close

नागरिक एपमा कहिलेबाट आउँछ ब्लुबुक नवीकरणको सुविधा ?

टेकपाना टेकपाना

साउन ८, २०७८ १८:१९

नागरिक एपमा कहिलेबाट आउँछ ब्लुबुक नवीकरणको सुविधा ?

काठमाडौं । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले शुक्रबारदेखि अनलाइन सेवा सुरु गरेको छ । यातायात व्यवस्थापन सूचना प्रणाली (टीएमआईएस) नाम दिइएको यो प्रविधि कार्यान्वयनमा आएसँगै बाटै राजस्व तथा जरिवाना भुक्तानी र ब्लुबुक नवीकरणको गर्न सकिने भएको छ ।

यो सेवा लिनका लागि प्रदेश सरकारले छुट्टै वेब पोर्टल समेत सार्वजनिक गरेको छ । नागरिक एपबाट समेत लिन सकिने बताइएको यो सेवा कार्यान्वयनमा आउँदा राजधानी प्रदेशका यातायात कार्यालयमा सेवाग्राहीले पाउने सास्तीको अन्त्य हुने अपेक्षा गरिएको छ ।

यसका लागि नागरिक एपमा ‘सवारी कर’ नामक फिचर आएको छ । जसमा आफ्नो सवारीसाधनको विवरण हेर्ने, सम्पादन गर्ने, तिरिसकेको कर विवरण हेर्ने र तिर्न बाँकी राजस्व तथा जरिवाना थाहा पाउने सुविधा छ ।

तर अनलाइनबाटै राजस्व भुक्तानीको विकल्प भने एपमा देखिँदैन । यस्तोमा पक्कै पनि तपाईंलाई नागरिक एपबाटै यातायातको राजस्व तिर्न सकिने तथा ब्लुबुक नवीकरण गर्न सकिने फिचर कहिले आउँछ भन्ने कौतुहलता उत्पन्न हुनु स्वभाविक हो ।

त्यसो त बागमती प्रदेश सरकारले सञ्चालनमा ल्याएको टीएमएससँगै नागरिक एपमा समेत यो सुविधा उपलब्ध हुने अपेक्षा गरिएको थियो । तर प्राविधिक तयारी नपुगेको भन्दै नागरिक एपमा अब केही दिन ढिलो गरी मात्र यो सुविधा थपिने भएको हो ।

यसका लागि टेस्टिङको कार्य चलिरहेको राष्ट्रिय सूचना प्रविधि केन्द्र निकट स्रोतले जानकारी दिएको छ । अबको केही दिनमा (आइतबारसम्म) यो सुविधा नागरिक एपमा समेत आउनेछ ।

त्यससँगै टीएमआईएसको वेब पोर्टलमा उपलब्ध सुविधा सोझै नागरिक एपबाटै लिन सकिने बताइएको छ । बागमति प्रदेशबाट सुरु भएको यो सुविधा क्रमशः अन्य प्रदेशमा समेत विस्तार गर्ने सरकारी योजना रहेको छ । सम्भवतः अबको चरणमा लुम्बिनी प्रदेशमा यस किसिमको सुविधा सुरु हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५