close

तपाईंले थाहा पाउनै पर्ने गुगल मेसेजका १० फिचर

टेकपाना टेकपाना

बैशाख ४, २०८१ १३:४०

तपाईंले थाहा पाउनै पर्ने गुगल मेसेजका १० फिचर

काठमाडौं । अधिकांश एन्ड्रोइड फोनमा गुगल मेसेज डिफल्ट एसएमएस तथा मेसेजिङ एपका रूपमा रहेको छ । यदि डिफल्ट रूपमा फोनमा यो एप उपलब्ध छैन भने प्ले स्टोरबाट सजिलै डाउनलोड गर्न सकिन्छ । यसको सरल युजर इन्टफेस मात्र छैन, मेसेजिङका लागि आवश्यक पर्ने विभिन्न आकर्षक र राम्रा फिचर पनि छन् । 

धेरैले मेसेजका लागि फेसबुक मेसेन्जर, ह्वाट्सएप, भाइबर, डिस्कर्ड लगायतलाई छानिरहेका हुन्छन् । सायद डिफल्टका रूपमा एसएमएस भएर हुन सक्छ, गुगल मेसेज धेरैका लागि उपयोगी हुन सक्छ । आज हामी गुगल मेसेजका त्यस्तै आकर्षक फिचरबारे जानकारी दिने छौं: 

१. आरसीएस मेसेजिङ 

गुगल मेसेजमा आरसीएस च्याट इनेबल गर्न प्रोफाइलमा ट्याप गर्नुहोस् । त्यसपछि मेसेज सेटिङमा जानुहोस् । अब जेनेरेलमा ट्याप गरेर सबैभन्दा माथि भएको आरसीएस च्याट्समा ट्याप गर्नुहोस् ।

यसरी तपाईंले यो मोड अन गरेपछि डेटाबाटै एसएमएस पठाउन सक्नुहुन्छ । यसो गर्दा क्यारेक्टर र एमएमएसको आकारको सीमा हट्छ । यसबाहेक रिड रिसिप्ट, टाइपिङ इन्डिकेटर लगायतका अन्य फिचर पनि छन् । 

२. इन्ड-टु-इन्ड इन्क्रिप्सन

गुगल मेसेजमा आरसीएस आएपछि उपलब्ध भएको आकर्षक फिचर हो, इन्ड-टु-इन्ड इन्क्रिप्सन । यदि तपाईं र मेसेज पाउने व्यक्तिकोमा गुगल मेसेजिङ एप र आरसीएस इनेबल भएको छ भने उक्त च्याट इन्ड-टु-इन्ड इन्क्रिप्सन हुन्छ ।

तपाईंले कुनै पनि च्याट इन्क्रिप्टेड भए/नभएको हेर्न सक्नुहुन्छ । यसका लागि कुनै पनि च्याट खोल्नुहोस् । माथि दायाँ भागमा भएको तीन ओटा डटमा ट्याप गरेर 'डिटेल्स'मा ट्याप गर्नुहोस् ।

त्यहाँ तपाईंले इन्ड-टु-इन्ड इन्क्रिप्सन सेक्सन देख्न सक्नुहुन्छ । यदि स्टाटस अन भएको छ भने तपाईंहरूको च्याट इन्क्रिप्टेड भएको छ । 

३. च्याट बबल 

मेटाले फेसबुक मेसेन्जर मार्फत धेरै पहिले च्याट बबल उपलब्ध गराएको थियो । अहिले गुगल मेसेजमा पनि यो फिचर उपलब्ध छ । यो फिचर इनेबल गर्न मेसेज सेटिङ हुँदै बबल्समा जानुहोस् ।

त्यहाँ सबै मेसेजमा लागु गर्ने, निश्चित नम्बरमा लागु गर्ने अथवा कुनैमा पनि नगर्ने भन्ने विकल्प आउँछ । यो फिचर अन भएपछि मेसेन्जरको जस्तै च्याट हेड देखिन्छ । जसलाई केही समय प्रेस गरेर डिलिट गर्न सकिन्छ । धेरै जनासँग मेसेज गरिरहनु हुन्छ भने यो फिचर उपयोगी हुन सक्छ ।

४. फुल रेजाेलुसनमा फोटो पठाउन सकिने

डिफल्ट रूपमा गुगल मेसेजले पठाउने फोटोको गुणस्तर घट्छ । त्यसो गर्दा पठाउने समय कम लाग्ने भए पनि गुणस्तर कम हुन्छ । यदि तपाईं फोटोको गुणस्तर नघटाई पठाउन चाहनुहुन्छ भने तपाईंका लागि यो पनि विकल्प छ । यसका लागि पनि मेसेज सेटिङ हुँदै 'सेन्ड फोटोज् फास्टर'लाई अनटिक गर्नुहोस् ।

यदि गरेपछि फोटो पाउन केही समय लागे पनि पाउने मान्छेले फुल-साइज फोटो नै पाउँछन् । यदि फोटो पठाउँदा लाग्ने समय ढिलो भएको भए तपाईंले पुन: यसलाई हटाउन सक्नुहुन्छ । यसका लागि 'सेन्ड फोटोज फास्टर' अन गर्न सक्नुहुन्छ ।

५. सजेसन फिचरको प्रयोग

प्राय: गुगलले आफ्नो एपलाई स्मार्ट बनाउन निकै प्रयास गरिरहेको हुन्छ । यसको एउटा उदाहरण सजेसन फिचर हो । यसका लागि मेसेज सेटिङ हुँदै 'सजेसन्स' मा जानुहोस् ।

त्यहाँ  स्मार्ट रिप्लाई, सजेस्टेड एक्सन, सजेस्टेड स्टिकर, म्याजिक कम्पोज लगायतका विकल्प देखिन्छन् । यो फिचर अन गरेपछि तपाईंले पाएको मेसेजका आधारमा सजेस्टेड मेसेज देख्न सक्नुहुन्छ ।

६. स्वाइप एक्सन 

गुगल मेसेजमा स्वाइप एक्सनले पनि निकै राम्रो अनुभव दिन्छ । तपाईंले स्वाइप गरेर मेसेजलाई आर्काइभ तथा डिलिट गर्न सक्नुहुन्छ । त्यस्तै कुनै पनि मेसजलाई रिड तथा अनरिड पनि गर्न सक्नुहुन्छ ।

डिफल्टका रूपमा भने स्वाइप एक्सनमा आर्काइभ रहेको हुन्छ । यसका लागि मेसेज सेटिङ हुँदै स्वाइप एक्सनमा जानुहोस् । त्यहाँ मेसेजलाई दायाँ स्वाइप गर्दा के गर्ने र बायाँ स्वाइप गर्दा के गर्ने भनेर सेटिङ गर्न मिल्छ । 

 

७. वेबमा गुगल मेसेज 

अन्य मेसेजिङ एप जस्तै गुगल मेसेजलाई पनि आफ्नो कम्प्युटरबाट चलाउन सकिन्छ । अर्थात् तपाईंले कम्प्युटरबाट नि:शुल्क फोन नम्बरमा मेसेज पठाउन सक्नुहुन्छ । यसका लागि निम्न तरिका अपनाउनुहोस्:

-ल्यापटप वा डेस्कटपमा गुगल मेसेजको वेबसाइटमा जानुहोस्

-मेसेज एपमा भएको तीन ओटा विकल्पमा थिचेर ‘डिभाइस पेयरिङ’मा जानुहोस् ।

-त्यसपछि फोनबाट ल्यापट वा डेस्कटपमा देखिएको क्यूआर स्क्यान गर्नुहोस् ।

-यति गर्न साथै तपाईंको गुगल मेसेज एप वेबबाट चलाउन सकिन्छ ।

 

८. मेसेज पठाउन सेड्युल गर्ने 

गुगलको यस मेसेजिङ एपमा सेड्युल टेक्स्ट डिफल्टका रूपमा रहेको छ । यसरी सेड्युल गर्नु पनि सजिलो छ । यसका लागि त्यसरी मेसेज पठाउन लागेको नम्बर खोलेर मेसेज टाइप गर्नुहोस् । अनि सेन्ड बटनमा अलि लामो समय प्रेस गर्नुहोस् ।

त्यसपछि त्यहाँ 'सेड्युल्ड सेन्ड'को विकल्प देखिन्छ । त्यसपछि यहाँ चार ओटा विकल्प देखिन्छ । ती मध्ये कुनै एक छानेर तपाईंले मेसेज सेड्युल गर्न सक्नुहुन्छ ।  त्यसरी सेड्युल गरिएका मेसेज इटालिक ढाँचामा देखिन्छ ।

 

९. महत्त्वपूर्ण मेसेज सेभ गर्ने

महत्त्वपूर्ण मेसेजलाई गुगल मेसेजमा सेभ गर्न सकिन्छ । यसका लागि त्यस्ता मेसेज कहाँ जानुहोस् । अनि केही समय प्रेस गर्नुहोस् । त्यसपछि त्यहाँ विभिन्न विकल्प देखिन्छन् ।

ती मध्ये माथिल्लो भागमा भएको स्टार आइकनमा ट्याप गर्नुहोस् । त्यहाँ ट्याप गर्ना साथ उक्त मेसेजमा स्टारको चिन्ह देखिन्छ ।

यसरी स्टार गरेका सबै मेसेज हेर्न एप खोल्नासाथ देखिने तीन ओटा डटमा ट्याप गर्नुहोस् । त्यसपछि त्यसपछि त्यहाँ 'starred' विकल्प देखिन्छ । त्यहाँ ट्याप गरे अहिलेसम्म तपाईंले 'starred' गरेका मेसेज देखिन्छ । अब कुनै पनि मेसेजबाट स्टार हटाउन पहिले झैं केही समय प्रेस गरेर पुन: स्टारमा ट्याप गर्नुहोस् ।

१०. कुराकानी पिन गर्ने 

गुगल मेसेजमा कुनै मेसेज नभएर पूरै कुराकानी अर्थात् च्याट नै गर्न सकिन्छ । यसरी पिन गरिएका कुनै पनि च्याट माथिल्लो भागमा देखिन्छ । हाललाई १० ओटा च्याटलाई एकै पटक पिन गर्न सकिन्छ ।

च्याट पिन गर्न त्यसमा केही समय प्रेस गर्नुहोस् । त्यसपछि त्यहाँ माथिल्लो भागमा पिनको विकल्प देखिन्छ । त्यहाँ ट्याप गर्नासाथ तपाईंले पिन गरेको मेसेज माथिल्लो भागमा देखिन्छ ।

पछिल्लो अध्यावधिक: बैशाख ४, २०८१ १४:२३