close

साढे ६ करोड पुरस्कार रहेको पब्जी प्रतियोगिता खेल्दै ‘होरा ई-स्पोर्ट्स’, यसरी हेर्नुहोस् लाइभ

टेकपाना टेकपाना

चैत २०, २०८० १५:१८

साढे ६ करोड पुरस्कार रहेको पब्जी प्रतियोगिता खेल्दै ‘होरा ई-स्पोर्ट्स’, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । ‘पब्जी मोबाइल ग्लोबल ओपन’को प्रिलिम्स अर्थात् प्रारम्भिक चरणमा आज नेपाली पब्जी टिम ‘होरा ई-स्पोर्ट्स’ ले आफ्नो पहिलो खेल खेल्दैछ । यो चरणमा मङ्गोलिया, ब्राजिल, टर्की, रसिया लगायत देशका गरी २४ टिम भिड्दैछन् ।

‘होरा ई-स्पोर्ट्स’ ले क्वालिफायर फाइनलको अङ्क तालिकाको सातौं स्थानमा रहँदै प्रारम्भिक चरणमा प्रवेश पाएको थियाे । याे चरणमा पब्जी मोबाइल पार्टनर प्रोग्रामका १६ र क्वालिफायर फाइनलका ८ टिमले खेल्नेछन् ।

प्रारम्भिक चरण सोमबारबाटै सुरु भइसकेको छ । सोमबार ‘ग्रुप ए’ र ‘ग्रुप बी’ बीचको खेल भएको थियो । ‘ग्रुप सी’ मा रहेको ‘होरा ई-स्पोर्ट्स’ को खेल आज र भोलि हुनेछ ।

हरेक टिमले १२ गेम खेल्दा अङ्क तालिकाको शीर्ष आठभित्र पर्ने टिमले ‘मेन इभेन्ट’मा स्थान बनाउनेछन् । क्वालिफायर, प्रिलिम्स र मेन इभेन्ट गरी प्रतियाेगिताकाे कूल पुरस्कार राशि पाँच लाख डलर (साढे छ करोड रुपैयाँ बढी) रहेकाे छ ।

‘मेन इभेन्ट’ को पुरस्कार राशि मात्रै साढे चार करोड रुपैयाँ बढी छ । जसमध्ये विजेताले एक लाख अमेरिकी डलर (करिब एक करोड ३३ हजार रुपैँया) हात पार्नेछन् ।

पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिपको विजेताको रुपमा साउथ एसिया क्षेत्रबाट खेल्ने मङ्गोलियन टिम आईएचसी ई-स्पोर्ट्सले मेन इभेन्ट खेल्ने पक्का भइसकेको छ । ‘मेन इभेन्ट’ अप्रिल ५-७ सम्म ब्राजिलमा हुनेछ ।

नेपाली समय अनुसार खेल अपरान्ह ५:४५ देखि पब्जी मोबाइल ई-स्पोर्ट्स साउथ एसियाको युट्युब च्यानल तथा फेसबुक पेजबाट हेर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: चैत २०, २०८० १८:३३