close

जीपीटी-४ लाई तालिम दिन ओपनएआईले युट्युबका लाखौं भिडिओ प्रयोग गरेको दाबी

टेकपाना टेकपाना

चैत २५, २०८० १२:१५

जीपीटी-४ लाई तालिम दिन ओपनएआईले युट्युबका लाखौं भिडिओ प्रयोग गरेको दाबी

काठमाडौं । ओपनएआईले आफ्नो जेनेरेटिभ एआई मोडेललाई तालिम दिन युट्युबका लाखौं भिडिओ प्रयोग गरेको एक रिपाेर्टले दाबी गरेको छ । अमेरिकी सञ्चारमाध्यम न्यूयोर्क टाइम्सले ओपनएआईले जानाजान युट्युबको नीति उलङ्घन गर्दै भिडिओ प्रयोग गरेको आरोप लगाएको हो ।

“ओपनएआईका अध्यक्ष ग्रेग ब्रोकम्यान व्यक्तिगत रूपमा आफैं भिडिओको डेटा संकलन गर्ने कार्यमा संलग्न थिए,” न्यूयोर्क टाइम्सले लेखेको छ । यता ओपनएआईका प्रवक्ता लिन्ड्से हेल्डले द भर्जसँग कुरा गर्दै सार्वजनिक रूपमा उपलब्ध डेटामात्रै प्रयोग भएको बताएका छन् ।

तर न्युयोर्क टाइम्सले भने कम्पनीले युट्युबमा भएका अडियोबुक, पोडकास्ट र भिडिओलाई ट्रान्सक्राइब (भिडिओलाई शब्दका रूपमा उतार्ने) गरेको दाबी गरेको छ ।

यता युट्युबको पूरै स्वामित्व भएको गुगलले समेत ओपनएआईको गतिविधिबारे अपुष्ट रिपोर्ट फेला पारेको दाबी गरेको छ ।ओपनएआईले भने सार्वजनिक रूपमा उपलब्ध युट्युबकाे डेटाकाे ‘फेयर युज’ भएकाे प्रतिक्रिया दिएको छ ।

गत वर्ष पनि द इन्फरमेसनले माइक्रोसफ्टको लगानी रहेको कम्पनी ओपनएआईले युट्युबबाट डेटा स्क्र्याब गरेको दाबी गरेको थियो । ​यस्तो सन्दर्भमा हालै न्यूयोर्क टाइम्सले पनि ओपनएआई गैरकानूनी कार्यमा संलग्न रहेको रिपोर्ट बाहिर ल्याएको छ ।

पछिल्लो अध्यावधिक: चैत २५, २०८० १२:३५