काठमाडौं । भिडिओ तयार पार्न गुगलले एआईमा आधारित नयाँ एप सार्वजनिक गरेको छ । ओपनएआईले सोरा ल्याएकाे दुई महिना नबित्दै गुगलले वर्कस्पेसमा गुगल भिड्स (Google Vids) नामक नयाँ एप थपेको हो ।
गुगल वर्कस्पेसको ब्लग पोस्ट अनुसार यो एप वर्कस्पेसको पछिल्लो एप हो । यसबाट प्रयोगकर्ताले गुगलको एआई टुल जेमिनाई प्रयोग गरी भिडिओ बनाउन सक्नेछन् ।
गुगल भिड्समा प्रयोगकर्ताले दिइएको टेम्प्लेट प्रयोग गरी अथवा आफ्नै नयाँ बनाई भिडिओ तयार पार्न सक्छन् । यस टुलले ओपनएआईको सोरालाई टक्कर दिने बताइएको छ । यद्यपि यो टुल गुगल वर्कस्पेसका प्रयोगकर्ताले मात्र चलाउन पाउने छन् ।
यस एपबाट तयार हुने भिडिओलाई समेत प्रयोगकर्ताले आफू अनुकूल सम्पादन समेत गर्न सक्छन् । जसअन्तर्गत भोइस ओभरका लागि आफ्नै आवाज राख्ने अथवा गुगलकै प्रिसेटमा भएको आवाज छान्न सकिन्छ ।
गुगलका अनुसार यो नयाँ एपले भिडिओ, राइटिङ, प्रोडक्सन र एडिटिङका लागि एसिस्टेन्ट सरह काम गर्छ । एपको सरल इन्टरफेस भएकाले सजिलै काम गर्न सकिने गुगलको भनाइ छ । त्यस्तै डक्स, शिट जस्तै यसमा बनाइने फाइल/फोल्डरहरूलाई पनि अन्य व्यक्तिसँग शेयर गरेर सँगै काम गर्न सकिने छ ।
यस एप व्यावसायिक भिडिओ एडिटिङ टुल जस्तै काम नभएपनि सामान्य भिडिओका लागि उपयोगी हुनेछ । अहिले उद्घोष मात्रै गरिएको यो टुल आउँदो जुन महिनादेखि वर्कस्पेसमा उपलब्ध हुने छ ।