close

एसईई दिएका विद्यार्थीका लागि वेबसाइट डेभलपमेन्ट तालिम हुँदै

टेकपाना टेकपाना

बैशाख ६, २०८१ १२:३४

एसईई दिएका विद्यार्थीका लागि वेबसाइट डेभलपमेन्ट तालिम हुँदै

कैलाली । एसईई दिएका विद्यार्थीहरूलाई लक्षित गर्दै कैलालीमा वेबसाइट डेभलपमेन्ट सम्बन्धी तालिम दिइने भएको छ । रिमाल कम्प्युटर एन्ड आईटी सोलुसनले भौतिक र अनलाइन दुवै माध्यमबाट यस्तो तालिम दिन लागेको हो । 

भौगोलिक विकटता, आर्थिक अवस्था लगायतका कारण मुख्य सहरहरूमा आउन नसक्ने विद्यार्थीलाई लक्षित गरेर यस्तो तालिम गर्न लागेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रशान्त रिमालले बताए ।

“एसईई दिएर बसेका विद्यार्थीलाई के सिक्ने भन्ने दोधार हुन्छ,” रिमालले भने, “यो ठाउँमा त्यसरी वेबसाइट डेभलपमेन्ट र ग्राफिक्स डिजाइनिङ सम्बन्धी सीप सिकाउने संस्था न्यून छन् । त्यसैले पनि मैले यस क्षेत्रका विद्यार्थीलाई सीप सिकाउने सङ्कल्प बोकेर काठमाडौंदेखि फर्किएर तालिम दिन सुरु गरेको छु ।”

एसईई दिएर बसेका विद्यार्थीले परीक्षाफल नआउँदासम्म सीपमूलक तालिम लिए भविष्यमा सहज हुने उनको भनाइ छ ।

​तालिम डिप्लोमा र बेसिक गरी दुई प्याकेजमा हुनेछ । बेसिकमा विद्यार्थीले वेबसाइट डेभलपमेन्ट, ग्राफिक्स डिजाइनिङ लगायतका विषयको आधारभूत पक्ष सिक्न पाउनेछन् । डेढ महिनासम्म दैनिक एक घण्टा हुने यो तालिमका लागि तीन हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । तालिम सकिएपछि विद्यार्थीले बेसिक लेभलको प्रमाणपत्र समेत पाउँछन् । 

त्यस्तै डिप्लोमा गर्दा प्रोग्रामिङ ल्याङ्ग्वेज, वर्डप्रेस र ग्राफिक्स डिजाइनिङसम्बन्धी सीप सिक्न पाइनेछ । छ महिनासम्म सञ्चालन हुने यो तालिमपश्चात विद्यार्थीले प्रमाणपत्र पाउनेछन् । सो अवधिका लागि विद्यार्थीले १० हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

तालिम सिक्नेमध्ये उत्कृष्ट दुई जनाले रिमाल कम्प्युटर एन्ड आईटी सोलुसनमै काम गर्ने अवसर पाउने सीईओ रिमालले बताए । उनका अनुसार अन्य विद्यार्थीले पनि ती सीपको भरमा असिस्टेन्ट अपरेटर स्तरको काम पाउनेछन् । तालिमबारे थप बुझ्नका लागि ०९१-५९०९६५ मा सम्पर्क गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: बैशाख ६, २०८१ २१:१