close

आईफोन १४ मा अनेकौँ समस्या रहेको एप्पलको स्वीकारोक्ति, उचित नहुन सक्छ तत्काल खरिद गर्ने निर्णय

टेकपाना टेकपाना

असोज ९, २०७९ १२:२१

आईफोन १४ मा अनेकौँ समस्या रहेको एप्पलको स्वीकारोक्ति, उचित नहुन सक्छ तत्काल खरिद गर्ने निर्णय

काठमाडौं । सार्वजनिक भएपछि केही प्रयोगकर्ताहरूको हातमा आईफोन फोर्टिन पुगिसकेको छ । तर धेरैजसो प्रयोगकर्ता भने यसको प्रतिक्षामा छन् । यद्यपि सार्वजनिक भए लगत्तै आईफोन फोर्टिनमा देखिएका विभिन्न समस्याका कारण यो फोन खरिद गर्ने कि नगर्ने भन्ने दुविधा धेरै प्रयोगकर्ताहरूलाई परेको छ । फोन सार्वजनिक भएको दुई साता नबित्दै एप्पलले दुई ओटा आकस्मिक अपडेट सार्वजनिक गरिसकेको छ । प्रयोगकर्ताको गुनासो आउने क्रम भने अझैँ रोकिएको छैन ।

एप्पल स्वयम्‌ले पनि फोनमा विभिन्न समस्या देखिको स्वीकार गर्दै आएको छ र त्यसलाई सुधार्ने प्रतिबद्धता पनि जाहेर गर्दै आएको छ । नयाँ आईफोनमा देखिएको पछिल्लो समस्या भनेको ‘कारप्ले फोन कल्स’ र ‘डेटा माइग्रेसन’मा हो । यो विषयलाई एप्पलले पनि बगको रुपमा पुष्टि गरिसकेको छ । 

आईफोन १४ सिरिजका स्मार्टफोनहरूको आवाज कनेक्ट गरिएको गाडीमा निकै कमजोर रहेको गुनासो आएको छ । प्रयोगकर्ताले सामाजिक सञ्जालका विभिन्न माध्यमहरूमा यो गुनासो पोखेका छन् । एप्पलले भने आईओएस १६.०.२ को अपडेटसँगै यी समस्याहरू समाधान गर्ने अनुमान छ । 

यस बाहेक अर्को समस्या भनेको ‘डेटा माइग्रेसन’ हो । आईफोन १४ प्रो म्याक्समा डेटा माइग्रेसनको समस्या देखिएको छ । नयाँ फोनमा डेटा माइग्रेट अर्थात सार्ने बेलामा फोन नै फ्रिज हुने अर्थात नचल्ने समस्या आएको प्रयोगकर्ताको गुनासो छ । सामान्यतया डेटा ट्रान्सफर गर्दा आईक्लाउड रिस्टार्ट गरिन्छ अथवा फोन चलाउँदा सुरुमै फोनबाट डेटा माइग्रेट अप्सन प्रयोग गर्न सकिन्छ । 

यो विषयमा एप्पलले भने फोन पाँच मिनेट वा सो भन्दा लामो समयदेखि नचलेको अवस्थामा फोन रिस्टार्ट गर्न सुझाएको छ । तर यसो गर्दा डेटामा कुनै प्रभाव पर्छ कि पर्दैन भन्ने विषय स्पष्ट छैन ।

पछिल्लो अध्यावधिक: असोज ९, २०७९ १३:१