close

जिल्लाबाटै ई-पासपोर्ट लिन सकिने, कहाँ कहाँ छ सेवा ?

टेकपाना टेकपाना

माघ १५, २०७८ ९:४४

जिल्लाबाटै ई-पासपोर्ट लिन सकिने, कहाँ कहाँ छ सेवा ?

काठमाडौं । सरकारले विद्युतीय राहदानी (ई-पासपोर्ट) वितरणलाई सहज बनाउन देशव्यापी अभियान सञ्चालन गरिरहेको छ । परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले मङ्सिर १ गतेदेखि जारी भएकाे विद्युतीय राहदानीका लागि जिल्लाबाटै सेवा लिन मिल्ने बनाउन लागेकाे हाे ।

हालसम्म झापा, मोरङ्ग, सुनसरी, उदयपुर, सप्तरी, धनुषा, सर्लाही, पर्सा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, रसुवा, धादिङ्ग, मकवानपुर, चितवन, तनहुँ, लमजुङ्ग, गोरखा, कास्की, परासी, रुपन्देही, बुटवल, कपिलवस्तु, गुल्मी, सुर्खेत, कैलाली, कञ्चनपुर, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), काभ्रे, रामेछापबाट विद्युतीय राहदानी सेवा सुरु भएको विभागले जानकारी दिएको छ ।

सेवाग्राहीले आफ्नो जिल्लाबाटै विद्युतीय राहदानी लिन मिल्ने बनाउन यो अभियान थालिएको विभागले जनाएको छ । राहदानी बनाउन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएको छ । त्यसैले सर्वसाधारणले पहिला राष्ट्रिय परिचयपत्र बनाउनुपर्ने भएको छ ।

विद्युतीय राहदानी प्राप्त गर्न अनिवार्य रुपमा अनलाइनबाट मिति र समय बुक गर्नुपर्ने हुन्छ । ‘फस्ट कम फस्ट’ अर्थात सुरुमा बुक गर्ने व्यक्तिको पालो पहिला आउँछ ।

अनलाइन आवेदन भर्न सुरुमा यहाँ क्लिक गर्नुहोस् र आवेदनको प्रकार र राहदानीको प्रकार छान्नुहोस् । अब यदि तपाईंसँग यसअघि नै एमआरपी पासपोर्ट छ भने रिन्युअल (Renewal) र पहिलो पटक राहदानी बनाउँदै हुनुहुन्छ भने न्यु (New) विकल्प छानेर फाराम भर्नुहोस् ।

नेपालमा फाराम बुझाउनेको हकमा ठाउँ छनौट गर्दा राहदानी विभाग (DOP) वा जिल्ला अथवा तोकिएका इलाका प्रशासन कार्यालय छान्न सक्नुहुन्छ र जिल्ला वा इलाका प्रशासन कार्यालयमा आवेदन दिँदा आफूले नागरिकता लिएको वा बसाइँसराइ गरेको जिल्लामा मात्र आवेदन दिनुपर्ने हुन्छ ।

त्यस्तै १६ वर्ष माथिका र नेपालमा आवेदन दिनेहरूको हकमा सक्रिय भएको राष्ट्रिय परिचयपत्र नम्बर आवश्यक पर्छ । राष्ट्रिय परिचयपत्र नम्बर लिने बारे जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।

नाबालिग परिचयपत्र हुनेहरूको हकमा जिल्ला आधिकारिकता प्रमाणित गरिएको पत्र अनिवार्य गरिएको छ ।

सक्रिय भएको वा नभएको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको हटलाइन नम्बरमा फोन गरेर वा भाइबर तथा ह्वाट्सएपमा मेसेज पठाएर यकिन गरिसकेपछि मात्र लाइभ इनरोलमेन्टको लागि अगाडि बढ्नुपर्ने हुन्छ ।

अनलाइन भुक्तानीको व्यवस्था निकट भविष्यमा गरिने भन्दै विभागले हाललाई नगदबाट भुक्तानी गर्ने व्यवस्था मिलाएको छ । तर यहाँनिर ख्याल राख्नुहोस्, यदि तपाईंको अहिलेको पुरानो राहदानीको म्याद एक वर्षभन्दा बढी बाँकी छ भने ई-पासपोर्ट लिन पाउनु हुनेछैन ।

विद्युतीय राहदानीमा विद्युतीय चिप र एन्टेना समेत जडान गरिएको हुन्छ । चिपमा औंठाछाप, तस्वीर लगायतका व्यक्तिगत विवरण हुन्छन् ।

यी विवरण राखेर चिप लक गरिसकेपछि कसैले थपघट वा फेरबदल गर्न सक्दैन । यो हालसम्म संसारमा विभिन्न मुलुकमा जारी भएको अत्याधुनिक राहदानीमध्येमा पर्दछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२