close

अब शे फोक्सुण्डो तालमा वर्ल्डलिङ्कको निःशुल्क वाईफाई

टेकपाना टेकपाना

चैत ११, २०७७ १०:५४

अब शे फोक्सुण्डो तालमा वर्ल्डलिङ्कको निःशुल्क वाईफाई

काठमाडाैं । ‘सबैलाई जहाँ पनि, जहिले पनि जोड्ने’ आफ्नो मुख्य उद्देश्यलाई अनुसरण गर्दै वर्ल्डलिङ्क कम्युनिकेशन्स लिमिटेडले शे फोक्सुन्डो तालमा निःशुल्क वाईफाई सेवा सुरु गरेको छ ।

गत चैत ८ देखि सो तालमा वाईफाई सेवा सञ्चालनमा ल्याइएकाे हाे । नेपालको प्रमुख तालमध्ये फोक्सुण्डो ताल एक मुख्य पर्यटकीय स्थालकाे रूपमा परिचित छ । याे ताल समुन्द्री सतहभन्दा करिब ३६६० मिटरको उचाईमा डोल्पा जिल्लामा अवस्थित छ ।

हिमाली ताजा र सफा पानीले भरिएको यो ताल नेपालको धेरै गहिरो र ठूलो ताल हो । यो ताल यसको मन्त्रमुग्ध सुन्दरताको लागि विश्व प्रसिद्ध छ । यहीकारण शे फाेक्सुण्डाे ताल वर्षेनि हजाराैं स्वदेशी र विदेशी पर्यटककाे गन्तव्य बन्न सफल भएकाे छ ।

निःशुल्क वाईफाई सेवाको उदघाटन प्रमुख अतिथि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र वर्ल्डलिङ्कका अध्यक्ष दिलीप अग्रवालले गरेका थिए ।

उद्घाटन समारोहमा वर्ल्डलिङ्कका निर्देशक मनोज अग्रवाल, प्रमुख कार्यकारी अधिकृत केशव नेपाल, शे फोक्सुन्डो गाउँपालिका वडा नं ८ का वडाप्रमुख निमा लामा, शे फोक्सुन्डो राष्ट्रिय निकुञ्जका प्रतिनिधि चन्द्रबहादुर घर्तीलगायतकाे पनि उपस्थिति थियाे ।

सो अवसरमा बोल्दै वर्ल्डलिङ्क कम्युनिकेशन्स लिमिटेडका अध्यक्ष दिलीप अग्रवालले नेपालको प्रमुख पर्यटकीय स्थलमा आउने पर्यटकका लागि सूचना प्रविधि अति नै महत्वपूर्ण भएकाले गुणस्तरीय सेवाका लागि फाइबरको विकल्प नभएकाे बताए ।

‘गाँस, बास कपाससँगै आजको युगमा सूचना प्रविधि पनि जोडिएको छ । इन्टरनेटको प्रयोगले हामी हाम्रो जीवनलाई परिवर्तन गर्न सक्छौं । सूचना प्रविधि स्थानीय जनता तथा विद्यार्थीका लागि ज्ञान हासिल गर्ने माध्यम बन्न सक्छ । जुन स्थानमा बाटोघाटो, अस्पतालको अभाव छ, सोही ठाउँका लागि इन्टरनेट समस्याको समाधान हुनसक्छ,’ उनले भने ।

आफू डाक्टर नभए पनि इन्टरनेटबाटै आफनो डाक्टर साथीसँगको सल्लाहले विरामीकाे उपचार फोक्सुण्डोमै गरेको अनुभव सुनाउँदै उनले उच्च गतिको इन्टरनेटका लागि डोल्पा जिल्लासम्म वर्ल्डलिंककाे फाइबर विस्तार गर्न तयार रहेको बताए ।

यसका लागि सरकारले पूर्वाधारको विकास विस्तार गर्नुपर्ने तर्क उनकाे थियाे । फोक्सुण्डोसम्म इन्टरनेट विस्तार गर्न वर्ल्डलिंङ्कले विभिन्न ११ स्थानमा टावर जडान गरेको जानकारी दिँदै उनले अब फाइबर जडानको लागि योजना तयार पार्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि एवं कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश प्राकृतिक सुन्दरताले भरिपूर्ण तथा निकै सम्भावना बोकेको प्रदेश रहेको बताए ।

यहाँ उपलब्ध प्रचुर सम्भावनाको प्रयोग गर्न नसिकिएको हुनाले सोको विश्व बजारमा पहिचान गराउन सकेमात्र पनि यो प्रदेशको कयापलट हुने उनको भनाइ थियो ।

‘यस प्रदेशमा उपलब्ध श्रोत साधनलाई विश्व बजारमा विस्तार गर्ने माध्यम सूचना प्रविधि पनि एक हो । विकट स्थानमा बसोबास गरेका जनतालाई विश्व समुदायसमक्ष जोड्न सूचना र प्रविधि महत्वपूर्ण हुने, तर नाफामूलक सेवाको सम्भावना कम भएकाले अन्य सेवाप्रदायकहरुको कम चासो रहेका बेला वर्ल्डलिंकले देखाएको अग्रसरता देखाएकाे छ,’ उनले भने ।

अब सूचनाबाट कुनै पनि पर्यटक आफन्त, घर परिवार, साथी भाइसँग जोडिने तथा सम्पर्कविच्छेद नहुने हुनाले पर्यटकको रोजाइ बन्नेमा आफू विश्वस्त रहेको उनले बताए ।

कर्णाली प्रदेशले कर्णाली पर्यटन वर्ष घोषणा गर्दा रारा तालबाट प्रधानमन्त्रीबाट वर्ल्डलिंकले प्रदान गरेको निःशुल्क इन्टरनेट सेवाबाटै पर्यटन वर्षको उद्घाटन भएकोमा आजसम्म रारा जाने पर्यटकका लागि सूचनाको पहुँच पुगेको स्मरण गर्दै उनले सेवालाई गुणस्तरीय बनाउन फाइबरका लागि प्रदेश सरकार तयार रहेको धारणा राखे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१