close

ईभी ब्याट्रीमा कुन कम्पनी अगाडि, बीवाईडी कि सीएटीएल ?

टेकपाना टेकपाना

बैशाख ५, २०८१ १५:२

ईभी ब्याट्रीमा कुन कम्पनी अगाडि, बीवाईडी कि सीएटीएल ?

काठमाडौं । विश्वबजारमा अहिले विद्युतीय सवारी साधनको चर्चा बढेको छ । इन्धनयुक्त सवारीभन्दा विद्युतीय सवारी नै मानिसहरूको रोजाइमा पर्न थालेका छन् । आकर्षक डिजाइन, ब्याट्री क्षमता र अन्य स्तरीय फिचरका कारण पनि विद्युतीय सवारी बढी प्राथमिकतामा पर्ने गरेका छन् ।

स्टाटिका डटकमका अनुसार सन् २०२२ मा बिक्री हुने हरेक सात ओटा गाडीमा एउटा गाडी विद्युतीय गाडी थियो । २०२३ मा बिक्री हुने हरेक पाँच ओटा गाडीमा एउटा ईभी थियो । यही दरले विद्युतीय सवारी बिक्री हुने सङ्ख्या बढ्दै जाने हो भने सन् २०३० सम्म बिक्री हुनेमध्ये १८ प्रतिशत सवारी ईभी हुनेछन् । त्यसो भए सञ्चालनमा आएका अधिकांश विद्युतीय सवारीमा कुन कम्पनीको ब्याट्री प्रयोग हुन्छ होला त ?

एक अध्ययनले विद्युतीय सवारीमा सबैभन्दा बढी ब्याट्री कन्टेम्पोररी एम्पेरेक्स टेक्नोलोजी कम्पनी लिमिटेड (सीएटीएल)को प्रयोग हुने गरेको देखाएको छ । दक्षिण कोरियाली कम्पनी एसएनई रिसर्चले गरेको अनुसन्धान अनुसार विद्युतीय सवारीको ब्याट्रीको सन्दर्भमा २०२४ का सुरुवाती दुई महिनामा सीएटीएल अगाडि रहेको छ ।

विश्वबजारमा ३८.४ प्रतिशत हिस्सा रहेको सीएटीएललाई पछ्याउँदै एलजी इनर्जी सोलुसन दोस्रो स्थानमा छ । यसअघि दोस्रो स्थानमा रहेको बीवाईडीलाई पछि पार्न एलजीले आफ्नो बजार हिस्सा १३.७ प्रतिशत पुर्‍याएको छ । एलजी इनर्जी सोलुसनको विश्वव्यापी ब्याट्री खपत दुई महिनामा १२.७ गिगावाट आवर रहेको छ ।

तेस्रो स्थानमा रहेको बीवाईडीको बजारहिस्सा १३.१ प्रतिशतमा खुम्चिएको छ । गत वर्षको तुलनामा बीवाईडीको ब्याट्री इन्स्टलेसन ३.१ प्रतिशतले घटेको छ । दुई महिनामा सो कम्पनीको विश्वव्यापी ब्याट्री खपत १२.५ गिगावाट आवर रहेको छ ।

२०२४ काे सुरुवाती दुई महिनामा ग्लोबल ब्याट्री कन्जम्प्सन (विश्वव्यापी ब्याट्री खपत) ९२.४ गिगावाट आवर रहेको छ । जब कि यही अवधिमा गत वर्ष ब्याट्री खपत ७२.७ गिगावाट आवर रहेको छ । एक वर्षको अवधिमा विश्वव्यापी ब्याट्री खपत २७ प्रतिशतले बढेको छ । 

सीएटीएलले बजार हिस्सा हिसाब गर्ने हो भने दुई महिनाको अवधिमा उक्त कम्पनीको ब्याट्री खपत ३५.५ गिगावाट आवर रहेको छ । सोही समयको अवधिमा गत वर्ष ब्याट्री खपत २४.५ गिगावाट आवर थियो । 

एसएनई रिसर्चका अनुसार चिनियाँ कम्पनी सीएटीलले बजार हिस्साका सन्दर्भमा वर्षौंदेखि शीर्ष स्थानमा पर्दै आएको छ । 

चौथो स्थानमा ६.७ प्रतिशत बजार हिस्साका साथ जापानी कम्पनी पानासोनिक छ । त्यस्तै पाँचौं र छैठौं स्थान‍मा दक्षिण कोरियाली कम्पनी सामसङ एसडीआई र एसके अन रहेका छन् । ती कम्पनीको बजार हिस्सा क्रमशः ५.६ प्रतिशत र ४.५ प्रतिशत रहेको छ । 

चिनियाँ कम्पनी सीएएलबी, गोसन हाई टेक, इभ इनर्जी र एसभोल्ट सातौं, आठौं, नवौं र १० औं स्थानमा छन् । जनवरी फेब्रुअरी २०२४ मा यी कम्पनीको बजार हिस्सा क्रमशः ३.८ प्रतिशत, १.९ प्रतिशत, १.८ प्रतिशत र १.८ प्रतिशत रहेको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ५, २०८१ १७:४५