close

कोरोना महामारीमा मोबाइल एपबाटै यसरी लिनुहोस् स्वास्थ्य सेवा

टेकपाना टेकपाना

जेठ ६, २०७८ १४:२४

कोरोना महामारीमा मोबाइल एपबाटै यसरी लिनुहोस् स्वास्थ्य सेवा

काठमाडौं । सूचना प्रविधिको विकाससँगै अनलाइनमै अनेक सेवा अनलाइनबाटै लिन सकिने भएको छ । ईकमर्स, विद्युतीय भुक्तानी, राइड सेयरिङ त्यसका केही उदाहरण हुन् ।

जसले तपाईं हाम्रो समय र पैसाको बचतसँगै दैनिकीलाई सहज पनि बनाइरहेको छ। कोरोना माहामारीको समयमा अनलाइन सेवाहरु अझ बढी प्रभावकारी बनिरहेका छन् ।

घरैमा बसेर सामान किन्नु वा बैंकिङ कारोबार गर्नु धेरैका लागि सामान्य भइसकेको छ। यो भिडियोमा भने आज हामी घरमै बसेर स्वास्थ्य सेवा लिन सकिने एप, हाम्रो डक्टरको विषयमा बताउँदैछौं ।

जसले अहिले कोरोना भाइरसबारे निःशुल्क परामर्श सेवा पनि उपलब्ध गराईरहेको छ। हाम्रो डक्टर अनलाइनबाटै स्वास्थ्य परामर्श लिन सकिने एउटा प्लेटफर्म हो। जसमा हजारौं डाक्टर, अस्पताल, क्लिनिक जोडिएका छन् भने एकसयभन्दा बढि डाक्टर अनलाइन परामर्शका लागि उपलब्ध छन् ।

आफ्नो स्वास्थ्य समस्या अनुसारको विज्ञ डाक्टर छानेर परामर्श र अपोइन्टमेन्ट लिन सकिने सुविधा हाम्रो डक्टरमा उपलब्ध छ। हाम्रो डक्टरको मोबाइल एप इन्स्टल गरेर वा वेबसाइटमार्फत तपाईंले यो सेवा लिन सक्नुहुन्छ । 

त्यसका लागि सबैभन्दा पहिला गुगल प्लेस्टोर वा आईओएस एपस्टोरमा गएर HAMRO DOCTOR सर्च गरी एप इन्स्टल गर्नुहोस् । एप खोल्नुहोस्  र सेवा लिनको लागि User Login मा थिच्नुहोस् ।

पहिलो पटक यो एप चलाउँदै हुनुहुन्छ भने तल Register As a User भन्ने विकल्पसँगै रहेको Start बटनमा थिच्नुहोस् । अब आफ्नो नाम र मोबाइल नम्बर राख्नुहोस् र Verify OTP मा क्लिक गरेर अघि बढ्नुहोस् ।

आफ्नो मोबाइलमा आएको ओटीपी कोड भेरीफाई गर्नुहोस् र पासवर्ड राख्नुहोस् । अब Login मा गएर मोबाइल नम्बर र पासर्वड राखेर एप भित्र प्रवेश गरेपछि  Online Consultation, Online Appointment र Find Near By जस्ता फिचर देख्न सकिन्छ।

जसलाई हामीले हाम्रो आवश्यकता अनुसार उपयोग गर्न सक्छौं । सुरुमै देखिने यो सर्च बटनमा ट्याब गरेर नजिकै रहेका अस्पताल, डक्टर, एम्बुलेन्स, क्लिनिक वा ‍औषधी पसलबारे जानकारी लिन सकिन्छ ।

जस्तो कि काठमाडौंमा रहेका दन्त अस्पतालहरु खोज्नु पर्‍यो भने Search बटनमा Dental लेखेर Hospital सँगै जिल्लामा काठमाडौं रोज्ने बित्तिकै दन्त अस्पतालको सूची देखिन्छ। 

Search भन्दा मुनि Consult with doctors वा त्यसभन्दा मूनी रहेको Online Consultation थिचेपछि Consult Now मा परामर्श शुल्कसहित स्वास्थ्य समस्याअनुसार विभिन्न विकल्प देख्न सकिन्छ ।

कोरोनाबारे परामर्श लिन सकिने गरी एपले महामारीको समयमा निःशुल्क सेवा उपलब्ध गराइरहेको छ। यसका लागि Corona Consultation मा थिच्नुहोस् र परामर्शका लागि डक्टर छान्नुहोस् ।

उपलब्ध भएका मध्ये एउटा डक्टर छानेर Next थिचेपछि तपाईंले डक्टरको प्रोफाइल देख्न सक्नुहुन्छ । फेरि Next थिचेपछि एपको निमय र शर्तहरु देखा पर्छन्। त्यसलाई स्वीकार गरेर Proceed मा थिचेपछि तपाईले डक्टरसँग च्याट वा अडियो भिडयो कल गरेर परामर्श लिन सक्नुहुन्छ। 

तपाईं इन्टरनेट सेवा नभएको स्थानमा हुनुहुन्छ भने पनि चिन्ता नलिनुहोस् । यस्तोमा तपाईंले हटलाइन नम्बर ९८०२३१५२२६, ९८०२३१५२२७ वा ९८०२३१५२२८ मा फोन गरेर समेत हाम्रो डक्टरको निःशुल्क कोरोना परामर्श लिन सक्नुहुन्छ ।

यसैगरी अन्य स्वास्थ्य समस्या छ भने समस्या अनुसारको विकल्प वा सिधै डक्टरको नाम सर्च गरेर अघिजस्तै प्रक्रिया अपनाउनुहोस् । परामर्श लिन चाहेको डक्टरको प्रोफाइलसँगै शुल्क पनि देखिन्छ। जब Proceed बटन थिच्नुहुन्छ, त्यसपछि परामर्श शुल्क तिर्नका लागि विभिन्न विकल्प देख्न सकिन्छ ।

त्यसमध्ये कुनै एउटा विकल्प छानौट गरेर तोकिएको शुल्क तिरेपछि डक्टरसँग टेक्स्ट, अडियो वा भिडियो च्याट गर्न मिल्ने च्याट बक्स खुल्छ।  एकपटक तिरेको पैसाले डक्टरसँग एक हप्तासम्म अनलाइनमार्फत स्वास्थ्य समस्याबारे परामर्श लिन सकिन्छ। 

एपमा रहेको अनलाइन अपोइन्मेन्ट यस्तो सेवा हो, जसबाट स्वास्थ्य समस्या अनुसार विभिन्न अस्पताल, क्लिनिक र ल्याबहरुमा सजिलै अपोइन्मेन्ट लिन सकिन्छ। अनलाइन अपोइन्मेन्टमा गएपछि स्वास्थ्य समस्या अनुसार विभिन्न अस्पताल, क्लिनिक र ल्याबहरु त्यहाँ देखा पर्छन्।

उदाहरणका लागि नर्भिक अस्पतालको कुनै डक्टरसँग अपोइन्मेन्ट लिनु परेमा Norvic  Hospital सर्च गरेर बुक एन अपोइन्मेन्टमा थिच्ने बित्तिकै डक्टहरुको सूची देखिन्छ। आफुलाई आवश्यक परेको डक्टर छानेर Next गरेपछि मिति र समय छान्नु पर्ने हुन्छ।

आफूलाई पायक पर्ने मिति र समय छानिसकेपछि आफ्नो स्वास्थ्य समस्याबारे लेखेर फेरी नेक्स्ट गरेपछि अपोइन्टमेन्ट शुल्क देखापर्छ। अनलाइनबाट त्यो शुल्क बुझाएपछि घरैमा बसेर अपोइन्मेन्ट पक्का गर्न सकिन्छ। धेरै भन्दा धेरै अस्पताल जोडिएको खण्डमा र अपोइन्टमेन्ट लिने अनलाइन प्रक्रिया अझै छोटो भए अझै राम्रो हुने देखिन्छ ।

दुरदराजमा रहेका बिरामीले पनि उत्कृष्ट डक्टरहरुसँग स्वास्थ्य परामर्श लिन यो एपले सम्भव बनाएको छ। साथै कोरोनाजस्तो महामारीको समयमा घरैमा बसेर स्वास्थ्य परामर्श लिने र दिने दुवैको लागि यो एप गतिलो माध्यम बन्न सक्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१