close

‘फाइभजीलाई ६० अर्ब लगानी चाहिन्छ, २ अर्ब नाफा गर्ने नेपालका टेलिकम कम्पनीले कहाँबाट ल्याउने ?’

टेकपाना टेकपाना

चैत २९, २०८० ९:३९

‘फाइभजीलाई ६० अर्ब लगानी चाहिन्छ, २ अर्ब नाफा गर्ने नेपालका टेलिकम कम्पनीले कहाँबाट ल्याउने ?’

काठमाडौं । एनसेलका लिगल तथा रेगुलेटरी अफिसर विशाल उपाध्यायले फाइभजी प्रविधि विस्तारका लागि अरबौं लगानी चाहिने भन्दै नेपाली बजार त्यसका लागि परिपक्व नभइसकेको बताएका छन् । मङ्गलबार राजधानीमा प्रविधि पत्रकार मञ्चले आयोजना गरेको ‘नेपालमा दूरसञ्चार क्षेत्रका अवसर र चुनौती’ विषयक कार्यक्रममा बोल्दै उपाध्यायले दूरसञ्चार बजार परिपक्क नहुँदा आम्दानी न्यून हुने धारणा राखेका हुन् । 

फाइभजीलाई ६० अर्ब लगानी चाहिने भन्दै उनले दुई अर्बमात्रै नाफा गर्ने नेपालका टेलिकम कम्पनीहरूले स्रोत जुटाउन गाह्रो हुने भनाइ राखे । यद्यपि विश्वव्यापी रूपमा फाइभजी प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा नेपाल पनि त्यसतर्फ अग्रसर हुनुपर्नेमा उनले जाेड दिए ।

“हामी पनि फाइभजी ट्रायल गर्न दिनुस् भनेर माग गरिरहेका छौं,” उपाध्यायले भने, “नेपाल टेलिकमले ट्रायल गरिरहेको छ, त्यसले तपाईंहरूलाई पुग्दैन र भन्ने प्रश्न आउला । हामी जति फोरजीबाट फाइभजी, फाइभजीबाट सिक्सजीमा जान्छौं, त्यति नै धेरै यो ह्यान्डसेट मेनुफ्याक्चररसँग हाम्रो डिपेन्डेन्सी हुन्छ । हामीले टेस्टिङ गर्न पाएको खण्डमा हाम्रोमा कसरी रोलआउट गर्ने, कुन कुरा राम्रो हुन्थ्यो भन्ने कुराको अनुभव हुन्छ । त्यसको आधारमा हामी अगाडि बढ्ने थियाैं ।”

उनले अगाडि भने, “फाइभजी चाहिने हो कि नचाहिने हो भन्ने हकमा टेक्नोलोजी अगाडि बढेको बढ्यै छ । हामीले त्यसलाई रोक्न सक्दैनौं । सबै कुरा भोलिको दिनमा हाम्रो लाइफस्टाइल नै सेलेक्टेड लाइफस्टाइल हुन्छ । कनेक्टेड इकोसिस्टमको अवधारणा, चाहे कनेक्टेड कार होस्, चाहे स्मार्ट सिटी होस् जे कुरा पनि हुन्छन् ती सबै फाइभजी टेक्नोलोजीलाई लिएर बनाइएका हुन्छन् । भनेपछि हामी त्यो दिशामा जानुपर्छ । आज जे देखिएको छ त्यो दिगो छैन, त्यो परिवर्तन गर्नै पर्छ ।”

आजकै हिसाबले प्रविधि क्षेत्रमा अगाडि बढ्न खोजियो भने त्यो अपूर्ण हुने भन्दै फाइभजी इकोसिस्टम विस्तारमा जोड दिनुपर्ने उनको धारणा छ । इकोसिस्टमका सन्दर्भमा सबैभन्दा पहिले यस प्रविधिलाई आत्मसात् गर्ने उद्योग जस्तै गेमिङ तथा इन्टरटेन्मेन्टलाई विस्तार गर्नुपर्ने उनको भनाइ छ ।

“आईपीएल र फिफा वर्ल्डकपमा पनि फाइभजी र आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग भएको छ । त्यसले युजर एक्सपिरियन्सलाई बढावा दिएको छ । तर, आजको आर्थिक अवस्थामा नेपालमा फाइभजी आत्मसात् गर्नु एकदमै अप्ठ्यारो छ,” उनले भने ।

फाइभजी परीक्षणका लागि अनुमति मागेको भए पनि नेपाल दूरसञ्चार प्राधिकरणले अनुमति नदिंदा यस क्षेत्रमा एनसेल पछि परेको उनकाे तर्क छ । “हामीले पनि ट्रायलका लागि अप्लाई गरेका थियौं । नत्र किन ट्रायलका लागि अप्लाइ गर्थ्यौं । त्यसका लागि हामीले केकस्ता पूर्वाधार बनाउनुपर्छ, के गर्नुपर्छ, युजरको एक्सपिरियन्स के कस्तो रहन्छ भन्ने कुरा हामीले पनि त थाहा पाउनु पर्‍यो । त्यसपछि बल्ल बजारमा जानुपर्छ । हामीले आधारभूत कुरा थाहा पाएर बजार जान सक्नुपर्छ । हामी गर्दैनौं भनेका छैनौं, गर्ने अवसर मिलाइदिनुस् भनेका छौं,” उनले थपे ।  

(तस्वीरमाः बायाँतर्फ नेपाल टेलिकमका वरिष्ठ इन्जिनियर मधुसुदन दाहाल र दायाँतर्फ एनसेलका लिगल तथा रेगुलेटरी अफिसर विशाल उपाध्याय)

यता सरकारी स्वामित्वको नेपाल टेलिकमले भने परीक्षण अनुमति पाएर देशका विभिन्न सहरमा परीक्षण सम्पन्न गरिसकेको छ । कार्यक्रममा बोल्दै नेपाल टेलिकमका सिनियर इन्जिनियर मधुसुदन दाहालले नेपाल टेलिकमले विभिन्न चरणमा परीक्षणका काम सम्पन्न भइसकेको बताए ।

“डिजिटल इकोसिस्टम बनी नसकेकको हो कि फाइभजी सुरु गर्न,” दाहालले भने, “बाहिरतिर फाइभजीमा आधारित एप्लिकेसन एकदमै धेरै भएको र नेपालमा त्यस्ता एप्लिकेसन बन्दै छन् । हामीले अब विस्तारै फाइभजी सेवा सञ्चालन गर्नुपर्छ ।” 

उनले अगाडि भने, “नेपाल टेलिकमले फोरजी सञ्चालनमा ल्याइरहेको छ । हामीले फाइभजी पनि परीक्षण गर्यौं । फाइभजी टेस्ट गर्दा हामीले फोरजीकै कोर इक्युपमेन्ट प्रयोग गरेर फाइभजी टेस्ट गरेका हौं ।” 

फाइभजी प्रविधिमा इक्युपमेन्ट प्रयोग गर्ने सन्दर्भमा दुई ओटा भर्सन एसए  (स्ट्यान्डएलोन) र एनएसए (नन-स्ट्यान्डएलोन) भएको भन्दै टेलिकमले फोरजी इक्युपमेन्ट प्रयोग गरी फाइभजीको एनएसए भर्सन परीक्षण गरेको सुनाए ।

“अहिले हामीले परीक्षण गरेको कुरा एनएसए नै हो । अब चाहिं कमर्सियल गरेर एसबाट गर्ने कि एनएसएबाट गर्ने भनेर हामी आफैं अहिले छलफलमा गइरहेका छौं,” उनले अगाडि भने, “हामीले ग्लोबल टेक पनि हेर्नुपर्छ । अहिले फाइभजी आएको छ । तीन-चार वर्ष भइसक्यो । यसमा एनएसएबाट एसएतर्फ शिफ्ट भइरहेको हो कि ? लगायतका विभिन्न आधार तयार बनाएर छलफल गर्छौं । र, हाम्रोभन्दा माथिल्लो निकायसँग फलफल गरेर यसलाई अगाडि बढाउँछौं ।” 

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारी

नियामक नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले फाइभजीको चर्चा चलिरहँदा फोरजीकै उपयोग राम्रोसँग भएको छ कि छैन अध्ययन गर्नुपर्ने बताए ।

“फोरजी नेटवर्क त हामीले ल्यायौं । र, आजको दिनमा नेपाल टेलिकम र एनसेलले लगानी गरेको क्यापासिटी कति थियो र यसको युटिलाइजेसन कुन लेभलमा भएको छ । यसको अध्ययन गर्न जरुरी छ,” अध्यक्ष भण्डारीले भने, “फाइभजीमा हाम्रो देश जान सकेन भनिराखेका छौं । फाइभजी हामीले अवसरका रूपमा पनि लिरहेकाछौं । तर, राज्यले लगाउने पैसा त्यसलको रिटर्न, इन्भेस्ट सेक्युरिटी के हो भन्ने विषयको विस्तृत अध्ययन हुनुपर्छ । आजको दिनमा फाइभजीका लागि डिजिटल इकोसिस्टम के छ भनेर रिभ्यु गर्नुपर्छ ।” 

भण्डारीका अनुसार नेपालमा फाइभजीको हेन्डसेटको म्याचुरिटी करिब १० प्रतिशत देखिन्छ । उनले देशमा इन्टरनेट अफ थिङ्ग्स (आईओटी) डिभाइस कति छन्, अनि ती डिभासइबाट फाइभजी डेटाका लागि मात्र लिइराखेको हो कि, आईओटी वा अटोमेसनका लागि प्रयोग हुन्छन् भन्ने प्रष्ट हुनुपर्ने बताए ।  

भण्डारीका अनुसार अहिले नेपालमा लगभग १६ लाख जति फाइभजी ह्यान्डसेट डिभाइस छन् । यो २० प्रतिशत मात्र पुर्‍याउनलाई १५३ अर्बको मोबाइल ह्यान्डसेट मात्र किन्नुपर्ने उनले सुनाए । उनले भने, “हामीले ११० अर्ब खर्च गरेर यसबाट रिटर्नको बारेमा कसरी इन्स्योर गर्छौं हाम्रो इन्भेस्टमेन्ट ?” 

त्यस्तै देशमा कुन बेला फाइभजी ल्याउने भन्नेबारे सही समय पहिचानका लागि छलफल हुनुपर्ने उनको धारणा छ ।

पछिल्लो अध्यावधिक: चैत २९, २०८० १०:२१