close

दराजसँग प्रतिस्पर्धा गर्न नसकेपछि ‘बन्द’ भयो सबैभन्दा ठूलो स्वदेशी ईकमर्स सस्तोडिल

हिक्मत आचार्य हिक्मत आचार्य

चैत २८, २०८० १९:३७

दराजसँग प्रतिस्पर्धा गर्न नसकेपछि ‘बन्द’ भयो सबैभन्दा ठूलो स्वदेशी ईकमर्स सस्तोडिल

काठमाडौं । नेपालमै जन्मिएको सबैभन्दा ठूलो ईकमर्स कम्पनी सस्तोडिल बन्द भएको छ । सन् २०११ मा स्थापना भएको नेपाली ईकमर्स प्लेटफर्म विदेशी लगानीको दराज मार्केटप्लेससँग प्रतिस्पर्धा गर्न नसक्दा केही महिनादेखि बन्द अवस्थामा रहेको पाइएको हो । 

जब कि दराज नेपाली बजारमा प्रवेश गर्नु अघि सन् २०१६ तिर सस्तोडिल नेपालकै सबैभन्दा ठूलो ईकमर्स कम्पनी जस्तै बनिसकेको थियो । १५ जनवरीका दिन सामाजिक सञ्जालमा राखिएको माघे सङ्क्रान्तिको शुभकामना सहितको पोस्ट नै सस्तोडिलको अन्तिम भयो । त्यसयता कम्पनीले फेसबुक, इन्स्टाग्राम, लिङ्क्डइन लगातयका कुनै पनि सामाजिक सञ्जाल प्लेटफर्म अपडेट गरेको छैन । सस्तोडिलको वेबसाइट खोज्दा पनि होस्ट इरर आइरहेको छ । अर्थात् होस्टिङबाट नै कम्पनीका सबै फाइल हटाइएको जस्तो सङ्केत देखिन्छ ।

यस विषयमा बुझ्न हामीले कम्पनीको आधिकारिक ग्राहक सेवा नम्बर ०१-५९७०००० मा सम्पर्क गर्ने गर्‍यौं । तर, सम्पर्क भने हुन सकेन । त्यस्तै कम्पनीका सामाजिक सञ्जालका विभिन्न प्लेटफर्म फेसबुक र इन्स्टाग्राममा समेतमा यस विषयमा जिज्ञासा राख्यौं । 

त्यहाँबाट पनि कुनै प्रतिक्रिया आएन । कम्पनीको एप खोलेर हेर्दा त्यसमा कुनै प्रोडक्ट देखिंदैनन् । सस्तोडिलका संस्थापक अमुन थापाले आधिकारिक रूपमा सस्तोडिल बन्द भएको घोषणा कहीं कतै गरेका छैनन् । हामीले उनलाई फोन र ह्वाट्सएप मार्फत सम्पर्क गर्न खोजे पनि प्रयास सफल भएन ।

केही महिना यता उनले सामाजिक सञ्जाल लिङ्क्डइनमा आफू अर्को स्टार्टअप कम्पनी खाली सिसीमा पूर्णकालीन रूपमा सक्रिय रहेको उल्लेख गरेका छन् । तर जाजरकोट भूकम्पमा राहत स्वरूप कम्बल वितरण गरेपछि उनले सस्तोडिलको बारे सामाजिक सञ्जालमा कतै पनि कुनै पोस्ट गरेका छैनन् ।

केही महिना अघि एक पोडकास्टमा थापाले सन् २०१८ मा नेपाली ईकमर्स बजारमा अलिबाबाको प्रवेश (दराजको नाममा) भएपछि अब आफूले नसक्ने भन्ने कुराको महसुस भएको बताएका छन् । “ईकमर्स इन्डस्ट्री मैले नेपालमा जन्माएँ, उनीहरू विश्व स्तरमै ईकमर्सका फादर । मलाई जति थाहा छ, त्यसको दशौं लाख बढी उनीहरूलाई थाहा छ । मेरो प्रविधि र लगानीमा पनि उनीहरूसँग म भन्दा दशौं लाख गुणा बढी छ,” उनले भनेका छन्, “यदि उनीहरू शत प्रतिशत लगानीसहित बजारमा प्रवेश गरिरहेका छन् भने अब मैले के गर्ने भनेर गम्भीर सवाल मेरो मनमा आएको थियो ।”

ईसेवा पसल, आईएमएस ग्रुपको डोको जस्ता ईकमर्स समेत बजारमा रहेको त्यस बेला उनी अलिबाबासँग प्रतिस्पर्धा गर्न लगानी जुटाउन तर्फ लागे । ईसेवा पसल लगायतका अन्य ईकमर्स बन्द भइसकेको अवस्थामा देशमा दोस्रो ठूलो ईकमर्सको रूपमा रहने निर्णयका साथ थप लगानी सङ्कलन गरिएको थापाले उल्लेख गरेका छन् ।  

कम्पनीमा डोल्मा इम्प्याक्ट फण्डले समेत असार २०७७ मा १२ करोड बढी लगानी गरेको थियो । राजधानीमा मात्र सीमित सस्तोडिललाई देशका अन्य सहरमा विस्तार गर्ने उद्देश्यले उक्त लगानी उठाइएको थियो । त्यस्तै सस्तोडिलमा आफूहरूले समेत लगानी गरेको जानकारी दुई वर्ष अघि नै आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले टेकपानालाई दिएका  थिए । 

सन् २०१६ पछि सस्तोडिलले लगानीकर्ता भित्र्याउन थालेको थियो । त्यसयता डोल्मा इम्प्याक्ट फण्ड, आईएमई ग्रुप बाहेक अन्यले पनि त्यसका लगानी गरेका थिए । थापाले आफ्ना पाँच लगानीकर्ता नेपालका शीर्ष १० व्यावसायिक समूह मध्येका रहेको उल्लेख गरेका छन् । 

लगानी जुटाउँदा चालु खर्च कम्पनीले आफ्नो नाफाबाट धान्नुपर्ने हुन्छ र लगानीकर्ताबाट आएको पैसा पुँजीगत खर्च (मसिनरी, जग्गा भाडामा लिने, प्रविधि आदिमा) लगाउनु पर्ने हुन्छ । लगानीकर्ताले आफ्नो पैसा फिर्ता लिन थालेपछि सस्तोडिल पुनः पहिलेकै अवस्थामा फर्किएको कुरा थापाले खोलेका छन् । यस किसिमको सर्तमा लगानी जुटाउने कार्य आफूले कम्पनीमा गरेको एउटा अर्को ठूलो कमजोरी भएको महसुस उनले गरेका छन् ।

सस्तोडिलमा पैसा गुमाए पनि कुन पनि बैंकिङ दायित्व भने आफूसँग नरहेको दाबी समेत थापाले गरेका छन् ।  उनले अब सस्तोडिललाई संस्थापक सीईओ आवश्यक नरहेको र आफूले बिदा लिन चाहेको कुरा समेत पोडकास्ट मार्फत खुलाएका छन् । तर कम्पनी नै बन्द हुने विषय भने उनले उल्लेख गरेका छैनन् । 

सस्तोडिलले पछिल्लो समय भारतको चर्चित ईकमर्स प्लेटफर्म फ्लिपकार्ट, मिन्त्रा र सेल्सबेरीसँग सहकार्य गरेको थियो । पछिल्लो समय बजारमा सस्तोडिल निष्क्रिय देखिएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताबिच यस विषयमा चर्चापरिचर्चा समेत बढेको छ । 

पर्याप्त अनुसन्धान बिना सन् २०१८ तिर भारतको मुम्बईमा रहेको अक्टाशप नामक कम्पनीको सफ्टवेयर लिजमा लिनु आफ्नो सबैभन्दा ठूलो कमजोरी भएको सस्तोडिलका सीईओ समेत रहेका थापाले स्वीकार गरेका छन् । “त्यो करोडौंको लगानीको विषय थियो । यतिसम्म कि कुनै सानो परिवर्तन गर्नुपर्दा उनीहरूलाई भन्नुपर्ने । त्यसका लागि उनीहरूले एक हप्ता लगाइदिन्थे,” उनले भनेका छन् ।

सन् २०२१ सम्म आइपुग्दा आफू अक्टाशपसँग आजित भइसकेको उल्लेख गर्दै थापाले छोड्न पनि नसक्ने र अरू केही गर्न पनि नसक्ने अवस्थामा पुगेको बताएका छन् । किन कि त्यतिञ्जेलसम्म सस्तोडिलको सम्पूर्ण सिस्टम तथा डेटा अक्टशपमै थियो । केही उपाय नलागेपछि सस्तो डिलको टिम भित्रिरूपमा आफ्नै सफ्टवेयर कोड लेख्न थाल्यो । दुई वर्षपछि सन् २०२३ मा मात्रै सस्तोडिलको आफ्नै सफ्टवेयर तयार पार्न सक्यो । अक्टाशपसँग काम गरेको तीन वर्षको अवधिमा कम्पनीको वृद्धि हुन नसकेको सीईओ थापाले स्वीकार गरेका छन् । 

‘आईटी आन्टप्रेनर्स फर नेपाल’ नामक फेसबुक ग्रुपमा वसन्तकुमार ढकालले विभिन्न नेपाली ईकमर्श प्लेटफर्म (एस काठमाडौं, ईसेवापसल, मुकुन्डो, सस्तोडिल र ग्यापु) असफल हुनुको कारणबारे आफ्नो जिज्ञासा राख्न अनुरोध गरेका छन् । सो पोस्टमा रिप्लाई गर्दै रवि जयसवालले लेखेका छन्, “खासगरी तपाईं लाखौं डलर खर्च गर्ने वा ठूलो राजनीतिक आबद्धता नभएको अवस्थामा हुनुहुन्छ भने नेपाल व्यापार गर्नका लागि राम्रो होइन ।”

त्यस्तै उनले नेपालको प्रविधि क्षेत्रमा ठुला काम गर्नका लागि बजार निकै सानो भएको समेत उल्लेख गरेका छन् । त्यसबाहेक नेपाली व्यवसायी वास्तविक समस्या समाधान गर्नुको साटो बिना कारण एकअर्का विरुद्ध प्रतिस्पर्धा गर्नेतर्फ केन्द्रित हुने गरेको उनको भनाई छ । उनले अगाडि भनेका छन्, “हामीकहाँ पहिले नै आवश्यक भन्दा धेरै चिजहरू छन् र सरकारसँग नेपाली उत्पादन/कम्पनीलाई विदेशी उत्पादन/कम्पनीबाट जोगाउने नीति छैन ।”

त्यस्तै आशिष यादवलेले उचित नेतृत्व र भिजनको अभावले नेपाली ईकमर्स प्लेटफर्म बन्द भएको धारणा राखेका छन् । आरसी अधिकारी नाम भएका प्रयोगकर्ताले युवाहरूले देश छोड्दै गएकाले यी प्लेटफर्म बन्द हुने अवस्था आएको उल्लेख गरेका छन् । जीवन श्रेष्ठले ग्राहक सेवा राम्रो नभएकाले सस्तोडिल असफल भएको धारणा राखेका छन् । 

त्यसैगरी रोहित धनावतले नेपालमा अनलाइन व्यवसाय असफल हुनुका विभिन्न ११ ओटा कारण उल्लेख गरेका छन् । उनका अनुसार महँगो ढुवानी सेवा, एड्रेस फर्म्याटको विकास नहुनु, ग्राहक अधिग्रहण शुल्क बढी हुनु, अस्थिर सरकारी नीति, अस्वस्थ प्रतिस्पर्धा, कम गुणस्तरका सामान, अनलाइन शपिङप्रति विश्वासको अभाव, बिक्रीपछि ग्राहकसँग राम्रो व्यवहार गर्ने नीति नहुनु, दर्ता नगरी व्यवसाय सञ्चालन गर्नु, दुरुस्तै अर्काले गरेको जस्तै व्यवसाय गर्नु र नेपालमा अनलाइनबाट सामान अर्डर गर्ने युवा वर्ग पलायन हुनु नै अनलाइन व्यवसाय असफल हुनुको मुख्य कारण हुन् ।

पछिल्लो अध्यावधिक: चैत २८, २०८० २०:११