close

यसरी अन्त्य भयो ‘सारथी’

टेकपाना टेकपाना

फागुन २५, २०७८ १३:५

यसरी अन्त्य भयो ‘सारथी’

काठमाडौं । एक समय काठमाडौं उपत्यकामा अनलाइन ट्याक्सी बुकिङका लागि लोकप्रिय बनेको सारथी क्याब कोरोना महामारीसँगै एकाएक गुमनाम बनेको छ । समय कोरोना महामारीको भए पनि कम्पनी बन्द हुनुको कारण भने अर्कै छ ।

लगानीकर्ता तथा शेयर होल्डरहरूबीच कुरा नमिल्दा कम्पनीको अस्तित्व नै नामेट बन्न पुगेको हो । सारथी प्रालिमा सह-संस्थापक रवि सिङ्घल, प्रकाश न्यौपानेसँगै ११ जना लगानीकर्ता थिए । 

सह-संस्थापक रवि र प्रकाश भएपनि कानूनी रुपमा कम्पनी भने सविना अग्रवालको नाममा थियो । अग्रवालले कम्पनी सम्पूर्ण रुपमा हत्याउन खोजेपछि आफूहरू बाहिरिनु परेको एक सह-संस्थापक बताउँछन् । 

‘कम्पनी बाह्य कारणले भन्दा पनि हाम्रो आन्तरिक विवादले चल्न सकेन,’ ती सह-संस्थापकले टेकपानासँग भने, ‘जसको नाममा दर्ता गरेको हो, उसले एकलौटी रुपमा कम्पनी आफ्नो हातमा लिएपछि हामी सबै बाहिरिने अवस्था बन्यो ।’

सह-संस्थापकमध्ये प्रकाश न्यौपाने विदेश पलायन भए । रवि सिङ्घल भने एफवान सफ्ट ग्रुप अन्तर्गतको डिजिटल मार्केटिङ कम्पनी फिटको कार्यकारी निर्देशक (सीईओ) को जिम्मेवारीमा छन् । 

कम्पनीमा पछिल्लो समय रवि लामिछाने, विज्ञानराज शर्मा, शिद्धार्थ ग्रुपका राहुल अग्रवाल, सुमन श्रेष्ठ समेत लगानीकर्ताको रुपमा रहेका  थिए ।

उबर–ओला जस्ता अन्तर्राष्ट्रिय कम्पनीको देखासिखीको रुपमा नेपालमा अनेकौं राइड शेयरिङ कम्पनी सञ्चालनमा आइरहेका छन् ।

तत्कालीन समयमा कुनै पनि कम्पनी राम्रोसँग चल्न नसकिरहेको अवस्थामा छ वर्षअघि अर्थात् २ अगस्ट २०१७ मा सारथी सुरु भएको थियो ।

सुरुमा मोबाइल एप थिएन, कल सेन्टरमा यात्रुले सम्पर्क गर्थे र नजिकको ट्याक्सीलाई यात्रु ओसार्न पठाइन्थ्यो ।

हरेक ट्याक्सीमा सारथीकै ट्याब्लेट हुन्थ्यो । कार्डबाट भुक्तानीका लागि ट्याक्सीमै पोस मसिन राखिएको थियो । यसरी सुरु भएको सारथी छोटो समयमै लोकप्रिय बन्यो ।

अनपेक्षित रुपमा यात्रुको माग बढ्न थाल्यो, तर त्यस अनुसार ट्याक्सी थप गर्न नसक्दा बीचको अवधिमा पनि कम्पनी बन्द हुने अवस्थामा  पुगेको थियो ।

तर पछिल्लो समय लगानीकर्ता थप गरेर सारथीले मोबाइल एप ल्याएसँगै ट्याक्सी भाडामा लिएर सेवा दिने मोडालिटी समेत परिवर्तन गरेको थियो ।

एक समय गुमिसकेको साख फिर्ता ल्याउँदै निकै प्रतिस्पर्धी बनिसकेको बजारमा नयाँ स्वरूपमा कम्पनी उत्रिने क्रममा थियो । कम्पनीका सह-संस्थापकले राजधानी बाहिर समेत सेवा विस्तार गर्ने घोषणा गरिसकेका थिए ।

जसमा राइड शेयरिङदेखि डेलिभरी सेवासम्मका योजना थिए । तर लगत्तै कोरोना महामारी सुरु भयो र कम्पनीले सोही कारण देखाउँदै चैत २०७६ मा आफ्नो सेवा अस्थायी रुपमा बन्द भएको घोषणा गर्‍यो ।

त्यसको एक महिनापछि कम्पनीले महामारीको समयमा आफ्ना ट्याक्सीहरू आपतकालीन सेवामा प्रयोग गर्ने घोषणा समेत गरेको थियो ।

तर कोभिड महामारी रोक्न सरकारले जारी गरेको कडा लकडाउनका कारण उक्त सेवा सञ्चालनमा आउन सकेन ।

अन्ततः अस्थायी रुपमा सेवा बन्द भएको कम्पनीको घोषणा स्थायी बन्न पुग्यो । अहिले कम्पनीको नामोनिसान मेटिएको छ । वेबसाइट बन्द भएको छ भने फेसबुक पेजदेखि मोबाइल एपसम्म ‘डिलिट’ भइसकेका छन् । 

अर्थात् समग्र रुपमा काठमाडौंमा रहेको ट्याक्सीको हैरानी प्रविधिमार्फत समाधान गर्न सुरु भएको सारथी क्याब अतीत बनिसकेको छ ।

यद्यपि त्यसले अन्य स्टार्टअपका लागि व्यवसायिक मोडेल, लगानीकर्ता भित्र्याउने, कम्पनीको शेयर संरचना र कानूनी प्रक्रिया कति महत्त्वपूर्ण हुन्छ भन्ने विषयमा एउटा राम्रो पाठ भने सिकाएर गएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२