close

श्रममन्त्रीको दाबीः अनलाइनबाट २ मिनेट ४४ सेकेन्डमै श्रम स्वीकृति पाइने !

टेकपाना टेकपाना

चैत २६, २०८० ११:८

श्रममन्त्रीको दाबीः अनलाइनबाट २ मिनेट ४४ सेकेन्डमै श्रम स्वीकृति पाइने !

 

काठमाडौं । अब वैदेशिक रोजगारीमा जाने श्रमिकले सबै कागजात मिलाएर अनलाइनबाट आवेदन दिए दुई मिनेट ४४ सेकेन्डमा श्रम स्वीकृति लिन सक्ने भएका छन् । वैदेशिक रोजगार विभाग, ताहाचलमा आइतबार भएको पत्रकार सम्मेलनमा बोल्दै श्रम मन्त्री डोलप्रसाद अर्यालले एक नागरिकले दुई मिनेट ४४ सेकेन्डमै श्रम स्वीकृति पाउने दाबी गरेका हुन् । 

“यदि हाम्रा सेवाग्राहीले समयमा सबै डकुमेन्ट राम्रोसँग मिलाएर राख्नुभयो भने, हाम्रो अहिलेको अध्ययनले दुई मिनेट ४४ सेकेन्डमा एक जना नागरिकले आफ्नो श्रम स्वीकृति पाउने गरी हामीले काम गर्‍यौं,” मन्त्री अर्यालले भने, “तर पनि कम्प्युटरको अलिकति सिस्टम स्लो होला किन भने हाम्रो प्रविधि, विद्युत् र इन्टरनेटको स्पिडले केही फरक पर्न सक्छ ।”

यी सबै कुरालाई मध्यनजर गर्दै श्रम स्वीकृति लिन बढीमा एक घण्टा लाग्न सक्ने उनको भनाइ छ । “कुनै पनि श्रमिकले राम्रोसँग डकुमेन्ट राखेको अवस्थामा एक घण्टाभित्र श्रम स्वीकृति आफ्नो मोबाइलमा प्राप्त गर्न सक्नुहुनेछ,” उनले भने, “कम्प्युटरमा विभिन्न हार्डवेयर जस्तै एसएसडी थप गरियो, अनावश्यक फाइल सफा गरियो, त्यसपछि सुरुमा तीन शिफ्टमा काम गराउनुपर्छ कि भनेर तीन शिफ्टमा पनि काम गराइयो । तर, आजको दिनमा दुई शिफ्टमा मात्र काम हुन्छ ।” जुनसुकै समयमा डकुमेन्ट बुझाउन सकिने भए पनि स्वीकृति भने कार्यालय समयमा मात्र पाइने मन्त्री अर्यालले स्पष्ट पारे । 

अनलाइनबाट श्रम स्वीकृति लिने प्रक्रिया निकै सहज भएको भन्दै मन्त्री अर्याललले यसका लागि व्यक्ति स्वयँले आफ्नो फोनबाटै फाराम भर्न सक्ने सुनाए । अनलाइनबाट कसरी फारम भर्ने भन्नेबारे भिडिओ तयार पारेर छिट्टै सार्वजनिक गर्ने मन्त्री अर्यालको भनाइ छ ।

पछिल्लो अध्यावधिक: चैत २६, २०८० ११:८