त्यस्तै उनीहरूले पनि सन् २००० तिर त्यसमा नयाँ काम गर्ने जमर्को गरे । उनीहरूले आफ्नो परियोजनालाई ‘आईपोडर’ (iPodder) नाम दिए । त्यसमा उनीहरू सफल भए ।

उनीहरूले इन्टरनेटबाट अडियो फिडहरू सब्सक्राइब गर्न र एपिसोडहरू आफ्नो आईपडमा डाउनलोड गर्न सक्ने बनाए । त्यही परियोजनाले नै आधुनिक पोडकास्टको सुरुआत गरायो । दुवैले भने सन् २००४ देखि 'द डेली सोर्स कोड' नामक पोडकास्ट ल्याए ।

यो संसारको पहिलो पोडकास्ट भएको बताइन्छ । तर सुरुमा कसले पोडकास्ट सुरु गर्‍यो भन्नेमा विभिन्न मतमतान्तर रहेको पाइन्छ । त्यसबेला करीले उक्त पोडकास्टमा सफ्टवेयर डेभलपरहरूसँग अन्तर्वार्ता लिएका थिए ।

 

१९ वर्षे पोडकास्ट

यसरी नियमित रेडियो कार्यक्रमको विकल्पमा पोडकास्ट तयार भएको थियो । तर त्यसबेलासम्म यसको कुनै आधिकारिक नाम थिएन । द गार्डियनका प्रविधि पत्रकार बेन ह्यामर्सले आफ्नो लेख मार्फत पहिलो पटक ‘पोडकास्ट’ शब्द प्रयोग गरे ।

त्यसयता यो पोडकास्ट शब्द जन्म भएको १९ वर्ष मात्र भएको छ । पत्रकार ह्यामर्सले ‘आईपड’ र ‘ब्रोडकास्ट’ दुई शब्द मिलाएर पोडकास्ट नामाकरण गरेका थिए । त्यसपछि यो शब्द प्रसिद्ध बन्दै गयो ।

सोही वर्ष आरएसएस प्रविधि सुधार गर्ने एडम करी र डेभ विनरले 'द डेली सोर्स कोड' नामक पोडकास्ट सुरु गरे । त्यही वर्ष लिबर्टेड सिन्डिकेसन नामक अमेरिकी पोडकास्टिङ कम्पनी स्थापना भयो । यसले अरूलाई पोडकास्ट सुरु गर्न सहयोग गर्थ्यो । 

सन् २००५ मा एप्पलले आईट्युनस ४.९ जारी गर्‍यो । यसले पनि पोडकास्टलाई थप चर्चित बनाउन मद्दत गर्यो । सोही वर्षबाट उत्कृष्ट पोडकास्टरलाई पुरस्कृत गर्न थालियो ।

'द विक इन टेक' नाम शोले पहिलो पटक 'पिपल्स चोइस पोडकास्ट अवार्ड' (पोडकास्ट अवार्ड) पायो । त्यस्तै सोही वर्ष पोडकास्ट माथि लेखिएको पहिलो किताब 'पोडकास्टिङ - डु इट योर सेल्फ' प्रकाशित भयो । उक्त पुस्तक टोथ कोक्रेनले लेखेका थिए । 

अमेरिकी राष्ट्रपति जर्ज डब्लू बुशले समेत सोही वर्षबाट पोडकास्ट मार्फत हरेक साता आफ्नो साप्ताहिक भाषण दिन थाले । याहुले समेत पोडकास्ट सर्च इन्जिन बनायो ।

जसमा प्रयोगकर्ताले पोडकास्ट सर्च गर्न र सब्सक्राइब गर्न सक्थे । साथै त्यही वर्ष अमेरिकन अक्सफोर्ड शब्दकोषले पोडकास्टलाई 'द वर्ड अफ द इयर' घोषणा गर्‍यो । 

यसरी हरेक दिन पोडकास्टको महत्त्व बढ्दै गयो । अहिले पोडकास्टिङ विश्वव्यापी  बनेको छ । अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, भारत यसको प्रमुख बजार हो । नेपालमा समेत पछिल्लो समयमा यसले विस्तारै बजार लिन थालेको छ ।  

 

पोडकास्ट आउनु अघिका प्रविधि

'द इलुजन अफ इन्डिपेन्डेन्ट रेडियो' नामक कार्यक्रम पोडकास्टिङको इतिहासमा निकै महत्त्वपूर्ण छ । सन् १९८९ मा बनाइएको यो एक रसियन रेडियो कार्यक्रम थियो । तर यसलाई त्यसताका टेप रिल र क्यासेटहरूमा वितरण गरिएको थियो । जसलाई आज पोडकास्टको एउटा प्रोटोटाइप भएको बताइन्छ ।

त्यसताका अनलाइन म्युजिक डिस्ट्रिब्युसन प्रणाली नहुँदा अडियो र भिडिओ ‍फाइल वितरणका लागि एमआईडीआई जस्ता ढाँचा र एमबोन जस्ता नेटवर्कहरू प्रयोगमा थिए ।

एमबोन एक मल्टिकास्ट नेटवर्क हो, यसलाई विशेषतः शैक्षिक तथा अनुसन्धान संस्थानले प्रयोग गर्थे  तर  यसबाट अडियो टक शो पनि वितरण गर्न सकिन्थ्यो । ९० को दशकको  मध्यतिर विभिन्न ढाँचामा रहेका गीत र अडियो फाइलहरूको ‘सर्टिङ’ र ‘सेलेक्ट’ गर्न धेरै जुकबक्स र वेबसाइटहरू बनाइए । 

सन् १९९३ मा कार्ल मालामुडले ‘इन्टरनेट टक रेडियो’ सुरु गरे । यसलाई कम्प्युटर फाइलका रूपमा वितरण गरिएको थियो । जसलाई श्रोताले एकपटक मात्रै डाउनलोड गर्न सक्थे । जसबाट ‘एसिन्क्रोनस रेडियो’ को अवधारणा समेत विकास गरेको बताइन्छ ।

९० को दशकको उत्तरार्धमा एक्यूएल डट कम (AQL.com) लगायत केही वेबसाइटहरूले चर्चामा रहेका अडियो शोहरू डाउनलोड गर्न मिल्ने फिचर ल्याए । १९९८ मा चिलिको सान्टियागो विश्वविद्यालयले रेडियो र डिजिटल अडियो अनलाइनबाट स्ट्रिमिङ गर्न मिल्ने अन्वेषण गर्‍यो । 

तर १९९९ मा सार्वजनिक भएको नेप्स्टर प्रविधि पछि मात्र गीत डाउनलोड गर्ने कामले व्यापकता पायो । तर यसमा सब्सक्रिप्सनको फिचर थिएन । पछि कपिराइटको मुद्दाका यसको मूल कम्पनी नै बन्द हुन पुग्यो ।

सोही वर्ष कम्प्याक रिसर्च नामक अमेरिकी कम्पनीले ‘पकेट डीजे’ नाम दिइएको म्युजिक प्लेयर र डाउनलोड प्रणाली बनाएको थियो । यसले व्यक्तिगत जुकबक्सको काम गर्थ्यो । यो हार्ड ड्राइभवाला पहिलो एमपी थ्री प्लेयर मध्येको एक हो ।

सेप्टेम्बर २००० मा एमपी थ्री बनाउने कम्पनी आईटूगो (i2Go) ले आफ्नो वेबसाइटबाट समाचार तथा गीतहरू डाउनलोड गरेर कम्प्युटर वा एमपी थ्रीमा सुन्ने व्यवस्था गर्‍यो । तर उक्त कम्पनी सन् २००१ तिरै बन्द भयो ।

सन् २००१ मा अमेरिकाको एप्लियन टेक्नोलोजिजले इन्टरनेट रेडियो शो रेकर्ड गर्न रिप्ले रेडियो (पछि रिप्ले एभी नामाकरण गरियो) विकास गर्‍यो । यसले कार्यक्रमको समयतालिका मिलाउनुका साथै ती कार्यक्रम डाउनलोड गर्ने लिङ्क पनि उपलब्ध गराउँथ्यो ।

यसरी प्रत्यक्ष डाउनलोड गर्ने ढाँचाबाट प्रसारित हुने पहिलो रेडियो कार्यक्रम ‘वेब टेक वाइज वर्ड रेडियो शो’ बन्यो । त्यसलाई रोब र दाना ग्रीनलीले उत्पादन गरेका थिए भने उक्त कार्यक्रमलाई अहिलेको पोडकास्ट ढाँचामा बनेको कार्यक्रम पनि भनिन्छ ।

पोडकास्ट स्टुडियो, तस्वीर क्रेडिट: अनस्प्लास

सोही वर्ष एप्पलले पनि आईपड सार्वजनिक गर्‍यो । यो पहिलो पोर्टेबल डिजिटल मिडिया प्लेयर थियो । यसमा एमपी थ्री अडियो फाइलहरू स्टोरेज गर्न र बजाउन सकिन्थ्यो ।

त्यस्तै सोही वर्ष एडम करी र डेभ विनरले इन्टरनेटमा अडियो सामग्री वितरण गर्ने एतिहासिक काम गरे । यसका लागि उनीहरूले रियल्ली सिम्पल सिन्डिकेसन (आरएसएस) सफ्टवेयरमा काम गरेका थिए । सोही कामले नै पोडकास्टलाई नयाँ रूप दियो ।

 

के हो आरएसएस? 

आरएसएस एक प्रकारको एक्सटेन्सिबल मार्कअप ल्याङ्ग्वेज (एक्सएमएल) फर्म्याट  हो, यसले पोडकास्टरलाई उनीहरूको सामग्री वितरणमा सहयोग गर्छ । जब कुनै पोडकास्टरले नयाँ एपिसोड प्रसारण गर्छ, उसले नयाँ एपिसोडको शीर्षक, विवरण लगायतका जानकारी सहित आफ्नो आरएसएस फिड अपडेट गर्छ ।

त्यसपछि श्रोताले आफ्नो आरएसएस रिडरबाट त्यसको सूचना पाउँछन् । आरएसएस फिड भनेको एक प्रकारको फाइल हो, जसमा वेबसाइटको कन्टेन्टको सूचना हुने गर्छ । सूचनामा शीर्षक, विवरण आदि हुन्छन् । आरएसएस रिडर आरएसएस फिड सब्सक्राइब गर्ने सफ्टवेयर एप्लिकेसन हो ।

अमेरिकी प्रविधि कम्पनी नेटस्केपका डेभलपरहरू डेन लिब्बि र रामनाथन वी. गुहाले आरएसएसको पहिलो संस्करण सन् १९९९ मा तयार पारेका थिए । तत्कालीन समयमा त्यसलाई आरडीएफ साइट समरी र आरएसएस ०.९ भनिन्थ्यो ।

कुनै पनि वेबसाइटमा हुने अपडेट थाहा दिन त्यसको विकास गरिएको थियो । सन् २००० मा ‍डेभ विनरले आरएसएस ०.९१ नामक नयाँ संस्करण सार्वजनिक गरे ।

उक्त भर्सनले पोडकास्टरलाई अडियो तथा भिडिओलाई फिडमा लिङ्क गर्न सहयोग गर्थ्यो । जसले गर्दा कुनै नयाँ अपडेट हुना साथ प्रयोगकर्ताले तुरुन्तै थाहा पाउथे ।

 

के हो पोडकास्ट ?

पोस्डकास्ट एक प्रकारको डिजिटल अडियो फाइल हो । जसलाई इन्टरनेट मार्फत डाउनलोड वा स्ट्रमिङका लागि तयार पारिन्छ । प्राय: कुनै पनि पोडकास्टका भागहरू नियमित रूपमा प्रसारित हुन्छन् । 

जुन सुकै विषय वा शीर्षकमा पोडकास्ट केन्द्रित हुन सक्छ । जस्तो: समाचारदेखि समकालीन राजनीतिका विषयसम्म । विज्ञान देखि धर्मसम्म । 

पोडकास्ट सुन्न पोस्टकास्टर एपको आवश्यकता पर्छ । ती माथि उल्लेख गरेका स्पोटीफाई, एप्पल पोडकास्ट, गुगल पोडकास्ट जस्ता एप हुन् । जुन सशुल्क वा निःशुल्क दुवै प्रकारका हुन सक्छन् । 

यस्ता एप भित्र गएपछि तपाईंले कुनै पनि पोडकास्ट सर्च गर्न सक्नुहुन्छ र तिनलाई सब्सक्राइब गर्न सक्नुहुन्छ । अहिले त्यस्ता विशेष प्रकारका एप बाहेक युट्युब, फेसबुकमा पनि पोडकास्ट सामग्री भिडिओ बनाएर राख्ने गरेको पनि पाइन्छ । 

पोडकास्टका लागि मात्र बनाइएका एपमा सामान्यतया रियल्ली सिम्पल सिन्डिकेसन (आरएसएस) फिडहरू प्रयोग गरेर स्रोता माझ वितरण गरिन्छ। आरएसएस फिडहरू एक्सटेन्सिबल मार्कअप ल्याङ्ग्वेज (एक्सएमएल) फाइलहरू हुन्, जसले पोडकास्टका एपिसोडहरू सूचीबद्ध गर्ने काम गर्छ । 

त्यस्तै प्रसारण भएका नयाँ एपिसोड बारे श्रोतालाई जानकारी दिन्छ । तर विभिन्न सामाजिक सञ्जालले गर्दा पोडकास्ट प्रसारण पनि सजिलो हुँदै गएको छ । 

सामान्यतया: पोडकास्ट चलाउन हार्डवेयर तथा सफ्टवेयरको आवश्यकता पर्छ । जसमा अडियो रेकर्ड गर्ने सफ्टवेयर, त्यसलाई सम्पादन गर्ने सफ्टवेयर, रेकर्डर, हेडफोन जस्ता सामग्री आवश्यक पर्छन् । प्राय: प्रोफेसनल पोडकास्टरहरूले आधुनिक स्टुडियोमा पोडकास्ट रेकर्ड गरिरहेका हुन्छन् । 

 

पोडकास्टका प्रकार

पोडकास्टलाई विभिन्न डिभाइस जस्तै कम्प्युटर, स्मार्टफोन, ट्याब्लेट आदिबाट सुन्न सकिन्छ । यो भिडिओ तथा अडियो फर्म्याटमा हुन सक्छ । 

यद्यपि पोडकास्टको सुरुआत भने अडियोबाट मात्र भएको थियो । सामान्यतया पोडकास्टमा सञ्चालक (होस्ट) ले अतिथि (गेस्ट) सँग कुनै पनि विषयमा कुराकानी गर्ने गर्छन् । उनीहरूले अनौपचारिक कुराकानी गर्न सक्छन् ।

शैक्षिक विषयवस्तु माथि कुराकानी गर्न सक्छन् । चलचित्र, किताबको समालोचना समेट्न सक्छन् । हाँस्यव्यङ्ग गर्न सक्छन् । समग्रमा औपचारिक कार्यक्रमहरू भन्दा यो अलि भिन्न हुन्छ । 

 

पोडकास्टिङ विकासका महत्त्वपूर्ण व्यक्तिहरू, क्रमश: दायाँबाट, डेभ विनर र एडम करी 

सामान्य गफगाफ शैलीमा हुने भएकाले यसमा हुने कुराकानी पनि त्यस्तै खालको हुने गर्छ । पोडकास्टमा समय यति नै हुनु पर्छ भन्ने पनि छैन । यति नै मान्छे बसेर कुराकानी गर्नु पर्छ भन्ने पनि छैन ।

यसो हुँदा रेडियो तथा टेलिभिजन कार्यक्रम भन्दा यो अलि स्वतन्त्र हुने बताइन्छ । प्राय: निम्न प्रकारका पोडकास्टहरू सञ्चालनमा रहेको देख्न सकिन्छ;

 

  • समाचार केन्द्रित पोडकास्ट

यस्ता पोडकास्टमा समसामयिक विषय र समाचार माथि छलफल हुन्छ । अहिले के भइरहेको छ भनेर बुझ्न यस्ता पोडकास्ट सुन्दा उपयोगी हुन्छ । द डेली, द न्यु योर्क टाइम्स पोडकास्ट जस्ता केही प्रख्यात समाचार पोडकास्ट हुन् । 

 

  • अन्तर्वार्ता पोडकास्ट

फरक फरक पृष्ठभूमिका व्यक्तिलाई स्टुडियोमा ल्याएर उनीहरूको अन्तर्वार्ता गर्ने काम यस किसिमको पोडकास्टमा हुन्छ । द टिम फेरिस शो,  जो रोगन एक्सपिरियन्स, अनइयर विथ सञ्जय जस्ता पोडकास्टलाई यसका केही उदाहरण मान्न सकिन्छ । 

 

  • व्यक्तिगत कथा

यस्ता पोडकास्टमा सञ्चालक वा आगन्तुकले आफ्नो व्यक्तिगत अनुभवहरू सुनाउने गर्छन् । कोही व्यक्तिलाई वा घटना बुझ्न यस्ता पोडकास्ट उपयोगी हुन्छन् । द अमेरिकन लाइफ, मोथ रेडियो आवर यसका केही उदाहरण हुन् । 

 

  • सङ्गीत पोडकास्ट

यस किसिमका पोडकास्ट संगीतमा मात्र केन्द्रित हुन्छन् । पोडकास्ट समय अवधिभर गीत एल्बमको रिभ्यु गर्ने, सङ्गीतकारसँग अन्तर्वार्ता लिने, संगीत इतिहास बारे अन्तर्वार्ता गर्ने जस्ता क्रियाकलाप हुन्छन् । सङ्गस एक्सप्लोडर, डिसेक्ट जस्ता केही यसका उदाहरण हुन् । 

 

  • हास्यव्यङ्ग पोडकास्ट

यस प्रकारका पोडकास्ट श्रोतालाई हँसाउने उद्देश्यले बनाउने गरिन्छ । श्रोतालाई हसाउन यस्ता पोडकास्टमा विभिन्न व्यङ्ग गर्ने, जोक्स सुनाउने जस्ता क्रियाकलाप हुन्छन् । कमेडी ब्याङ ब्याङ, द एड्भेन्चर जोन केही यस प्रकारका पोडकास्टका उदाहरण हुन् ।

 

  • शैक्षिक पोडकास्ट

कुनै एउटा निश्चित विषय वा शीर्षक बारे श्रोतालाई जानकारी दिन वा केही सिकाउनु कुनै पोडकास्ट गरिएको छ भने त्यो शैक्षिक पोडकास्ट हो । स्टफ यु सुड नो, रेडियो ल्याब यसका केही उदाहरण हुन् । 

यी बाहेक राजनीतिक, धार्मिक, अडियोबुक, अपराध, खेलकुद, कला साहित्य जस्ता विविध विषयमा पनि पोडकास्ट हुन सक्छ ।

 

पोडकास्टका फाइदा

रेडियो वा टेलिभिजन कार्यक्रमभन्दा पोडकास्ट सुन्ने क्रम बढ्नुका केही कारण छन् । जसलाई पोडकास्टको फाइदा पनि भन्न सकिन्छ । जुन तल दिइएका छन्; 

  • सुविधा

श्रोताले आफू अनुकूलको स्थान र समयमा पोडकास्ट सुन्न सक्छन् । यसो हुँदा कुनै भाग छुट्छ भन्ने डर पनि हुँदैन । जति बेला सुन्न मन लाग्यो, त्यति बेल नै सुन्न सकिन्छ ।

त्यस्तै अनलाइन हुँदा होस् वा अफलाइन हुँदा, उनीहरूले पोडकास्ट सुन्न सक्छन् । यो सुविधा पोडकास्टमा भएका कारण पनि मानिसहरूले यसलाई रुचाएको हुन सक्छन् । 

 

  • गहन सामग्री

रेडियो र टेलिभिजनमा एउटा समस्या भनेको समय हो । एउटा निश्चित समय भित्र चाहेको सामग्री प्रसारण गरिसक्नुपर्छ । यसो हुँदा सामग्री सतही हुन सक्छ । फेरी बीचबिचमा आउने विज्ञापनले पनि समय लिइरहेको हुन्छ ।

तर पोडकास्टमा समयको कुनै सीमा हुँदैन । फेरि अनौपचारिक कुराकानी हुने भएकाले पोडकास्ट सञ्चालक र अतिथिले खुलेर कुराकानी गर्न सक्छन् । यसो हुँदा उनीहरूले भन्न चाहेको कुरा गहन हुन जान्छन् । 

 

  • व्यक्तिगत सम्बन्ध

पोडकास्टले सञ्चालक र श्रोतालाई नजिकै जोड्न सक्छ । किनकी परम्परागत सञ्चार माध्यममा हुने कुराकानी भन्दा पोडकास्ट फरक हुने गर्छ । 

 

  • सिर्जनात्मकता

पोडकास्टले व्यक्तिको सिर्जनात्मकता बढाउन सक्छ । यो पोडकास्ट सञ्चालक र श्रोता दुवैका लागि हुन सक्छ । यद्यपि यो कुरा सञ्चालकले पोडकास्टका लागि छान्ने शीर्षक र त्यसको ढाँचाले फरक पार्न सक्छ । 

 

  • कम लागत

अन्य प्रकारका मिडिया सामग्री बनाउनु भन्दा पोडकास्ट बनाउनु लागतका हिसाबले कम पर्न जान्छ । पोडकास्ट तयार पार्न महँगा प्रविधि र उत्पादनमा त्यति धेरै लगानी नहुने हुँदा यसो भएको हो । यस बाहेक सुन्न सक्ने क्षमताको विकास हुनु, नयाँ कुराहरू सिक्नु जस्ता पोडकास्टका फाइदाहरू हुन् ।



 

पछिल्लो अध्यावधिक: भदौ ४, २०८० ११:५८