close

एनसीएचएल र नेप्सबीच मर्जरका लागि अन्तिम सम्झौता

टेकपाना टेकपाना

चैत २३, २०८० १६:४०

एनसीएचएल र नेप्सबीच मर्जरका लागि अन्तिम सम्झौता

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स) लाई प्राप्ति गर्ने सम्झौता भएको छ । बिहीबार बसेको संयुक्त मर्जर प्राप्ति समितिको बैठकबाट दुवै संस्थाबीच यस सम्बन्धी अन्तिम सम्झौता भएको हो ।

एनसीएचएल र नेप्स तर्फका संयोजक महेश शर्मा ढकाल र सञ्जीव श्रेष्ठले अन्तिम सम्झौता पत्र आदानप्रदान गरिएका थिए । उक्त बैठकमा दुवै कम्पनीका सञ्चालक समितिका अध्यक्षद्वय रामु पौडेल र विश्वम्भर न्यौपानेका साथै सम्पूर्ण सञ्चालक तथा प्रमुख कार्यकारी अधिकारी समेतको उपस्थिति रहेको थियो ।

उक्त अन्तिम सम्झौता पश्चात् दुवै संस्थाले छुट्टाछुट्टै विशेष साधारण सभा मार्फत आफ्ना शेयर धनीको समर्थन लिई नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृतिपछि कम्पनी रजिस्ट्रार कार्यालयको आवश्यक प्रक्रिया समपन्न गरी एकीकृत कारोबार थाल्नेछन् ।

बैंक तथा वित्तीय संस्थाले प्रवर्द्धन गरिरहेका दुवै संस्थाले नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त गरी विगत लामो समयदेखि आ–आफ्नो क्षेत्रमा काम गर्दै आइरहेका थिए । नेप्सले विभिन्न कार्ड स्किमको लागि कार्ड स्विचको पूर्वाधार विस्तार गर्दै बैंक तथा वित्तीय संस्थालाई सेवा दिदै आएको छ ।

त्यस्तै एनसीएचएलले कार्ड बाहेकका विभिन्न विद्युतीय भुक्तानी प्रणाली, पूर्वाधार तथा प्लेटफर्म मार्फत आफ्ना सदस्यलाई सेवा दिंदै आएको छ ।विद्युतीय भुक्तानी पूर्वाधारको विकास तथा त्यसको प्रयोग गरी डिजिटल सेवाको क्षेत्रलाई आधुनिकीकरण र अन्तरआबद्धता कायम गर्नुका साथै यस सम्बन्धी दूरगामी परियोजनाको सफल कार्यान्वयनका लागि राष्ट्रिय भुक्तानी स्विच लगायतका थप पूर्वाधार विस्तार गर्न यो साझेदारीले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्राप्ति प्रक्रियाको माध्यमबाट दुवै संस्थाका प्रणाली, पूर्वाधार र कारोबार एकीकृत गरी त्यसमा थप सुधार, प्रतिस्पर्धात्मक र प्रतिफलमूलक हुने गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय भुक्तानीको क्षेत्रमा आफ्नो उपस्थितिलाई सशक्त पार्न समेत यो प्राप्तिले उल्लेखनीय भूमिका खेल्ने छ । प्राप्ति पश्चात् कम्पनीको पूँजी थप वृद्धि हुनुको साथै पहुँच, अनुभव र क्षमताको आधारमा यस क्षेत्रमा नेपाल सरकार र नेपाल राष्ट्र बैंकले परिलक्षित गरेको दीर्घकालीन उद्देश्य प्राप्ति गर्न समेत उल्लेखनीय सहयोग पुग्ने अपेक्षा लिइएको छ ।

८ पुस पुस २०६५ मा स्थापना भएको एनसीएचएलले एनसीएचएल (ईसीसी), एनसीएचएल आईपीएस, आरपीएस, कनेक्ट आईपीएस, कर्पोरेट पे, कनेक्ट आरटीजीएस, नेसनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) र नेपाल पे क्यूआर जस्ता राष्ट्रिय भुक्तानी प्रणाली सञ्चालन गर्दै आएको छ । हाल एनसीएचएल एनपीएस अन्तर्गतको नेसनल कार्ड स्विच र नेपाल पे डोमेस्टिक कार्ड कार्यान्वयन गर्ने क्रममा रहेको छ । ५३ भन्दा बढी बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी अन्य संस्था एवं निकायले एनसीएचएलको प्रणाली प्रयोग गर्दै आएका छन् ।

१८ फागुन २०६९ मा स्थापित नेप्सले विभिन्न बैंक तथा वित्तीय संस्थाको लागि केन्द्रीकृत रूपमा कार्ड जारी गर्ने, स्वीकार गर्ने र कारोबार सम्पन्न गर्ने कार्य गर्दै आएको छ । नेप्सले ११ बैंक तथा वित्तीय संस्थाका १६०० भन्दा बढी एटीएम, ९,००० बढि पीओएस मार्फत भुक्तानी सेवा उपलब्ध गराउँदै आएको छ ।

पछिल्लो अध्यावधिक: चैत २३, २०८० १६:४०