close

जनवरी १ देखि आईपी टिभी सञ्चालनमा ल्याउँदै नेपाल टेलिकम

टेकपाना टेकपाना

पुस ४, २०७७ १७:४२

जनवरी १ देखि आईपी टिभी सञ्चालनमा ल्याउँदै नेपाल टेलिकम

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले यही पुस १७ देखि आईपी टिभी सेवा सञ्चालनमा ल्याउने भएको छ । कम्पनीले आवश्यक प्राविधिक तयारी पुरा गरी आफ्नो फाइबर टु द होम इन्टरनेटसँगै आईपी टिभी सेवा दिने भएको हो ।

कम्पनीले गत फागुनमा पहिलो चरणको परीक्षण प्रशारण गरेको थियो । प्रारम्भिक परीक्षण सकारात्मक भए पनि कोभिड १९ को महामारीसँगै सुरु भएको लकडाउन र क्लिन फिड नीतिका कारण ढिलोगरी सञ्चालनमा आउन लागेको हो ।

टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीका अनुसार हाल क्लिन फिड नीति अनुरुप आईपी टिभीका लागि कन्टेन्ट व्यवस्थापनको कार्य भइरहेको छ । हाल परीक्षणकालमा रहेको आईपी टिभी सेवामार्फत अहिले टेलिकमका केही कर्मचारीले फ्री टु इयर (प्रसारणका लागि शुल्क नलाग्ने च्यानल) प्रयोग गर्दै आएका छन् ।

‘क्लिन फिडको नीतिका कारण विदेशी च्यानलहरुसँग छुट्टै किसिमको सम्झौता गर्नुपर्ने अवस्था बनेको छ,’ प्रबन्ध निर्देशक अधिकारीले टेकपानासँगको कुराकानीमा भने, ‘फ्री टु इयरका लागि भने अहिले कुनै समस्या छैन ।’

बिलिङ र सीआरएम (कस्टमर रिलेसनशिप म्यानेमेन्ट) साइड सबै तयार भइसकेको अधिकारीले जानकारी दिए । ‘अहिले प्याकेज तयार पार्ने काम भइरहेको छ । यो अबको दुई चार दिनमै फाइनल हुन्छ,’ अधिकारीले भने, ‘संभवतः हामी जनवरी १ देखि यो सेवालाई व्यवसायिक रुपमा नै सञ्चालनमा ल्याउने लक्ष्य छ ।’

कम्पनीले पछिल्लो समयमा एफटीटीएच (फाइबर टु द होम) इन्टरनेट सेवालाई आक्रामक रुपमा विस्तार गरिरहेको छ । जसमा इन्टरनेट तथा ल्याण्डलाइन टेलिफोन सेवा दिँइँदै आएको छ ।

अब निकट भविष्यमा सञ्चालनमा आउने आईपी टिभी सेवा समेत त्यसैमा जोडिनेछ । हालैमात्र कम्पनीले २० एमबीपीएस गतिको एफटीटीएच प्याकेज लिने ग्राहकलाई मोबाइलमा प्रति दिन ३०० एमबी डेटा निःशुल्क रुपमा उपलब्ध गराउने प्याकेज ल्याएको छ । हाल करिब ९६ हजार ग्राहकले टेलिकमको एफटीटीएच इन्टरनेट सेवा जडान गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०