close

‘मैले दुई घण्टामा लाखौं कमाएँ’ भन्दै फेसबुकमा तपाईंको साथीले पोस्ट गर्‍यो ? सावधान !

टेकपाना टेकपाना

भदौ १४, २०८० १९:४०

‘मैले दुई घण्टामा लाखौं कमाएँ’ भन्दै फेसबुकमा तपाईंको साथीले पोस्ट गर्‍यो ? सावधान !

 

काठमाडौं । पछिल्लो समय फेसबुक अकाउन्टहरू ह्याक गरी पोस्टमार्फत ‘मैले केही घण्टामा लाखौं रुपैयाँ कमाएँ’ भन्दै ठगी गर्ने क्रम बढेको छ । विशेषगरी विभिन्न स्क्याम लिङ्कमा क्लिक गर्न लगाउने र त्यसैको माध्यमबाट अकाउन्ट कब्जा गरेर अनैतिक पोस्ट राख्ने गरेको पाइएको छ ।

यस्तोमा सबैभन्दा पहिले ह्याक गरेको अकाउन्टबाट थोरै समयमा रकम लगानी गरेर लाखौं आम्दानी गरेको पोस्ट राखिन्छ । त्यसपछि प्रयोगकर्तालाई फेसबुकमार्फत इन्स्टाग्राम अकाउन्टमा मेसेज पठाउन भनिन्छ । मेसेज पठाएपछि इन्स्टाग्राम तथा फेसबुक अकाउन्ट कब्जा गर्ने क्रम अगाडि बढ्छ । 

कसरी भइरहेको छ फेसबुक अकाउन्ट ह्याक ?

ह्याक भएका अधिकांश फेसबुक अकाउन्ट प्रायः एउटै किसिमको पोस्ट राखिएको छ ।

“हेलो गाइज, मैले भर्खरै छ लाख नेपाली रुपैयाँ लगानी गरेँ र त्यसको दुई घण्टामा तीन करोड दुई लाख २० हाजर रुपैयाँ कमाएँ,” ह्याक भएको फेसबुक अकाउन्टमा लेखिएको छ, “यति ठूलो अवसर नगुमाउनुहोस् । यो कानूनी कार्य हो । र, मलाई एलिसाले गाइड गरेकाले यो सम्भव भएको हो । उहाँलाई यसका लागि धन्यावाद । यदि तपाईं पनि आम्दानी गर्न चाहनुहुन्छ भने तल दिइएको लिङ्कबाट एलिसालाई मेसेज गर्नुहोस् ।”

यति लेखेको तल एउटा इन्स्टाग्राम अकाउन्टको लिङ्क राखिएको छ । यदि सो अकाउन्टमा कुरा गर्दै जाँदा विभिन्न किसिमका प्रलोभन देखाइन्छ । अनि आफ्नो इन्स्टाग्रामको ईन्फोमा उनीहरुले दिएको ईमेल एड्रेस राख्न भनिन्छ ।

यसरी इन्फोमा इमेल एड्रेस राखिसकेपछि उकाउन्ट ह्याकरको कब्जामा जान्छ । अनि उनीहरू प्रयोगकर्ताले राखेको नम्बर र रिकभरी अकाउन्ट हटाउँछन् । यदि फेसबुक र इन्स्टाग्राम अकाउन्ट लिङ्क भएको छ भने दुवै उनीहरूको कब्जामा जान्छ । त्यसपछि ती अकाउन्टमा भएका फोटो दुरुपयोग गर्दै पुनः त्यस्तै पोस्ट राखेर अरू प्रयोगकर्तालाई झुक्याउँछन् । 

कसरी जोगिने ? 

सामान्यतः थोरै समयमा लाखौं आम्दानी गर्न सकिने भन्दै राखिएका पोस्टमा झट्ट विश्वास नगर्नुहोस् । त्यसबाहेक पनि तपाईंलाई आम्दानी गर्न सकिने सुझाव कसले किन दिँदैछ भन्ने बुझ्नुहोस् ।

यदि तपाईंको नजिकको साथी वा फेसबुक इन्स्टाग्राममा जोडिएका मान्छेले त्यस्ता पोस्ट राखेका छन् भने अन्य माध्यमबाट उनीहरूले त्यो पोस्ट राखेका हुन् वा होइनन् पुष्टि गर्नुहोस् । 

त्यसबाहेक पनि इन्स्टाग्राम वा फेसबुक पेजमा विज्ञापन राखिदिए वापत हप्तामा लाखौं डलर दिने भन्दै फेसबुक पेज तथा अकाउन्ट ह्याक गर्ने क्रम बढेको देखिन्छ ।

पछिल्लो अध्यावधिक: भदौ १४, २०८० १९:४३