नर्डिक देशहरुमा फैलिँदै जेनिस सोलुसन

काठमाडौं । बेलायतमा मुख्यालय रहेको ‘क्लाउड कन्सल्टिङ प्रोभाइडर’ कम्पनी जेनिस सोलुसनले नर्डिक देशहरुमा आफ्नो सेवा विस्तार गर्ने भएको छ ।

बुधबार औपचारिक घोषणा गर्दै कम्पनीले फिनल्याण्डको राजधानी हेलसिन्कीमा कार्यालय रहने गरी नर्डिक देशहरुमा आफ्नो सेवा विस्तार गर्ने जनाएको छ । यो कम्पनी अमेजन वेब सर्भिस, गुगल र माइक्रोसफ्टको आधिकारिक साझेदार हो ।

संसारका विभिन्न ८ स्थानबाट सेवा प्रवाह गरिरहेको यो कम्पनीले बेलायत, भारत, पाकिस्तान, बंगलादेश र नेपालको सफल अनुभवपछि फिनल्याण्डबाट नर्डिक क्षेत्रमा पनि सेवा विस्तार गर्न लागिएको बताएको छ ।

डिजिटल दुनियाँप्रति फिनल्याण्डको आकर्षण जेनिसको उद्धेश्यसँग मिल्ने भएकाले हेलसिन्कीबाट सेवा विस्तार गर्दा ग्राहक बढ्ने र बजारसँग पहुँच पुग्ने आशा कम्पनीले राखेको छ । संसारैभर व्यवसाय सञ्चालन र सेवा विस्तारको सञ्जाल बढाउने उद्धेश्य अन्तर्गत नै नर्डिक क्षेत्रमा सेवा बिस्तार गरिएको हो ।

‘नर्डिक क्षेत्रमा सेवा विस्तार गर्न पाउँदा र त्यहाँका संस्थाहरुलाई डिजिटल रुपान्तरण तर्फको हाम्रो विशिष्ट सुविधा उपलब्ध गराउन पाउँदा हामी उत्साहित छौं’, जेनिस सोलुसनकी संस्थापक एवं ग्लोलब सीटीओ अञ्जनी फुयाँलले भने ।

‘जीएस नर्डिक ओय’ मार्फत् जेनिसले अमेजन वेब सर्भिस, गुगल, अलिबाबा क्लाउडजस्ता विश्वव्यापी क्लाउड सेवा प्रदायकहरुसँग मिलेर आफ्नो सेवा विश्वव्यापी बनाउने उद्धेश्य राखेको छ । यो सेवा विस्तारबाट नर्डिक क्षेत्रका उपभोक्ताले उच्च गुणस्तर र न्यून लागतको सफ्टवेयर डेभलपमेन्ट, क्लाउड माइग्रेसन्स, एसइओ, इमेल सेवा र इन्टरनेट सुरक्षा लगायतका सेवा पाउनेछन् ।

‘जीएस नर्डिक ओय’को नेतृत्व लार्स नेभलइननले प्रमुख कार्यकारी अधिकृत (सीईओ) र लउरा कर्पानेनले प्रमुख बजार अधिकारी (चिफ मार्केटिङ अफिसर)को रुपमा गर्नेछन् ।

लार्सले वित्तीय प्रविधिका विज्ञका रुपमा १६ वर्षभन्दा बढीको अनुभव हासिल गरिसकेका छन् । फिनल्याण्डका दुवै स्टार्टअप समुदाय र कर्पोरेसनहरुलाई इन्टिलिजेन्ट फाइनेन्सियल र डेटा एनालिटिक्स मोडल्स अपनाउँदै डिजिटल रुपान्तरण गर्न सघाएको अनुभव छ उनीसँग ।

त्यस्तै लउराले बजार र सञ्चार क्षेत्रमा एक दशकभन्दा बढीको अनुभव हासिल गरेकी छन् । उनले कुशल नेतृत्वको रेकर्ड राखेकी छन् । विश्वव्यापी रहेको क्षमतावान नेतृत्व र निपुण टिममार्फत् जेनिस नोर्डिकले नोर्डिक क्षेत्रमा डिजिटल क्षेत्रको व्यापक वृद्धिका लागि ठूलो योगदान गर्नेछ ।

‘सीईओको रुपमा जेनिससँग यो महत्वपूर्ण कार्यमा जोडिन पाउँदा म साँच्चिकै एकदमै उत्साहित छु । हाम्रो क्षमता र सेवामार्फत् नर्डिक क्षेत्रको बजारमा ठूलो आमूल वृद्धि गर्न सक्नेछौं भन्नेमा हामी विश्वस्त छौं’, लार्स नेभलइननले भने ।

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team