close

मोबाइलमै ह्याकिङ सिकेका सुजन, जसले ३ महिनामै तिरे परिवारको १५ लाख ऋण

युजु खालिङ युजु खालिङ

चैत १३, २०७७ ८:५२

मोबाइलमै ह्याकिङ सिकेका सुजन, जसले ३ महिनामै तिरे परिवारको १५ लाख ऋण

काठमाडौं । प्रतिकुलतालाई चुनौती दिएर अगाडि बढ्न सक्ने मानिसहरु कमै हुन्छन् । त्यसका एउटा मूर्त उदाहरण हुन्, पोखरा लहचोकका २४ वर्षीय सुजन थापा मगर ।

कुरा आजभन्दा करिब ८ वर्षअघिको हो । टेलिभिजन र फिल्ममा देखिने कालाजादुबाट प्रभावित भएर ९ कक्षामा पढिरहेका सुजनलाई पनि कालाजादु सिक्ने हुटहुटी चल्यो ।

आफ्नो इच्छा उनले बुबा-आमासामु राखे । काम नबन्ने देखेपछि घर छोड्ने मनस्थितिमा पुगे । तर त्यो कुरा थाहा पाएर बुबा-आमाले उनलाई घरभित्रै थुनेर राख्न थाले ।

आफ्नै घरभित्र बन्दी बनेको बेला समय कटाउन उनी फेसबुकको वाल चहार्न थाले । त्यहीबेला कसैले बैंकको सिस्टम ह्याक गरेको समाचारमा उनको आँखा पर्‍यो ।

फेसबुक चलाउन भर्खर सिक्दै थिए । ह्याकिङ शब्द सुनेको त्यही नै पहिलोपटक थियो ।

गुगलमा कुनै कुरा कसरी खोज्ने, त्यो पनि थाहा थिएन सुजनलाई । अनि साथीभाइको सहयोगमा आफूले सुनेको ह्याकिङ शब्द गुगलमा खोजेर हेर्न थाले ।

विस्तारै रुचि जाग्दै गयो । तर उनी पढेको सामुदायिक विद्यालयमा कुनै कम्प्युटर विषय थिएन । न त कम्प्युटरको कुनै बेसिक कोर्ष नै उनले पढ्न पाएका थिए ।

पढाइमा पहिलेदेखि नै कमजोर र अल्छी । तर पनि सुजन सजिलै परीक्षा पास गरी कक्षा चढ्न सकिन्छ भनेर एसएलसीपछि शिक्षा संकायमा भर्ना भए ।

ह्याकिङजस्तो जटिल प्रविधि र शिक्षा संकायका विषयबीच टाढाको सम्बन्ध पनि थिएन । सुजन परे शिक्षा संकायका विद्यार्थी ।

त्यो पनि अल्छी र कमजाेर । त्यसमाथि उनको चाहनाले उनलाई शिक्षा संकायभन्दा विपरित ध्रुवतिर हुत्याउँदै थियो ।

ह्याकिङबारे धेर थोर थाहा पाइसकेपछि ह्याकर बन्ने हुटहुटी उनमा यसरी सवार भयो । हुटहुटी यतिसम्म बढ्यो कि त्यसले कुनै अभाव र कमजोरी सामु घुँडा टेक्न मानेन ।

आफूसँग जे थियो, त्यहीबाट सुरु गरे । बरु कमी कमजोरीबीच आफूलाई अगाडि बढाउने उपाय खोज्न थाले ।

सपना ह्याकिङको दुनियाँतर्फ मोडिसकेको थियो । त्यहाँसम्म पुर्‍याउने सारथी बन्यो इन्टरनेट । एउटा मोबाइल थियो, त्यसैबाट उनको ह्याकर बन्ने यात्रा अगाडि बढ्यो ।

गुगलमा विभिन्न सामग्रीहरु सर्च गर्दै, पढ्दै, भिडियोहरु हेर्दै सिक्न थाले । कम्प्युटरका सबै कुरा अंग्रेजीमै हुन्छन् ।

ती पनि जटिल प्राविधिक भाषामा लेखिएका । जो सबैले बुझ्न सक्दैनन् । त्यसमाथि उनको अंग्रेजी पनि राम्रो थिएन ।

‘म एउटा एउटा शब्द डिक्सनरीमा खोज्दै खोज्दै सिक्न थालेँ,’ आफ्नो प्रारम्भका दिनहरुबारे सुजन सुनाउँछन् । अग्रज ह्याकरहरुलाई भर्चुअल माध्यमबाट पछ्याउन थाले ।

उनीहरुबाट सिक्दै गए । इन्टरनेटमा भिडिओ र टेक्स्ट सामग्री हेरेर, पढेर एचटीएमएल, प्रोग्रामिङ ल्याङ्ग्वेज सबै कुरा सिक्दै गए । 

पोखराको लहचोकका सुजन थापा मगरले विस्तारै वेबसाइट एप्लिकेसन, मोबाइल एपहरु डेभलपमेन्टको काम सिक्दै जान थाले । यसैबाट प्रोग्रामिङ स्किल पनि बढ्दै थियो ।

अलि अलि ह्याकिङ पनि सिक्दै थिए । गर्दै पनि थिए । ‘सुरुवातमा त के गर्ने, कसरी अगाडि बढ्ने राम्रोसँग थाहै हुँदैन,’ सुजन ह्याकिङका आफ्ना प्रारम्भिक दिन सम्झन्छन्, ‘मैले पनि विभिन्न साइटहरुमा रहेका कमजोरीहरु खोतल्ने प्रयास गरेँ । विभिन्न ठाउँमा एक्सेस गरेर सुरक्षा कमजोरीहरुलाई पहिल्याउँदै गएँ ।’

त्यसैबीच तीन वर्षअघि साथी निर्मल दाहालले उनलाई साइबर सेक्युरिटी कम्पनी एमिनेन्स वेजमा लिएर गए । निर्मल पहिल्यैबाट उक्त कम्पनीमा काम गर्दै आएका थिए ।

एमिनेन्स वेजले उनीमाथि एउटा स्किल परीक्षण गर्‍यो । जहाँ उनलाई सीटीएफ अर्थात् क्याच द फ्लेग ह्याकिङ असाइन गरियो ।

उनले चार/पाँच मिनेटमै उक्त काम फत्ते गरे । त्यसपछि एमिनेन्स वेजले सुजनलाई कर्मचारीकै रुपमा नियुक्त गर्‍यो ।

एमिनेन्स वेजको नियुक्ति सुजनको लागि ठूलो सौभाग्य सावित भयो । एमिनेन्स वेजमै प्रवेश गरेपछि उनले एथिकल ह्याकिङ सुरु गरे । एमिनेन्स वेजकै ग्रुमिङका कारण उनका बग रिपोर्टहरु भ्यालिड हुन थाले । बाउन्टी रिवार्ड पनि आउन थाल्यो ।

‘ट्रान्सफरवाइज डटकम’बाट उनले पहिलो बाउन्टी रिवार्ड पाए । जुन पाँच सय डलरको थियो । तीन वर्षदेखि उनले यस्ता धेरै बाउन्टी रिवार्ड बटुलिसकेका छन् ।

२४ वर्षीय साइबर अनुसन्धानकर्ता सुजन थापा मगरले हालसम्म भिजा, मास्टरकार्ड जस्ता ५० भन्दा बढी विश्वचर्चित अन्तर्राष्ट्रिय कम्पनीहरुलाई विभिन्न सुरक्षा कमजोरी पहिल्याएर जोखिमबाट बच्न सघाइसकेका छन् ।

‘अहिले दैनिक एक दुईवटा बग सब्मिट भएर भ्यालिड भइरहेको हुन्छन्,’ सुजन भन्छन्, ‘न्यूनतम सय डलरदेखि माथिका बाउन्टी रिवार्डहरु आइरहेका हुन्छन् ।’

लकडाउनपछि अफिसमा फर्केर आएको दुई/तीन महिना भयो । यसबीच उनले बाउन्टी रिवार्डबाटै घरको १५ लाख ऋण तिरिसकेको सुनाए ।

प्राविधिक पृष्ठभूमि नभएपनि उनी हाल एमिनेन्स वेज जस्तो देशकै प्रतिष्ठित साइबर सेक्युरिटी कम्पनीमा वेब सेक्युरिटी रिसर्चरको भूमिकामा सक्रिय छन् ।

बिहान ९ देखिपाँच बजेको अफिस समयपछि घर पुगेर उनी बग खोज्न थाल्छन् । स्वअध्ययनले साइबर सुरक्षाको क्षेत्रमा लागेका सुजन आफूलाई आधारभूतदेखि एडभान्स स्तरमा पुर्‍याउने श्रेय एमिनेन्स वेजलाई दिन्छन् ।

गुगलको सामान्य ज्ञानसमेत नभएका सुजनले प्रविधिको कखरा सिक्दै तीन चार वर्षसम्म मोबाइलबाटै ह्याकिङ स्किल सिकेर आज यहाँसम्म आइपुगेका हुन् ।

एमिनेन्स वेजका संस्थापक सीईओ नारायण कोइराला पनि आफू सुजनको क्षमताबाट निकै प्रभावित भएको सुनाउँछन् । ‘पढाइ मात्र सबैथोक हो, पढाइ नभए केही हुँदैन, केही गर्न सक्दैनस्,’ सुजनले आफ्ना बाबु आमाबाट थुप्रै पटक सुने ।

तर आफ्नो एउटै भिजन लिएर अनवरतरुपमा मेहेनतका साथ अगाडि बढेर यहाँसम्म आइपुगेका सुजन ‘गरे के हुन्न’ भन्ने उक्तिको मूर्त उदाहरण हुन् ।

ह्याकिङ जति जटिल र भयानक सुनिन्छ, अठोट लिएर अगाडि बढे असम्भव छैन । सुजनको अनुभवले यही भन्छ ।

याे पनि पढ्नुहाेस् :

बग बाउन्टीबाट लखपति बन्दै विद्यार्थीहरू

नेपाली बगबाउन्टीमा जोडिए एक हजारभन्दा बढी ह्याकर

यी इथिकल ह्रयाकर, जो बग पत्ता लगाउँदै मनग्गे पैसा कमाउँछन्

एउटा बग फेला पार्दा ह्याकरलाई करिब साढे १७ करोड आम्दानी

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१