close

कस्तो प्रविधि हो आज ३०० बढी इरानी रकेट र ड्रोन खसालेको इजरायलको आइरन डोम ?

टेकपाना टेकपाना

बैशाख २, २०८१ १५:१२

कस्तो प्रविधि हो आज ३०० बढी इरानी रकेट र ड्रोन खसालेको इजरायलको आइरन डोम ?

काठमाडौं । इजरायलले आफ्ना शत्रुबाट प्रहार हुने रकेट निस्तेज पार्न आइरन डोम प्रविधि प्रयोग गर्दै आएको छ । विशेषगरी गाजातर्फ रहेको सैन्य समूह हमासको तर्फबाट प्रहार हुने रकेट आक्रमणबाट देशलाई सुरक्षा दिन यो प्रणाली प्रयोग हुँदै आएको थियो । 

आइतबार राति इरानबाट प्रहार भएका २०० भन्दा बढी रकेट र ड्रोनबाट समेत आइरन डोम प्रणालीले नै जोगायो । यसले सम्भावित ठुलो जनधनको क्षति जोगाइदिएको छ । यदि इजरायलसँग यो प्रणाली नभइदिएको भए त्यहाँ थुप्रै जनधनको क्षति हुन सक्ने जनाइएको छ । यद्यपि केही रकेट भने इजरायलको भूमिमा खसेको बताइएको छ ।

आज हामी तपाईंलाई इजरायलको आइरन डोम मिसाइल डिफेन्स सिस्टम के हो र यसले कसरी काम गर्छ भन्ने बारेमा बताउँदै छौं: 

के हो आइरन डोम प्रणाली ?

मोबाइल मिसाइल-डिफेन्स ब्याट्रीबाट सञ्चालित आइरन डोम सिस्टम इजरायलका लागि मिसाइल र रकेट आक्रमणबाट बचाउने मुख्य प्रतिरक्षा प्रणाली हो । जब आइरन डोम राडार युनिटले आउँदै गरेको रकेट पहिचान गर्छ, त्यसले सोको गति र प्रक्षेपित वस्तुको जानकारी ब्याट्रीको कन्ट्रोल सेन्टरमा पठाउँछ । 

त्यसपछि कन्ट्रोल सेन्टरका कम्प्युटरले उक्त रकेट मानव वस्ती भएको क्षेत्रमा खस्दैछ कि भन्ने विषयको लेखाजोखा गर्छ । यदि मानव वस्तीमा रकेट गइरहेको छ भने एउटा लन्चरले मिसाइल प्रहार गर्छ, जसमा २० ओटा इन्टरसेप्ट मिसाइल समावेश रहेका हुन्छन् । 

प्रत्येक मिसाइलले कन्ट्रोल सेन्टरबाट सटीक निर्देशन अपडेटको रूपमा प्राप्त गर्छन् । ती मिसाइलले आइरहेको रकेटलाई त्यसको नजिकै विस्फोट गराएर ध्वस्त पारिदिन्छन् । यसो गर्नुको उद्देश्य मानव वस्ती रहेका क्षेत्रलाई जोगाउनु र जमिनमा हुन सक्ने सम्भावित नोक्सानीलाई कम गर्नु हो । 

यो प्रणाली दिनरात मात्र नभएर सबै प्रकारका मौसममा समेत सञ्चालन गर्न सकिन्छ ।  यो प्रणाली अन्तर्गत इजरायलभर विशेष ब्याट्री सहितका विभिन्न स्थानहरू छन् । ती सबै ठाउँमा तीनदेखि चार ओटा लन्चर राखिएका छन् । यस्तो एउटै लन्चरले २० ओटा इन्टरसेप्टर मिसाइल प्रहार गर्न सक्छ । जसमा फिक्स र मोबाइल गरी दुई प्रकारका प्रणाली रहेका छन् ।  

 

कसरी काम गर्छ ? 

सन् २००६ मा इजरायल र दक्षिणी लेबनान स्थित सैन्य समूह हिजबुल्लाहबीच भएको युद्ध पश्चात् आइरन डोम प्रणाली विकास भएको हो । हिजबुल्लाहले इजरायलमाथि हजारौं रकेट प्रहार गर्दथ्यो, जसबाट भयानक क्षतिका साथै दर्जनौं नागरिकहरूको मृत्यु हुन पुग्थ्यो । 

त्यसैको प्रतिक्रिया स्वरूप नयाँ मिसाइल प्रतिरक्षा कवच विकास गरिएको इजरायलले बताउने गरेको छ । इजरायली कम्पनी राफेल एड्भान्स्ड डिफेन्स सिस्टम र इजरायल एरोस्पेस इन्डस्ट्रिजले अमेरिकी सहयोगमा आइरन डोम तयार पारेका हुन् । 

इजरायलको आइरन डोमले रातको समयमा आकाशमा रकेट इन्टरसेप्ट गरिरहेको  ।

यो प्रणाली विशेषगरी गाजा तर्फबाट प्रहार हुने रकेट लगायतका हतियारसँग जुध्नेगरी डिजाइन गरिएको थियो । जुन पहिलो पटक सन् २०११ मा प्रयोग गरियो । त्यतिखेर यसले गाजाको तटीय क्षेत्रबाट प्रहार भएका मिसाइलहरू खसालिदिएको थियो, जुन क्षेत्र सन् २००७ देखि हमासको नियन्त्रणमा छ । सन् २०१९ मा अमेरिकाले केही आइरन डोम ब्याट्री खरिद गरी परीक्षण गर्ने घोषणा समेत गरेको थियो ।

पछिल्लो अध्यावधिक: बैशाख २, २०८१ १५:२८