close

झनै खस्कियो नेपालको इन्टरनेट स्पीड

टेकपाना टेकपाना

असार ५, २०७७ १२:२७

झनै खस्कियो नेपालको इन्टरनेट स्पीड

काठमाडौं । विश्वमै कमजोर रहेको नेपालको डेटा तथा इन्टरनेट स्पीड थप खस्किएको छ । नेपालमा मोबाइल डेटा र फिक्स्ड इन्टरनेट दुवैको स्पीड पछिल्लो समय अझै ओरालो लागेको हो ।

अंग्रेजी मे महिनाको ग्लोबल स्पीड टेस्ट रिपोर्ट अनुसार मोबाइल डेटाको डाउनलोड स्पीडमा आठ स्थान तल झरेको नेपाल फिक्स्ड ब्रोडब्याण्ड समेत एक स्थान पछि परेको छ । हाल दुवैमा नेपाल विश्वमै समान ११९ औं स्थानमा छ ।

यस अघि अप्रिलमा नेपाल मोबाइल डेटा इन्टरनेट स्पीडमा १११ औं र फिक्स्ड इन्टरनेटमा ११८ औं स्थानमा रहेको थियो । स्पीड टेस्टका लागि मोबाइल इन्टरनेटमा १३८ मुलुक र फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटमा १७३ मुलुक समेटिएका छन् ।

नेपालको इन्टरनेट स्पीड कति ?

विश्वमा मोबाइल इन्टरनेटको औषत डाउनलोड स्पीड ३३.७१ एमबीपीएस तथा अपलोड स्पीड १०.८९ एमबीपीएस रहेको छ भने लेटेन्सी ४१ मिलि सकेन्ड रहेको छ ।

तर नेपालमा भने मोबाइल डेटाको औषत डाउनलोड स्पीड १४.७६ एमबीपीएस तथा औषत अपलोड स्पीड ७.९२ एमबीपीएस रहेको छ । नेपालको लेटेन्सी भने ३३ मिलि सेकेन्ड छ ।

नेपालको मोबाइल इन्टरनेटको स्पीड । स्रोतः स्पीड टेस्ट ग्लोबल

स्पीड टेस्ट ग्लोबलका अनुसार हाल विश्वमा फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटको औषत डाउनलोड स्पीड ७६.९४ एमबीपीएस तथा औषत डाउनलोड स्पीड ४१.०९ एमबीपीएस रहेको छ । लेटेन्सी भने २४ मिलि सेकेन्ड छ ।

तर नेपालको औषत डाउनलोड स्पीड भने १८.५८ एमबीपीएस तथा अपलोड स्पीड १७.८० एमबीपीएस रहेको छ । लेटेन्सीमा भने नेपालको अवस्था औषतभन्दा राम्रो अर्थात १८ मिलि सेकेन्ड रहेको छ ।

नेपालको फिक्स्ड लाइन इन्टरनेटको स्पीड । स्रोतः स्पीड टेस्ट ग्लोबल

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१