close

इन्टरनेट सस्तो बनाउन पूर्वाधार सहप्रयोगमा कुन मोडल उपयुक्त ?

टेकपाना टेकपाना

बैशाख २०, २०७८ १४:४५

इन्टरनेट सस्तो बनाउन पूर्वाधार सहप्रयोगमा कुन मोडल उपयुक्त ?

काठमाडाैं । दूरसञ्चार सेवा प्रदायकहरुले पूर्वाधारमा धेरै लगानी गर्नु नपर्ने र एउटै पूर्वाधार सबैले सहप्रयोग गर्न पूर्वाधार सहप्रयोगको नीति लागू गर्ने भनेर धेरै वर्षदेखि बहस भइरहेको छ । तर, पूर्वाधार सहप्रयोगको नीति कार्यान्वयमा भने आउन सकिरहेको छैन । 

पूर्वाधारको सहप्रयोग गर्न सके सबै सेवा प्रदायकले पूर्वाधारमा महंगो लगानी गर्नु पर्दैन । जसका कारण इन्टरनेट र दूरसञ्चार सेवाको लागत घट्ने अनुमान भइरहेको छ । तर, पूर्वाधार सहप्रयोगको पूर्वशर्त के हुन् त ? 

टेकपाना मिडियाले शनिबार आयोजना गरेको ‘दूरसञ्चार पूर्वाधार सहप्रयोगमा नेपाली मोडल’ विषयक अन्तरक्रियामा बोल्दै नेक्स्ट जेनेरेसन एक्सेस विषय विज्ञ बेनोट फेल्टनले विभिन्न देशको उदाहरण दिँदै पूर्वाधार सहप्रयोगलाई प्रभावकारी बनाउन सेवा प्रदायकबीच विश्वासको वातावरण हुनुपर्ने धारणा राखे । 

‘पूर्वाधार सहप्रयोगलाई अधिकतम् प्रभावकारी बनाउने हो भने सेवा प्रदायकबीच विश्वासको वातावरण हुनुपर्छ,’ उनले भने,‘सेवा प्रदायकबीच हामी सबैलाई यसले फाइदा हुन्छ भन्ने धारणा पनि स्थापना हुनुपर्छ ।’ 

पूर्वाधार सहप्रयोगको लागि सेवा प्रदायकहरुबीच विश्वासको वातावरण बनाउनु सबैभन्दा चुनौतिपूर्ण हुने उनको अनुभव छ । ‘साना तथा ठूला सेवा प्रदायकबीच विश्वासको वातावरण बनाउन आवश्यक छ,’ उनले अगाडि भने,‘तर यो प्रायजसो निकै चुनौतिपूर्ण काम हुने गर्छ ।’

‘सबै प्रदायकहरुले पूर्वाधार सहप्रयोगबाट आफूलाई फाइदा हुन्छ भन्ने भावना आत्मसाथ गरे मात्रै यो सम्भव हुन्छ,’ उनले भने । पूर्वाधार सहप्रयोगका लागि धेरै देशहरुमा नीतिहरु बनाइए पनि तिनको कार्यान्वयनको अवस्था भने फितलो हुने गरेको उनको अनुभव छ ।

धेरै देशमा सरकारी निकायले पूर्वाधार सहप्रयोगको नीति बनाएको भए पनि बजारमा तिनको कार्यान्वयन हुन नसकेको उनले बताए । ‘अमेरिका जस्तो विकसित देशमा पनि यस्तो अवस्था छ,’ उनले उदाहरण दिँदै भने ।

पूर्वाधार सहप्रयोगको मोडल सफल भएका उदाहरण दिंदै उनले आफ्नो पूर्वाधार अरुलाई प्रयोग गर्न दिने भन्दा पनि एक तटस्थ निकायले अहिले भइरहेका सबै पूर्वाधारहरु भाडामा लिएर वा निर्माण गरेर अरुलाई सहप्रयोगका लागि दिँदा विश्वसनीय वातावरण हुने धारणा राखे । 

उनले भारतमा १ लाख ५० हजार बढी गाउँ इन्टरनेटमा जोड्न अपनाइएको पञ्चायत मोडल र न्यूजिल्याण्डले अपनाएको मोडल नेपालमा अपनाउन सुझाव दिए । बेनोट फेल्टनले सरकारी निकायले पूर्वाधार निर्माण गरेर अरुलाई प्रयोगको लागि भाडामा दिनेभन्दा पनि तटस्थ निकायलाई अघि सार्नको सुझाव दिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१