close

भाइरल टिकटक कमेन्ट पछाडिको दर्दनाक कथा

टेकपाना टेकपाना

माघ २०, २०८० १८:४

भाइरल टिकटक कमेन्ट पछाडिको दर्दनाक कथा

काठमाडौं । पछिल्लो दुई सातायता टिकटकमा भाइरल भइरहेको कमेन्ट हो, ‘What country is this?’, ‘Which country is this?’ अर्थात् ‘यो कुन देश हो ?’ । टिकटक चलाउने अधिकांश प्रयोगकर्ताले यस्ता कमेन्ट पक्कै देखेका छन् ।

कमेन्ट गर्ने व्यक्तिको अनुहार हेर्दा कुनै देशको गोरा जातिको पुरुष लाग्छ । टिकटकमा धेरै भ्युज, कमेन्ट आएका हरेक पोस्टमा यस्तो कमेन्ट देख्न सकिन्छ । र, यस्तो कमेन्टमा लाइक र रिप्लाई गर्नेहरू पनि थुप्रै भेटिन्छन् । 

कमेन्ट भाइरल भएपछि कतिपयले आफ्नो युजरनेम नै ‘ह्वाट कन्ट्री इज दिस’ राखी उही गोरा व्यक्तिको प्रोफाइल फोटो राखेर अरुको भिडिओमा कमेन्ट गरिरहेका छन् । टिकटकमा यस्तो अनौठो तरिकाले कसरी र किन कमेन्ट आइरहेको छ ? त्यो मान्छे को हो, अनि जता पनि यो कुन देश हो भनेर किन सोधिरहन्छ भनेर तपाईँ कौतुहलतामा पर्नुभएको छ भने हामी यसबारे जानकारी दिन गइरहेका छौंः 

अहिले भाइरल भइरहेको कमेन्टको वास्तविक कथा थाहा पाउनुभयो भने तपाईँ दुःखी हुनुहुन्छ । यो कथाले पिटर सदरल्यान्ड नामका एक व्यक्तिले आफ्नी हराएकी सान्ड्रा नामकी छोरीलाई खोजिरहेको बताउँछ । 

अमेरिकाको वायोमिङ राज्यका पिटरकी १९ वर्षकी छोरी २०२० मा फिलिपिन्स, थाइल्याण्ड, सिंगापुर​​ लगायत​ दक्षिणपूर्वी एसियाको यात्राको क्रममा बेपत्ता भएकी थिइन् । बेपत्ता छोरी खोज्न आफैं जान असमर्थ भएपछि पिटरले टिकटकको सहारा लिन थाले ।

छोरी भएको स्थान पत्ता लगाउन उनले टिकटकमा भेटिने भिडिओ पोस्टहरूमा कमेन्ट गरे, जहाँ उनले लेख्थे ‘What country is this?’

सामाजिक सञ्जालमा छाडेका कमेन्टले छोरी भेटिन्छ कि भन्ने झिनो आशा उनले पालेका थिए । तर कोरोना महामारीको समय भएकाले उनले कतैबाट साथ पाएनन् । कोरोना महामारी शान्त भएपछि पनि छोरीको अत्तोपत्तो लागेन । 

छोरीको वियोगले पिटर दिनदिनै थलिँदै गए । वर्षदिन बित्यो, छोरी फर्किनन् । यसरी प्राणभन्दा प्यारी छोरीको खोजी गरिरहेका बाबु आफैंले प्राण त्याग गरे । उनको नोभेम्बर २०२३ मा मृत्यु भयो । तर टिकटकमा उनले छोडेका कमेन्टले भने अझै छोरी सान्ड्रा खोजिरहेको थियो ।

यसैबीच टिकटकमा '@ribsp' युजरनेम भएका फिलिपिनी हास्यकलाकार फोन्जले छोरीको खोजीमा रहेका पिटर र उनको कमेन्टलाई लिएर १८ जनवरी, २०२४ मा एउटा भिडिओ बनाए । त्यो भिडिओ एकाएक​ भाइरल भयो ।

त्यसपछि मानिसहरूले टिकटकमा पिटरको कमेन्ट नक्कल गर्न थाले । विशेषगरी एसिया र अफ्रिकाका टिकटक प्रयोगकर्ताहरूको भिडिओहरूमा ‘What country is this?’, ‘Which country is this?’ कमेन्ट देखिन थाले ।

मानिसहरूले अहिले यो कमेन्टलाई मजाकका रूपमा लिइरहेका छन् । तर इन्टरनेटको संसारमा यो कमेन्ट एक अनौठो र रहस्यमयी मिम बनेको छ, जसले मानिसहरुलाई जति उत्सुक बनाउँछ, त्यति नै दुःखी पनि ।

पछिल्लो अध्यावधिक: माघ २१, २०८० ९:४८