close

एन्ड्रोइडको नियरबाई शेयरमा ठूलो अपग्रेड ! सिङ्गल ट्यापमै फाइल ट्रान्सफर 

टेकपाना टेकपाना

बैशाख ९, २०७९ १०:४०

एन्ड्रोइडको नियरबाई शेयरमा ठूलो अपग्रेड ! सिङ्गल  ट्यापमै फाइल ट्रान्सफर 

काठमाडौं । जब सन् २०२० मा गुगलले नियरबाई शेयर सार्वजनिक गर्‍यो, विश्वभरका एन्ड्रोइड प्रयोगकर्ता हर्षित बने । अन्ततः उनीहरूसँग एप्पलको एयरड्रपको प्रतिस्पर्धी टुल आइपुगेको थियो ।

जसबाट एउटा डिभाइसबाट अर्को डिभाइसमा फाइल पठाउनका लागि इमेलमा फाइल अट्याच गरी वा गुगल ड्राइभमा अपलोड गरी त्यसलाई डाउनलोड गर्नुपर्ने झन्झटिलो बाध्यताको सजिलो विकल्प हात लागेको थियो ।

अहिले आएर गुगल आई/ओ अगावै केही प्रयोगकर्ताले गुगल प्ले सर्भिसमा लुकेर बसेको अपग्रेड बारे चाल पाएका छन् । जसले नियरबाई शेयरलाई अझ सहज बनाउँछ । 

यसमा देखिएको नयाँ ‘सेल्फ-शेयर’ मोडले तपाईँलाई आफ्ना डिभाइसहरूबीच फाइल पठाउने सुविधा दिन्छ । महिनौँदेखि हल्लाको रुपमा सुनिँदै आएको यो फिचर अन्ततः तयारी अवस्थाको नजिक पुगेको छ ।

अहिलेसम्म नियरबाई शेयरमा प्रापक डिभाइसले त्यसलाई एसेप्ट अर्थात स्वीकार गर्नुपर्ने हुन्छ । जुन चाहिँ सुरक्षा र ट्रोलिङ्गको हिसाबले राम्रो पनि हो ।

तर आफ्नो फोनमा रहेको फोटो अर्को कोठामा भएको आफ्नै ल्यापटपमा पठाउनु पर्‍यो भने यो झन्झटिलो र दिक्क लाग्दो हुने गर्छ । गुगलको यो नयाँ फिचर नियरबाई शेयर इनेबल भएका, भौतिक रुपमा तपाईँसँग नजिकै रहेका र तपाईँको गुगल अकाउन्ट लग्ड इन भएका डिभाइसरूमा मात्र काम गर्छ ।

तपाईँको अकाउन्ट बाहेकका डिभाइसहरूमा भने अझै पनि प्रत्येक पटकको शेयरका लागि एसेप्ट गर्नुपर्ने हुन्छ । गुगलका लागि नियरबाई शेयर एउटा महत्त्वपूर्ण फिचर हो, विशेषतः डिभाइसहरूबीचको एन्ड्रोइड इकोसिस्टमको विस्तारको सन्दर्भमा ।

यदि गुगल तपाईँको फोन, ल्यापटप, टिभी, स्पिकर र स्मार्टवाचमा हुन्छ भने, ती सबै डिभाइसहरूबीच कुनै पनि कुरा एकआपसमा आदानप्रदान गर्न सहज बनाउनु जरुरी छ । एप्पलले एयरड्रपमा रहेको युनिभर्सल कन्ट्रोल जस्ता फिचरको माध्यमबाट निरन्तर रुपमा त्यस्तो कार्य सम्भव रहेको देखाइसकेको छ ।

गुगल र एप्पल दुवै कम्पनीले विभिन्न डिभाइस एकसाथ काम गर्न सक्नेगरी इकोसिस्टम विकास गर्न आवश्यक रहेको कुरा राम्रोसँग बुझिसकेका छन् । सम्भवतः भविष्यमा यस किसिमको फिचर क्रश-प्लेटफर्मको रुपमा समेत देख्न पाइनेछ ।

गुगलको नियरबाई शेयरको अपडेट औपचारिक रुपमा कहिले सार्वजनिक हुन्छ भन्ने कुरा अहिले नै भन्न सकिने अवस्था छैन । यद्यपि आउँदो ११ मे देखि सुरु हुनेगरी तय भएको गुगल आई/ओ खासै टाढा छैन ।  त्यही कार्यक्रमबाझ यो फिचर सार्वजनिक हुने अनुमान गर्न पनि सकिन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२