close

आईफोनमा टेलिकमको ८०० ब्याण्ड सपोर्ट, अब गाउँमा समेत फोरजी चल्ने

टेकपाना टेकपाना

साउन १०, २०७८ १४:२५

आईफोनमा टेलिकमको ८०० ब्याण्ड सपोर्ट, अब गाउँमा समेत फोरजी चल्ने

काठमाडौं । नेपाल टेलिकमको ब्याण्ड २० अर्थात ८०० मेगाहर्ज ब्याण्डको फोरजी आईफोनमा समेत उपलब्ध भएको छ । एप्पलले आफ्ना आईफोनहरूका लागि टेलिकमको ८०० मेगाहर्ज ब्याण्ड फोरजी एलटीईको सपोर्ट उपलब्ध गराएको हो ।

नेपाल टेलिकमका अनुसार आईओएस १४.७ माथिको भर्सन रहेका आईफोनमा फोरजी एलटीई तथा भीओएलटीई सेवा चलाउन सकिनेछ । यसअघि १८०० मेगाहर्ज ब्याण्डको मात्र सपोर्ट हुँदा ग्रामीण क्षेत्र र सहरी क्षेत्रका समेत कुनाकाप्चामा आईफोनमा टेलिकमको फोरजी नचल्ने समस्या रहेको थियो ।

तर यो नयाँ अपडेट आएसँगै ठूला बिल्डिङ भित्र र सहरी क्षेत्रका कुना कन्दरा देखि ग्रामीण क्षेत्रमा समेत आईफोनले फोरजी सपोर्ट गर्नेछ । कम्पनीका अनुसार आईफोनमा ब्याण्ड २० को सपोर्ट उपलब्ध भएसँगै ४.५ जी फिचर समेत प्रयोग गर्न सकिने भएको छ ।

जसमा क्यारियर एग्रिगेसन लगायतका फिचर छन् । यसले गर्दा आईफोनमा फोरजीको स्पिड समेत बढ्नेछ । नयाँ अपडेटमा माइमु (MiMo) अर्थात मल्टिपल इनपुट तथा मल्टिपल आउट समेत रहेको छ । यसले गर्दा समेत फोरजी एलटीईको स्पिड बढाउने बताइएको छ ।

तर कन्ट्री स्पेसिफिक (कुनै निश्चित देशमा मात्र चल्ने) वा जेलब्रेक (सफ्टवेयर तोडिएका) आईफोनमा भने १८०० मेगाहर्ज अर्थात ब्याण्ड २० को सपोर्ट नहुन सक्छ । आईफोनले ग्रामीण क्षेत्रमा फोरजी मात्र होइन, टेलिकमले हालै सञ्चालनमा ल्याएको भीओएलटीई समेत सपोर्ट नगर्ने समस्या रहेको थियो ।

अब भने त्यो समस्या समेत हटेको छ । तपाईंले आईओएस सफ्टवेयर अपडेट गरेपछि टेलिकमको गुणस्तरीय सेवा उपयोग गर्न पाउनु हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५