close

राजस्व छलीका स्मार्टफोन बेच्ने पसले पक्राउ

टेकपाना टेकपाना

चैत १९, २०८० १६:५८

राजस्व छलीका स्मार्टफोन बेच्ने पसले पक्राउ

काठमाडौं । राजस्व छलीका स्मार्टफोन बिक्री गर्ने एक पसल सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिका घर भई हाल ललितपुर बालकुमारी बस्दै आएका २२ वर्षीय सरोज योञ्जन रहेका छन् । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई ललितपुरको बालकुमारी एरियामा विभिन्न कम्पनीका मोबाइलहरू राजस्व छली तथा चोरी गरी वितरण भइरहेको भन्ने गोप्य सूचना प्राप्त भएको थियो । सो कार्यालयबाट खटिएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लको टोलीले शुक्रबार आरोपी योञ्जनको मोबाइल पसलमा छापा हानेको थियो । त्यस क्रममा विभिन्न ब्रान्डका ३५ थान फोनसहित योञ्जनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।   

त्यसैको आधारमा योञ्जनले सञ्चालन गरेको ट्रेन्डिङ मोबाइल हबमा छापा हान्दा १५ लाख रुपैयाँ बराबरकाे मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएका फोनमा तीन थान आईफोन, छ थान सामसङ, तीन थान मोटो एज, दुई थान रेड्मी, दुई थान रियलमी, एक थान नार्जो र एक थान ओप्पो रहेका छन् । 

त्यस्तै एक थान आईकू नाइन, पाँच थान भिभो, ११ थान वनप्लस समेत बरामद भएको प्रहरीको भनाइ छ । पक्राउ परेका योञ्जनलाई आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन, ललितपुरमा पठाइएको छ ।

पछिल्लो अध्यावधिक: चैत १९, २०८० १७:२