close

अब खल्ती वालेटबाटै सामाजिक सुरक्षा कोषको भुक्तानी

टेकपाना टेकपाना

जेठ २३, २०७८ २०:४८

अब खल्ती वालेटबाटै सामाजिक सुरक्षा कोषको भुक्तानी

काठमाडौं । सामाजिक सुरक्षा कोषमा आवद्ध संगठित संस्थाहरूले अब खल्ती डिजिटल वालेटमार्फत सोझै रकम जम्मा गर्न सक्ने भएका छन् । नेपालमा गरिने हरेक भुक्तानीलाई  डिजिटाइज गर्ने उद्देश्य अनुरुप खल्तीले उक्त सेवा संचालनमा ल्याएको हो ।  

खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक जोनाम भुर्तेल र सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशक  कपिलमणि ज्ञावाली बीच यसका लागि सम्झौता समेत भएको छ । सम्झौतासँगै उक्त सेवा कार्यान्वयनमा आएको कम्पनीले जनाएको छ ।

यसअन्तर्गत अब सामाजिक सुरक्षा कोषमा सरकारी र निजी कार्यालयमा कार्यरत दुवै किसिमका कर्मचारीहरुले आफ्नो मासिक आम्दानीबाट निश्चित रकम खल्ती वालेटबाट सजिलै भुक्तानी  गर्न सक्नेछन् । उक्त रकम हरेक महिनाको १५ गतेभित्र भुक्तानी गरिसक्नु पर्ने कानूनी व्यवस्था छ । निर्धारित अवधिमा कोषको रकम भुक्तानी नगरेको अवस्थामा कुनै कर्मचारीले आफ्नो कोषको रकम दाबी गरेमा संगठनलाई निश्चित रकम जरिवाना लाग्नेछ ।

 “खल्तिले सामाजिक सुरक्षा कोषमा आवद्ध संस्थाहरुले सजिलै रकम भुक्तानी गर्न सक्ने सुविधा ल्याएको छ । यो सेवाले मानिसहरुको भुक्तानी प्रक्रियालाई सरल र सहज बनाउन  थप टेवा पुग्ने हाम्रो विश्वास  छ” खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक जोनाम भुर्तेलले भने, “यो सेवा संचालनमा आएपछि खल्तीबाटै कोषमा रकम जम्मा गर्न व्यक्ति तथा संगठित संस्थाहरूलाई निकै सहज हुने अपेक्षा लिएका छौं ।”

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक ज्ञावालीले सामाजिक सुरक्षा कोषको रकम संकलन गर्न खल्तीसँग अत्यन्त छोटो समयमा सहकार्य सुरु गरिएको बताए । उनले भने, ‘यो सहकार्यले ७७ वटै जिल्लामा छरिएर रहेका कर्मचारीहरुलाई चौबीसै घण्टा रकम जम्मा गर्ने सुविधा  उपलब्ध गराउन पाएकोमा हामी ज्यादै खुशी छौं ।’

‘यो सफलताको पछाडि व्यवस्थापक र प्राविधिक पक्षको ठूलो हात रहेको हुँदा वहाँहरुलाइ हृदयदेखि नै  धन्यवाद दिन चाहान्छु,’ उनले भने । यो सेवाले खल्ती डिजिटल वालेट र सामाजिक सुरक्षा कोष दुवैको प्रतिष्ठा बढाउन थप मद्दत पुगेको उनको विश्वास छ ।

१७ लाखभन्दा बढी प्रयोगकर्ता भएको खल्ती डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो । जसले प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिङ कारोबार झन्झटरहित र सरल बनाउने उद्देश्य राखेको छ ।

‘खल्ती’ वालेटको प्रयोग गरी ६० भन्दा बढी बैंक तथा वित्तीय संस्थामा  पैसा पठाउन सकिनुका साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, ई–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता सेवाहरु लिन सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३