close

बालबालिकाका लागि कसरी सुरक्षित बन्नसक्छ इन्टरनेट ?

टेकपाना टेकपाना

फागुन १, २०७६ १३:१५

बालबालिकाका लागि कसरी सुरक्षित बन्नसक्छ इन्टरनेट ?

काठमाडौं । विश्वभर मनाइने ‘सुरक्षित इन्टरनेट दिवस २०२०’ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । वर्षेनि मनाउँदै आएको कार्यक्रम यो वर्ष ‘राम्रो इन्टरनेटका लागि एकता’ भन्ने नाराका साथ आयोजना भएको छ ।

साइबर सुरक्षाको क्षेत्रमा क्रियाशील संस्थाहरु एनपी सर्ट, सिएसआरआई नेपालको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा बालबालिकाहरुका लागि कसरी इन्टरनेट र सामाजिक सञ्जालको सुरक्षित र सकारात्मक प्रयोग गर्न सकिन्छ भन्ने विषयमा विभिन्न विषयविज्ञहरुले सहभागी विद्यार्थीहरुलाई सहजिकरण गरेका थिए ।

यसअन्तर्गत नेपाल दूरसञ्चार प्राधिकरणकी डेपुटी डाइरेक्टर रोजा किरण बासुकलाले पछिल्लो समय इन्टरनेट र सामाजिक सञ्जालबाट बाल दुव्र्यवहार र जोखिम बढिरहेको चर्चा गर्दै यसतर्फ बेलैमा सचेत हुुनुपर्ने धारणा राखिन् । अनलाइन खेलको लतदेखि अश्लील सामाग्रीसम्म बालबालिकहरुको नजर परिरहेको बताउँदै उनले यस्ता क्रियाकलापले साइबर अपराधको जोखिम निम्तिन सक्ने विचार राखिन् ।

उनले भनिन्, ‘सामाजिक सञ्जाल र इमेलका पासवर्ड कसैलाई पनि नदिने, सवंदेदनशील फोटो र सामाग्री सेयर नगर्ने, एउटै पासवर्ड धेरै ठाउँमा नराख्ने र कसैले अश्लील सामाग्री पठाएमा त्यसलाई तुरुन्त प्रमाणसहित सम्बन्धित निकायमा उजुरी दिने गर्नुपर्छ ।’

कार्यक्रममा साइबर सुरक्षा अनुसन्धानविद् ऋषभ पण्डितले बालबालिकाहले सुरक्षित रुपमा इन्टरनेट प्रयोग गर्न नजान्दा आउने समस्याहरुको चर्चा गर्दै बच्ने उपायहरुको जानकारी दिए । त्यस्तै एनपी सर्टका अध्यक्ष चिरञ्जिवी अधिकारीले साइबर थ्रेट विरुद्ध जोगिन जनचेतना तथा अभिमुखीकरण नै पहिलो र महत्वपूर्ण उपाय रहेको बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१