close

नेपाल भित्रियो गुगलको आधिकारिक प्रतिनिधि मिडियम, अब के-केमा हुन्छ सजिलो ?

टेकपाना टेकपाना

चैत २९, २०८० १४:२१

नेपाल भित्रियो गुगलको आधिकारिक प्रतिनिधि मिडियम, अब के-केमा हुन्छ सजिलो ?

काठमाडौं । गुगलको आधिकारिक बिक्रेता मिडियम ग्रुप नेपाल भित्रिएको छ । अलेफ ग्रुप अन्तर्गतको मिडियम बाई अलेफ कम्पनी गुगलको आधिकारिक बिक्रेताको रूपमा प्रत्यक्ष विदेशी लगानी सहित नेपाली बजारमा आएको हो ।

यससँगै अब मिडियमले गुगलको आधिकारिक बिक्री प्रतिनिधिका रूपमा स्थानीय विज्ञापन एजेन्सी र विज्ञापनदातालाई गुगल एडको विज्ञापनमा सहयोग गर्नेछ । जसमा विशेषगरी सर्च इन्जिन, युट्युब र डिस्प्ले लगायत सम्बन्धी सेवा समावेश छन् । लक्षित उपभोक्तामा विज्ञापनको पहुँच बढाउनका लागि प्रभावकारी अभियान सञ्चालन गर्ने कार्य समेत मिडियमले गर्नेछ ।

गुगलमा प्रयोगकर्ताले प्रत्येक दिन अर्बौं पटक विभिन्न जानकारीहरू खोजी गर्छन । गुगल एडमार्फत विज्ञापनदाताले प्रयोगकर्ताको रुचि र आवश्यकता अनुसार आफ्ना सूचना, उत्पादन र सेवाको पहुँच स्थापित गर्न सक्छन् । यसै कार्यमा कम्पनीले सहयोगी भूमिका खेल्ने बताइएको छ ।

विश्वव्यापी रूपमा गुगल एड टुल कुनै पनि व्यवसायको प्रवर्द्धन गर्ने, उत्पादनलाई लक्षित ग्राहकसम्म पुर्‍याउने र बजारीकरणको सबैभन्दा प्रभावकारी माध्यम बनेको छ । ग्राहकहरूले गुगल एडको सुविधामार्फत विज्ञापनको वास्तविक नतिजा मापन गर्न सक्छन् ।  

लगानी अनुसार वेबसाइटमा कति पटक क्लिक भयो वा सो विज्ञापनमार्फत कति ओटा फोन कल आए भन्नेसम्मको मापनको सुविधा विज्ञापनदाताले पाउँछन् । आफ्नो आवश्यकताअनुसार मासिक रूपमा कतिसम्म गुगल एडमा खर्च गर्ने भन्ने निर्णय लिन पनि ग्राहकलाई यसप्रकारको नतिजा सहयोगी हुन्छ ।

मिडियम बाई अलेफले बङ्गलादेश, मोरक्को र इराकमा पनि गुगल एडको आधिकारिक बिक्रेताको रूपमा काम गरिरहेको छ । मिडियम बाई अलेफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अल्वर्टो अल्भारेजले गुगल एड एसिया प्यासिफिक क्षेत्रमा विकसित हुँदै गरेका व्यवसायका लागि नयाँ अस्त्र भएको बताएका छन् ।

"यो अस्त्र मार्फत विज्ञापनदाताले गुगल सर्च टुल प्रयोग गरी विभिन्न प्रकारका डेटा सङ्कलन गर्न, उपभोक्ता लक्षित विज्ञापन गर्न तथा विभिन्न माध्यम जस्तै युट्युब, गुगल म्याप र सर्च टुलमार्फत प्रयोगकर्तासम्म पुग्न र उनीहरूलाई त्यस प्रक्रियामा संलग्न गराउन सक्नेछन्," उनले भनेका छन्, "हामी आगामी दिनमा उपभोक्तालाई वास्तविक नतिजा उपलब्ध गराउँदै गुगल एडसँगको सम्बन्धलाई अझ बलियो बनाउन चाहन्छौँ ।”

गुगल सर्च इन्जिन अन्तर्गतको च्यानल सेल्सका पार्टनर पर्फमेन्स प्रमुख तारा युनले मिडियम ग्रुप बाई अलेफसँगको सहकार्यका लागि आफूहरू उत्साहित भएको बताए । "यस सहकार्यमार्फत हामीले कम्बोडिया र नेपालमा हाम्रो उपस्थिति बढाउने छौं र हामी डिजिटल इकोसिस्टमका क्षेत्रमा कैयन् अवसरहरूमा मिलेर काम गर्न सक्छौं,” उनले भनेका छन् ।

मेडियम ग्रुप सन् एलडीएम होल्डिङ अन्तर्गत २०२१ मा स्थापित कम्पनी हो । यो कम्पनीले विज्ञापनदातालाई अनुभवी स्थानीय संस्थामार्फत ल्याटिन अमेरिकामा गुगल एड अकाउन्ट र अभियानलाई गुगलका सबै प्लेटफर्ममा उपलब्ध गराउने काम गरेको थियो । मिडियम ग्रुपले यतिबेला एसिया प्यासिफिकसँगै मध्यपूर्व र उत्तर अमेरिकाका लागि समेत गुगलको आधसकारिक प्रतिनिधिको रूपमा काम गरिरहेको छ । हाल यो कम्पनीले बङ्गलादेश, मोरक्को र इराकमा गुगलको आधिकारिक बिक्री प्रतिनिधिका रूपमा त्यहाँको आर्थिक विकासमा मद्दत गरिरहेको छ ।

अलेफ ग्लोबल डिजिटल एक्पर्टका लागि विविध किसिमको सञ्जाल भएको प्रविधिमा आधारित कम्पनी हो । जसले डिजिटल इकोसिस्टमको क्षेत्रमा काम गर्दै आएको छ । कम्पनीले विश्वका १३० भन्दा बढी देशमा गुगल, मेटा, माइक्रोसप्ट, पिनट्रेस्ट, रेडिट, स्न्याप, स्पोटिफाई, टिकटक, ट्विच, उबर, एक्स जस्ता ४५ भन्दा बढी डिटिजल प्लेटफर्ममार्फत विज्ञापनदाता र ग्राहकलाई एकआपसमा जोड्ने काम गरिरहेको छ । कम्पनीले उपयुक्त प्रविधिको विकास र आपूर्ति गरी स्थानीय स्तरमा देखिएका समस्या समाधानमा सहयोग गर्ने, स्थानीय उद्योगलाई प्लेटफर्म उपलब्ध गराउने, निःशुल्क डिजिटल विज्ञापन शिक्षा दिने जस्ता अभियान समेत चलाउने गरेको छ ।

कम्पनीले हालै आफ्नो नयाँ प्रोडक्ट अलेफ पेमेन्टमार्फत अन्तरदेशीय विद्युतीय भुक्तानी क्षेत्रमा काम गर्न समेत थालेको छ । सन् २००५ मा स्थापना भएको अलेफको नेतृत्व संस्थापक सीईओ ग्यास्टोन तरोन्ताले गरिरहेका छन् । हाल यो कम्पनीका ६५ भन्दा बढी कार्यालयमा एक हजार पाँच सयभन्दा बढी कर्मचारी कार्यरत रहेको बताइएको छ ।

पछिल्लो अध्यावधिक: चैत २९, २०८० १४:२१