close

एप्पलले किन अनलक गर्न मानेन जेलमा रहेका अरविन्द केजरिवालको आईफोन ?

टेकपाना टेकपाना

चैत २५, २०८० १३:२३

एप्पलले किन अनलक गर्न मानेन जेलमा रहेका अरविन्द केजरिवालको आईफोन ?

काठमाडौं । भारतको आम आदमी पार्टीका अध्यक्ष तथा दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरिवालको आईफोन अहिले निकै चर्चाको विषय बनेको छ । मदिरा नीति घोटाला मामलामा बिहीबार पक्राउ परेका केजरिवालसँग त्यहाँकाे इन्फोर्समेन्ट डाइरेक्टरेट (ईडी)ले आईफोनकाे पासवर्ड मागेको थियो । तर, उनले पासवर्ड दिन अस्वीकार गरे । 

विभिन्न रिपोर्टका अनुसार केजरिवालको आईफोन अनलक गर्न ईडीका अनुसन्धानकर्ताले बारम्बार एप्पललाई सम्पर्क गरेका थिए । तर, एप्पलले आफ्ना प्रयोगकर्ताको गोपनीयता सुरक्षित राख्ने भन्दै अनलक गर्न र भारतीय सरकारलाई सो फोनमा पहुँच दिन अस्वीकार गरेको छ । 

यसो त एप्पलको नीतिमै पनि आईओएस डिभाइसको पासकोड उपलब्ध नगराउने विषय उल्लेख छ । कम्पनीले कानूनी प्रक्रियाका लागि सरकार वा कानूनी निकायलाई अमेरिकामा पासकोड उपलब्ध गराउने भएपनि अमेरिकाबाहिर कम्पनीले प्रयोगकर्ताको पासकोड आफ्नो पहुँचमा नहुने दाबी गरेको छ ।

सरकारको अनुरोधमा के छ एप्पलको नीति ?

एप्पलले आफ्नो 'लिगल प्रोसेस गाइडलाइन्स'मा आफूले कानूनी रूपमा मान्य सरकारी निकाय वा कानून प्रवर्तन सूचना अनुरोधहरूको सेवालाई सरकार र कानून प्रवर्तन एजेन्सीहरूबाट ईमेलमार्फत स्वीकार गर्ने गरेको उल्लेख गरेको छ । तर, यस्तो अनुरोध गर्ने सरकार वा कानून प्रवर्तन एजेन्सीले आधिकारिक ईमेल ठेगानाबाट अनुरोध गर्नुपर्ने हुन्छ । 

एप्पलले प्रत्येक अनुरोधको लागि वैध आधार सुनिश्चित गर्न र कानूनी रूपमा मान्य अनुरोधको पालना गर्न सबै कानूनी पक्षलाई ध्यानपूर्वक समीक्षा गर्ने बताएको छ । यदि कुनै वैध कानूनी आधार छैन वा अनुरोध अस्पष्ट, अनुपयुक्त वा ओभरब्रोड छ भनी निर्धारण भयो भने एप्पलले सरकारको अनुरोधलाई आपत्ति जनाउँदै अस्वीकार गर्छ ।

कानूनी निकायसँग एप्पलको लफडा

एप्पलले कुनै देशको अनुसन्धान एजेन्सीको अनुरोधमा उपकरण अनलक गर्न अस्वीकार गरेको यो पहिलो पटक होइन । सन् २०१६ मा एक संघीय न्यायाधीशले एप्पललाई २०१५ मा भएको सान बर्नार्डिनो आक्रमणका दुई सन्दिग्ध आतङ्कवादीहरूको आईफोन अनलक गरी मद्दत गर्न आग्रह गरेका थिए । 

एफबीआईले सुरक्षा सुविधाहरू बाइपास गर्न प्राविधिक सहयोग अनुरोध गरेपनि एप्पले उक्त संस्थालाई सहयोग गर्न अस्वीकार गर्‍यो । अमेरिकी सरकारले पछि तेस्रो पक्षको सहयोगमा आईफोन अनलक गर्न सफल भएको दाबी गरेको थियो ।

त्यस्तै, सन् २०२० मा, पेन्साकोला नौसेना एयर स्टेसनमा तीन अमेरिकीहरूलाई गोली हानेर हत्या भएपछि साउदी वायुसेनाका सेकेन्ड लेफ्टिनेन्ट मोहम्मद सइद अलशमरानीको डिभाइस अनलक गर्न एप्पलले अस्वीकार गरेको थियो ।

अमेरिकी अधिकारीहरूले यसलाई आतङ्कवादको कार्य भनेका थिए भने एफबीआईले एप्पललाई डिभाइस अनलक गर्न र तिनीहरूको अनुसन्धानमा सहयोग गर्न डेटा शेयर गर्न आग्रह गरेको थियो ।

तथापि, एप्पलले अनुसन्धान अधिकारीहरूलाई आईक्लाउड ब्याकअप, अकाउन्टको जानकारी, र अन्य अकाउन्टबाट प्राप्त डेटा उक्त संस्थालाई उपलब्ध गराएको थियो । 

के एप्पलले मृतक परिवारको सदस्यको एप्पल अकाउन्टमा पहुँच दिन्छ ?

प्रयोगकर्ताको मृत्युको घटनामा एप्पल उनीहरूका प्रियजनलाई उनीहरूको एप्पल आईडी र भण्डारण गरिएको डाटामा पहुँच अनुरोध गर्न वा मेटाउने विकल्प दिन्छ । 

एप्पलका अनुसार यसले मृतकका प्रियजनको मुख्य एप्पल आईडीबाट उक्त अकाउन्ट हटाउन मद्दत गर्छ । आईफोन, आईपोड्स, र आईप्याड्स अनलक गरेर सबै डेटामा पहुँच दिनेभन्दा त्यहाँको सबै डेटा हटाएर नयाँ अकाउन्ट साइनअप गराउन एप्पल मद्दत गर्छ ।

सुरक्षाका लागि मृतक व्यक्तिको अकाउन्टमा सहयोग गर्नका लागि एप्पललाई केही कानूनी कागजातहरू चाहिन्छ र त्यसलाई प्रमाणित गर्छ ।

पछिल्लो अध्यावधिक: चैत २५, २०८० १३:३५