close

नेटफ्लिक्स-अमेजन प्राइम चले जस्तै किन सफल हुन सकेनन् नेपाली ओटीटी एप ?

टेकपाना टेकपाना

चैत ४, २०८० १३:३७

नेटफ्लिक्स-अमेजन प्राइम चले जस्तै किन सफल हुन सकेनन् नेपाली ओटीटी एप ?

 

काठमाडौं । इन्टरेटको सहज पहुँचसँगै हामीले गर्ने हरेक काममा परिवर्तन आएको छ । यसमध्ये सिनेमा क्षेत्रले धेरै परिवर्तन आत्मसात गरिरहेको छ ।

अहिले सिनेमा हेर्न हलमै जानुपर्ने बाध्यता हटेको छ । मोबाइल, ल्यापटप, ट्याब्लेटजस्ता डिभाइसबाट घरमै बसेर हेर्ने सुविधा आइसकेको छ । विश्व सिने क्षेत्रमा यो परिवर्तन ल्याउन ओटीटी (ओभर द टप) प्लेटफर्मले ठूलै भूमिका खेलेका छन् ।  

नेपालमा पनि अहिले स्थानीय ओटीटी प्लेटफर्मको संख्या बढ्दै गइरहेको छ । तर तीमध्ये कुनैले पनि राम्रो गर्न नसकिरहेको अवस्था छ । फेरि अमेजन, नेटफ्लिक्स जस्ता अन्तर्राष्ट्रिय ओटीटी प्लेटफर्मसँग प्रतिस्पर्धा गर्नुपर्ने पाटो पनि छँदै छ । 

नेपालमा ओटीटी प्लेटफर्म व्यावसायिक रूपमा फस्टाउन नसक्नुको कारण केके होलान् ? यस विषयमा काठमाडाैंमा भएकाे ‘सातौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) मा सराेकारवालाबीच छलफल भएकाे छ ।

‘सिनेमाको नयाँ बजार र अवसर’ विषयक प्यानल छलफलमा उनीहरूले ओटीटीका अवसर र चुनौतीबारे चर्चा गरे ।

कलाकार जितु नेपालले सिनेकर्मी बीचमै सङ्कुचित भावना भएकाले नेपालमा ओटीटी प्लेटफर्म सोचेजस्तो नभएको बताए । दर्शकसँग अहिले धेरै रोजाइ भएकाले ओटीटीमा नेपाली चलचित्र राखेपनि हेर्ने सम्भावना कम भएको उनको बुझाइ छ ।

ओटीटी प्लेटफर्मको साटो युट्युबमा आएपछि मात्र चलचित्र हेर्ने संस्कार बढी रहेकाे उनकाे विश्लेषण छ । 

“अहिले कुनै पनि चलचित्र युट्युबमा राखे लाखौं भ्युज आउँछ । युट्युबमा फिल्म नराख्दा दर्शकले गाली समेत गर्छन्,” उनले भने, “अब युट्युबमा चलचित्र त्यत्तिकै राखौं, त्यो सिनेमा त्यसै बनेको हुँदैन । यो बढो गाह्रो कुरा छ ।” 

हाइलाइट्स नेपालका प्रबन्धक जनक तामाङ पनि जितुको भनाइमा सहमत देखिन्छन् । उनका अनुसार अहिले डिजिटल प्लेटफर्म भनेको युट्युब हो भन्ने भाष्य स्थापित भएको छ । यसको कारण ओटीटी प्लेटफर्ममा नेपाली चलचित्रहरूको पहुँच नबढ्नु भएको उनको तर्क छ ।

ओटीटी मात्र रिलिज गर्नेगरी बनाउने चलचित्रका लागि सेन्सर र राजस्व/कर हलमा लाग्ने चलचित्र समान भएकाले पनि समस्या भएको उनकाे मत छ ।  यसका साथै ओटीटी सञ्चालन गर्नेले पनि पर्याप्त कन्टेन्ट डेलिभरी गर्न नसक्नुलाई उनी अर्काे कारण मान्छन् ।

“हामीले ‘हाम्रो मुभी’ नामक वेब एप लञ्च गरेका थियौं,’’ उनी भन्छन्, ‘‘तर त्यसमा हाइलाइट्सको मात्र चलचित्र आउँछ । अरू कसैले चलचित्र दिँदैनन् । त्यो सिन्डिकेट जस्तो भइदियो ।”  

उनी थप्छन्, “अनि अरूहरूले पनि आफू अनुकूलको प्लेटफर्म बनाएका छन् । ती प्लेटफर्ममा पनि आफ्नो मात्र चलचित्र हुन्छन् । एउटा दर्शकले नेपाली चलचित्र हाल्न कति ओटा एप चलाउनु पर्ने ?”

फोटो पत्रकार तथा चलचित्र निर्माता श्रीधर पौडेलको मत भने अलि भिन्न छ । उनको बुझाइमा प्लेटफर्महरूले कन्टेन्ट किन्ने भन्दा पनि कमिसनमा आधारित भएर काम गर्नाले नेपालमा ओटीटी विकास नभएको हो । निर्माताले कन्टेन्ट दिएपनि प्लेटफर्मले प्रचारप्रसारको समेत काम नगर्ने उनको बुझाइ छ । 

“प्लेटफर्म सञ्चालकले कन्टेन्टको प्रचारमा पनि निर्माताले नै लगानी गरिदियाेस् भन्ने चाहन्छन् । यसकारण ओटीटीमा चलचित्र रिलिज भएपनि कलाकार र निर्देशक आफैंले प्रचारको काम गर्नुपर्ने बाध्यता छ । प्लेटफर्मले कन्टेन्ट किन्ने हो भने पनि बनाउनेले सोही अनुसार बनाउन थाल्ने थिए ।”

ओटीटी प्लेटफर्म सिनेपेबलकी चिफ अपरेटिङ अफिसर  पुष्पलता न्यौपाने वितरण प्रणाली राम्रो नहुँदा नेपालमा ओटीटी प्लेटफर्म साँघुरिएको धारणा राख्छिन् । “मान्छेले हलमा भएपनि, ओटीटी प्लेटफर्मा भएपनि कन्टेन्ट नै हेर्छन् । तर त्यसको उचित वितरण हुन सकिरहेको छैन,” उनी भन्छिन्, “अब नेपाली बजार सानो छ भनेर निर्माता बस्नु हुँदैन । अमेजन, नेटफ्लिक्स जस्ता अन्तर्राष्ट्रिय ओटीटी प्लेटफर्मलाई लक्षित गरेर कन्टेन्ट बनाउनुपर्छ ।

त्यस्तै प्लेटफर्ममा सीमित मात्र कन्टेन्ट हुँदा दर्शकले ओटीटी प्लेटफर्ममा खर्च गर्ने सम्भावना कम हुने उनको बुझाइ छ । “मैले नेटफ्लिक्समा एउटा कन्टेन्टका लागि मात्र पैसा गर्दिनँ । त्यहाँ हुने धेरै कन्टेन्टलाई खर्च गरेको हुन्छु । तर म तीमध्ये कुनै एक हेर्छु । नेपालमा भने हलमा लाग्ने चलचित्र पनि एउटै प्रकारको हुन्छन् । अनि ओटीटीमा पनि उही चलचित्र लाग्ने भएकाले किन खर्च गर्ने भन्ने प्रश्न आउँछ ।”

पछिल्लो अध्यावधिक: चैत ४, २०८० १३:३७