close

कपर प्रविधिमा आधारित नेपाल टेलिकमको टेलिफोन सेवा बन्द

टेकपाना टेकपाना

चैत २२, २०८० १६:३५

कपर प्रविधिमा आधारित नेपाल टेलिकमको टेलिफोन सेवा बन्द

काठमाडौं । नेपाल टेलिकमले दूरसञ्चार कार्यालय सुन्धाराको क्षेत्राधिकारभित्र पर्ने सम्पूर्ण स्थानहरूमा सञ्चालित पुरानो कपर प्रविधिमा आधारित आधारभूत टेलिफोन (पीएसटीएन) सेवालाई फाइबर टू दी होम प्रविधिमा स्तरोन्नति गरेको छ ।

बिहीवार टेलिकमको कार्यालय सुन्धारामा आयोजित एक कार्यक्रममा प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले कपर प्रविधिको टेलिफोन सेवाको स्वीच अफ गर्दै यो सेवा बन्द गरेकी हुन् ।

कपर प्रविधिबाट वितरित टेलिफोन तथा एडीएसएल लाइनहरू पूर्ण रूपमा आधुनिक फाइबर प्रविधिको नेटवर्कमा माइग्रेसन कार्य सम्पन्न गरी कपर नेटवर्क बन्द गरिएको हो ।

सो अवसरमा कम्पनीकी प्रबन्ध निर्देशक पहाडीले टेलिकम क्षेत्रमा प्रविधि रुपान्तरण आवश्यक रहेकोले त्यसैको निरन्तरता तथा समयको माग अनुरुप पुरानो कपर प्रविधिलाई आधुनिक फाइबर प्रविधिमा रुपान्तरण गरिएकोमा खुशी व्यक्त गरिन् ।

एफटीटीएच प्रविधिमा माइग्रेसन भइसकेपछि ग्राहकले अत्याधुनिक प्रविधिको एनटी फाइबरमार्फत एउटै तारबाट तीव्र गतिको इन्टरनेट, टेलिफोन र टेलिभिजन सेवा समेत प्राप्त गर्न सक्ने भएकोले यो सेवा ग्राहकहरूका लागि फलदायी हुने कम्पनीको विश्वास छ ।

पछिल्लो अध्यावधिक: चैत २२, २०८० १६:३५