close

नथिङले ल्यायो अहिलसम्मकै सस्तो एएनसी इयरबड्स, यस्तो छ मूल्य र फिचर

टेकपाना टेकपाना

साउन १४, २०७८ ९:२८

नथिङले ल्यायो अहिलसम्मकै सस्तो एएनसी इयरबड्स, यस्तो छ मूल्य र फिचर

काठमाडौं ।  वनप्लसका सहसंस्थापक कार्ल पेईको नयाँ कम्पनी नथिङले आफ्नो पहिलो उत्पादनको रुपमा इयरबड्स सार्वजनिक गरेको छ । जसको नाम नथिङ इयर वन राखिएको छ ।

यसमा एक्टिभ न्वाइज क्यान्सिलेसन जस्ता प्रिमियम फिचर दिइएका छन् । यसका साथै इयरबड्समा वायरलेस (एएनसी) चार्जिङको सुविधा पनि छ ।

नथिङ इयर वानको मूल्य भारतीय पाँच हजार ९९९ रुपैयाँ (नौ हजार ५९९.४ रुपैयाँ) रहेको छ भने विश्व बजारमा ९९ डलर (११ हजार ७५२.२९  रुपैयाँ) छ । यो न्वाइज क्यान्सिलेसन फिचर भएको अहिलेसम्मकै सस्तो मध्येको इयरबड्स हो । 

इयरबड्सलाई एप्पलको २४९ डलर पर्ने एयरपड्स प्रोको प्रतिस्पर्धीको रुपमा हेरिएको छ । साउन्डकोर लिबर्टी इयर टु प्रोको मूल्य १२० डलर छ भने अमेजनको एएनसी फिचर सहितको दोस्रो पुस्ताको ईको बड्स १२० डलरबाट सुरु हुन्छ ।

त्यसो त यही मूल्यमा नोइज क्यान्सलेसन बिनाका इयरबड्स समेत छन् । जसमा गुगलले हालै मात्र सार्वजनिक गरेको पिक्सेल बड्स ए सिरिज समेत पर्छ । यसले ओप्पो, सोनी, सामसङ, एलजी र एंकर साउन्डकोर जस्ता कम्पनीका इयरबड्ससँग प्रतिस्पर्धा गर्नेछ ।

नथिङको यो पहिलो इयरबड्स पारदर्शी केशको साथमा आएको छ । यसको अर्थ तपाईंले बाहिरैबाट इयरबड्स देख्न सक्नुहुन्छ । केसमा चार्जिङ इन्डिकेटर समेत राखिएको छ ।

चार्जिङका लागि यूएसबी टाइप सी पोर्ट दिइएको छ भने वायरलेस रुपमा समेत यसलाई चार्ज गर्न सकिन्छ । यसको ब्याट्री ब्याकअप ५.७ घण्टा रहेको बताइएको छ । चार्जिङ केस सहितको ब्याट्री लाइफ ३४ घण्टा छ ।

नथिङ इयर वन मा फास्ट चार्जिङको सपोर्ट समेत छ । जसबाट केवल १० मिनेटको चार्जिङमा आठ घण्टाको ब्याकअप तयार हुने दाबी गरिएको छ । एक्टिभ न्वाइज क्यान्सिलेसन समेत भएको यो इयरबड्समा इन्टेन्सिटी लेभल समेत छ ।

साथै नथिङ इयर  वन मा ट्रान्सपरेन्सी मोडसँगै टच कन्ट्रोल पनि दिइएको छ । यसका लागि इयर १ एपको सपोर्ट समेत छ । जसलाई तपाईंले आईओएस तथा एन्ड्रोइड दुवै डिभाइसमा प्रयोग गर्न सक्नुहुन्छ । एपमार्फत यसमा फर्मवेयर अपडेट गर्न सकिन्छ ।

यसका साथै यो इयरबड्समा इन इयर डिटेक्सन फिचर समेत रहेको छ । यसको मतलव इयरबड्स कानबाट बाहिर निकाल्ने वित्तिकै बज्न रोकिन्छ ।

यसमा ११.६ एमएमको डाइनामिक ड्राइभर राखिएको छ । यसको डिजाइन स्वीडेनको टिनेज इन्जिनियरिङको सहयोगमा गरिएको छ । यसमा ब्लुटुथ ५.२ का साथै एसबीसी तथा एएसी ब्लुटुथ कोडेकको सपोर्ट समेत दिइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१