close

एसईओ सिक्न चाहनु हुन्छ ? हेर्नुहोस् यी भिडिओ

टेकपाना टेकपाना

चैत २७, २०८० १८:३८

एसईओ सिक्न चाहनु हुन्छ ? हेर्नुहोस् यी भिडिओ

 

काठमाडौं । डिजिटल मार्केटिङको क्षेत्रमा सर्च इन्जिन अप्टिमाइजेसन (एसईओ) लाई मुख्य आधारको रूपमा लिइन्छ । यो त्यही तत्त्व हो, जसले वेबसाइटमा अर्गानिक ट्राफिक ल्याउन मद्दत गर्छ । 

तपाईं अनलाइनमार्फत कुनै व्यवसाय गर्न खोज्दै हुनुहुन्छ र तपाईंमा एसईओको ज्ञान छ भने त्यसले तपाईंको व्यवसाय विस्तारमा अतुलनीय सहयोग पुर्‍याउन सक्छ । आजको दिनमा तपाईंमा एसईओको ज्ञान छ भने त्यसले तपाईंलाई कुनै पनि क्षेत्रमा रोजगार दिन सघाउँछ । त्यसबाहेक तपाईंले  आफ्नै ब्लग सुरु गरेर राम्रो आय आर्जन गर्न पनि सक्नुहुन्छ । 

आज हामी तपाईंलाई एसईओ सिक्नका लागि उपयुक्त हुने उत्कृष्ट युट्युब च्यानलको बारेमा जानकारी दिंदैछौं । 

१) निल पटेल 

डिजिटल मार्केटिङको क्षेत्रमा राम्रो अनुभव भएका निल पटेल क्रेजी एग, किसमेक्ट्रिक्स जस्ता कम्पनीका संस्थापक हुन् । यी त्यस्ता वेबसाइट हुन्, जसले वेबसाइट एनालिटिक्स र मार्केटिङ अप्टिमाइजेसन गर्न सघाउँछन् । फोर्ब्स र वाल स्ट्रिट जर्नल जस्ता सञ्चार गृहले निल पटेललाई प्रभावशाली व्यक्तित्वका उल्लेख गरेका छन् । 

उनले युट्युब भिडिओमा एसईओको आधारभूतदेखि विकसित स्तरसम्मको जानकारी दिएका छन् । यस विषयमा उनले तयार पारेका २६ भिडिओ यहाँ क्लिक गरेर हेर्न सक्नुहुन्छ । तर, उनका सबै भिडिओ अङ्ग्रेजी भाषामा छन् ।

२) टेक्नो वेदान्त

हिन्दी भाषामा विभिन्न टिप्स सिकाउने च्यानल हो, टेक्नो वेदान्त । यस च्यानलमा एसईओ सम्बन्धी थुप्रै भिडिओ छन् । अन्य च्यानल जस्तै यसमा एसईओ सम्बन्धी प्लेलिस्ट नै बनाइएको छ । त्यसबाहेक यो प्लेलिस्टको विशेषता के छ भने तपाईंले अन्य च्यानलमा फेला नपारेका विशेष शीर्षकका भिडिओ यो च्यानलमा पाउन सक्नुहुन्छ । यस च्यानलमा हिन्दी भाषामा बनाइएका एसईओ सम्बन्धी १५० भन्दा बढी भिडिओ छन् । तपाईंले आफूलाई उपयुक्त हुने कुनै पनि भिडिओ यो च्यानलमा गएर हेर्न सक्नुहुन्छ । टेक्नो वेदान्तमा रहेको भिडिओको प्लेलिस्ट हेर्न यहाँ क्लिक गर्न सक्नुहुन्छ । 

३) डब्लूएस क्युब टेक 

तपाईं एउटै भिडिओबाट एसईओबारे आधारभूत कुराहरू सिक्न चाहनुहुन्छ भने त्यसका लागि डब्लूएस क्युब टेक च्यानल उपयुक्त हुन सक्छ । यस च्यानलमा विभिन्न किसिमका प्रोग्रामिङ ल्याङ्ग्वेज, गुगल एड्स, रियाक्ट जेएस, डेटा एनालिटिक्स जस्ता विषय पनि समावेश छन् । यदि तपाईं एउटै भिडिओमा एसईओको आधारभूत पक्षबारे सिक्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्न सक्नुहुन्छ । त्यसबाहेक यही च्यानलबाट लोकल एसईओ सिक्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्न सक्नुहुन्छ । यदि तपाईं एसईओबारे प्लेलिस्टमा भएका सम्पूर्ण सामग्री हेर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्न सक्नुहुन्छ । 

४) रामबाबु थापा 

यदि तपाईं नेपाली भाषामा एसईओबारे सिक्न चाहनुहुन्छ भने रामबाबु थापाको युट्युब च्यानल तपाईंका लागि उपयुक्त हुन सक्छ । झन्डै १० घण्टा लामो युट्युब भिडिओमा थापाले एसईओका आधारभूत पक्षबारे चर्चा गरेका छन् । एसईओ सिक्नका लागि उनको भिडिओबाट पर्याप्त जानकारी पाउन सक्नुहुन्छ । एउटै भिडिओमा एसईओका बारेमा नेपाली भाषामै सिक्न चाहनु हुन्छ भने यहाँ क्लिक गर्नुहोला । त्यस्तै प्लेलिस्टका रूपमा भिडिओ एक एक गरि हेर्न यहाँ क्लिक गर्न सक्नुहुन्छ ।

माथि उल्लेख गरिएका युट्युब च्यानल निःशुल्क एसईओको जानकारी दिने केही विकल्प मात्र हुन् । यी बाहेक युट्युबमा त्यस्ता अन्य थुप्रै च्यानलहरू छन्, जसले निःशुल्क एसईओ कोर्स तथा सीप उपलब्ध गराएका छन् । तपाईंले आफूलाई उपयुक्त लाग्ने भिडिओ खोजेर हेर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: चैत २७, २०८० १८:३८