close

शक्तिशाली ब्याट्री भएको माइक्रोम्याक्सको नयाँ फोन नेपालमा, कति छ मूल्य ?

टेकपाना टेकपाना

चैत १, २०७७ २१:४६

शक्तिशाली ब्याट्री भएको माइक्रोम्याक्सको नयाँ फोन नेपालमा, कति छ मूल्य ?

काठमाडौं । भारतीय मोबाइल निर्माता कम्पनी माइक्रोम्याक्सले आफ्नो नयाँ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ । माइक्रोम्याक्सका लागि नेपालको आधिकारिक बिक्रेता ग्लोबल बिजनेस ग्रुप अन्तरगतको शंकर इन्टरनेसनल प्रालिले आइतबारदेखि माइक्रोम्याक्स इन नोट वान स्मार्ट फोन नेपाली बजारमा ल्याएको हो ।

नेपाली बजारमा माइक्रोम्याक्स इन नोट वान सिरिज दुई वटा भेरियन्टमा उपलब्ध भएको छ । जसमा ६.६७ इञ्चको आईपीएस एलसीडी डिस्प्ले र हेलियो जी ८५ गेमिङ प्रोसेसर रहेको छ ।

कम्पनीले यो फोन दैनिक उपयोगको लागि मात्र नभएर गेमिङका पारखीहरुका लागि समेत उत्कृष्ट भएको दाबी गरेको छ । इन नोट–वाका दुवै भेरियन्टमा ४८ मेगापिक्सेलको मूख्य क्यामेरा सहित क्वाड क्यामेरा सेट अप (चार वटा क्यामेरा भएको) राखिएको छ ।

साथमा ५ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा तथा समान दुई मेगापिक्सेलको म्याक्रो लेन्स र डेप्थ सेन्सर दिइएको छ । यूएसबी टाइप सी चार्जिङ सपोर्ट रहेको यो फोनमा ५००० एमएएच क्षमताको ब्याट्री राखिएको छ ।

यस्तै फ्रन्ट क्यामेरा १६ मेगापिक्सेलको रहेको छ । चार जीबी र्‍याम तथा ६४ जीबी इन्टरनल स्टोरेज भेरियन्टको बजार मूल्य १९ हजार ९९० रुपैयाँ रहेको छ भने ४ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेजको मूल्य २१ हजार ४९० रुपैयाँ रहेको छ । यो फोन हरियो र सेतो रंङ्गमा खरिद गर्न सकिनेछ ।

केही वर्ष अघिसम्म नेपालमा राम्रै बजार बनाइसकेको माइक्रोम्याक्सले चिनियाँ कम्पनीसँग प्रतिस्पर्धा गर्न नसकेपछि बन्द भएको थियो । भारत सरकारको ‘मेक इन इन्डिया’ नीतिसँग कम्पनी बजारमा पुनः फर्किएको हो ।

भारतमा राम्रो बजार हिस्सा बनाएको माइक्रोम्याक्सले नेपालमा समेत चाडै आफ्ना आउटलेट र सर्भिस सेन्टर विस्तार गर्ने बताएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१