close

नेपालमै पहिलोपटक आईटी ओलम्पियाड कार्यक्रम सम्पन्न

टेकपाना टेकपाना

भदौ २०, २०७८ ९:३८

नेपालमै पहिलोपटक आईटी ओलम्पियाड कार्यक्रम सम्पन्न

काठमाडौं । आदिम नेसनल कलेजको आयोजना र कोड फर चेन्जको सह-आयोजनामा नेपालमै पहिलोपटक आईटी ओलम्पियाड कार्यक्रम सम्पन्न भएको छ ।

प्रविधिको नवीनतामा ध्यान राख्दै आएको आदिम कलेज र प्रविधिमा युवाको सशक्तिकरणमा काम गर्दै आएको कोड फर चेन्जले उक्त कार्यक्रम विभिन्न चरणमा गरेका हुन् ।

स्थानीय, प्रदेश हुँदै राष्ट्रियस्तरको प्रतिस्पर्धाको मोडालिटीमा सम्पन्न भएको उक्त कार्यक्रममा देशका विभिन्न ठाउँका माध्यमिक विद्यालयले आफ्ना विधार्थीलाई सहभागी गराएका थिए ।

यसबाट विद्यालयहरूले आफ्ना विद्यार्थीलाई प्रविधिको उपयोग र विकासमा समावेश गराई आफ्नो विद्यालयको नाम चिनाउनुका साथै प्रविधिको नवीनतामा अग्रसर गराई देशको प्राविधिक फड्कोका लागि योगदान गरेको आयोजकको भनाइ छ ।

उक्त कार्यक्रम ७ वटै प्रदेशमा सञ्चालन भएको थियो, जसमध्ये ६ वटा प्रदेशबाट १०/१० विद्यालयले उपस्थिति जनाई प्रतिस्पर्धा गरे भने ३ नम्बर प्रदेशमा २० वटा विद्यालयबीच प्रतिस्पर्धा भई प्रदेशस्तरको प्रतिस्पर्धामा पुगेका थिए ।

हरेक प्रदेशबाट एक/एक विद्यालयलाई प्रतिनिधित्व गर्दै उत्कृष्ट ७ विद्यालयका विधार्थी रास्ट्रियस्तरको प्रतिस्पर्धामा पुगेका थिए ।

प्रतिस्पर्धाबाट क्रमशः प्रदेश नम्बर २ को मून लाइट एकेडेमी प्रथम, लुम्बिनी प्रदेशको एपेक्स स्कुल दोस्रो र सुदुरपश्चिम प्रदेशको लिटल बुद्ध एकेडेमी तेस्रो भएका छन् ।

कार्यक्रम प्रविधिको विकासको अर्को फड्को भएको बताउँदै विज्ञहरुले उक्त कार्यक्रम नेपालका विद्यालयहरुको शैक्षिक गुणस्तर मापन गर्ने एउटा आधारसमेत बनेको दाबी गरे ।

विद्यालयको शैक्षिक गुणस्तर बढाउन हौसला पुग्न सक्ने अनुमानसमेत लगाइएको उक्त कार्यक्रम २०७६ चैत्त ७ मा सुरु भएको थियो भने विभिन्न समस्याका बाबजुद २०७८ भदौ १९ गते भर्चुअल्ली सम्पन्न भएको छ ।

परीक्षाले मापन गर्दै आएको शिक्षा प्रणालीलाई थप प्रयोगात्मक र उपयोगी बनाउन सहयोग पुर्याई प्रविधिमा फड्को मार्ने उद्देश्यले सुरु गरिएको उक्त कार्यक्रमका प्रमुख अतिथिमा नेपाल सरकारका पूर्व विज्ञान तथा प्रविधिमन्त्री गणेश साह थिए भने त्रिभुवन विश्वविधालय इन्जिनियरिङ संस्थानका प्राध्यापक डा. सुवर्ण शाक्य विशिस्ट अतिथिको रुपमा उपस्थित थिए ।

कार्यक्रममा आफ्ना भनाइ राख्दै वक्ताहरुले अबको समय प्रविधिको समय भएकाले ओलम्पियडका आयोजकलाई विशेष धन्यवाद दिँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिने सल्लाह दिनुका साथै सधै सहयोग गर्न तत्पर रहेको बताएका थिए ।

कार्यक्रम आइटी ओलम्पियाड नेपालका अध्यक्ष शंकरप्रसाद शर्माको सभापतित्वमा सम्पन्न भएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३