close

एलन मस्कले आशङ्का व्यक्त गरेसँगै ट्वीटरको शेयर मूल्यमा भारी गिरावट

टेकपाना टेकपाना

बैशाख ३०, २०७९ २०:११

एलन मस्कले आशङ्का व्यक्त गरेसँगै ट्वीटरको शेयर मूल्यमा भारी गिरावट

काठमाडौं । एलन मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्वीटर खरिद गर्ने योजना अगाडि बढेसँगै उकालो लागेको कम्पनीको शेयर मूल्यमा शुक्रबार उनले नयाँ आशङ्का व्यक्त गरेसँगै भारी मात्रामा गिरावट देखिएको छ । शेयरको मूल्य बजार खुले लगत्तै १० प्रतिशतभन्दा बढीले ओरालो लागेको छ र अधिग्रहणको प्रति शेयर मूल्य ५४.२० भन्दा १४ अङ्कभन्दा मुनीमा कारोबार भइरहेको छ ।

मस्कले आशङ्का सहित खरिद प्रक्रिया तत्कालका लागि थाँती राखिएको ट्वीट गरेका कारण कम्पनीको शेयर मूल्य भारी मात्रामा घटेको हो । जसमा उनले बट तथा नक्कली अकाउन्टको सङ्ख्यामाथि आफू द्विविधामा रहेको उल्लेख गरेका छन् ।

ट्वीटरले आफ्नो प्रतिवेदनमा त्यस्ता नक्कली अकाउन्टको सङ्ख्या कूल सक्रिय प्रयोगकर्ताको पाँच प्रतिशतभन्दा थोरै रहेको उल्लेख गरेको छ । तर धेरैजसोले उक्त सङ्ख्या त्यसभन्दा धेरै हुने विश्वास गर्दै आएका छन् । पछि आएर मस्कले ट्वीटर खरिद गर्ने कुरामा आफू प्रतिवद्ध रहेको भन्दै स्पष्ट पारेका छन् ।

यद्यपि ट्वीटर अधिग्रहण टुङ्ग्याउने प्रक्रिया पर धकेलिएको छ । ट्वीटर खरिद गर्ने निश्चित भएसँगै ट्वीटर र टेस्ला दुवैको बजारमा निकै ठूलो परिवर्तन देखिएको छ । यसबीच १४ अप्रिलमा मस्कले ट्वीटर खरिद गर्ने प्रस्ताव सार्वजनिक गरेयता टेस्लाको स्टक २५ प्रतिशत भन्दा बढीले घटेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२