close

इन्टरनेटमा चलेको ‘स्पिड वार’ ले कतै बिगार्दै त छैन गुणस्तर ?

टेकपाना टेकपाना

मंसिर २४, २०७८ १३:३९

इन्टरनेटमा चलेको ‘स्पिड वार’ ले कतै बिगार्दै त छैन गुणस्तर ?

काठमाडौं । यतिबेला नेपालको इन्टरनेट बजारमा स्पिड वार चलिरहेको छ भन्दा कुनै फरक पर्दैन । नयाँ इन्टरनेट सेवाप्रदायकको रुपमा चौधरी समूह अन्तर्गतको सीजी कम्युनिकेसन्सले एकैपटक १२० एमबीपीएस गतिको इन्टरनेट ग्राहकलाई उपलब्ध गराउने निर्णय गरेसँगै अन्य इन्टरनेट सेवाप्रदायक पनि हौसिएका छन् ।

हुन त सीजीअघि नै डिशहोमले १०० एमबीपीएस इन्टरनेट उपलब्ध गराएको थियो । तर, सीजीको प्रवेश नेपालको इन्टरनेट बजारमा स्पिडका लागि ‘टर्निङ प्वाइन्ट’ सावित भएको छ ।

सीजीले भ्याटबाहेक ९९९ रुपैयाँमा १२० एमबीपीएस इन्टरनेट ल्याएपछि यसले ‘प्राइस वार’ मात्रै सुरु गरेन, ‘स्पीड वार’ पनि सुरु भयो । डिशहोम र सीजीलाई पछ्याउँदै सुबिसु स्पीड वारमा भित्रियो ।

सुबिसुले १५० एमबीपीएस गतिको इन्टरनेट ल्यायाे । कम्पनीले १५० एमबीपीएस इन्टरनेटमा ६ र १२ महिनाको प्याकेज घोषणा गर्‍यो ।

त्यसपछि बजारमा वर्ल्डलिंक भित्रियो । वर्ल्डलिंकले ३०० एमबीपीएस गतिको इन्टरनेट प्याकेज ल्यायाे । मेस राउटरसहित वर्ल्डलिंकले ३०० एमबीपीएस गतिको इन्टरनेट ल्याएपछि बजार अझ तात्याे ।

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक स्पिड वारमा प्रवेश गरेसँगै बजारमा अन्य कम्पनी पनि विस्तारै स्पिड बढाउँदै पैसा घटाउनतर्फ लागिरहेका छन् ।

बिहीवारमात्रै तेस्रो ठूलो इन्टरनेट सेवाप्रदायक भायानेट १७५ एमबीपीएस गतिको इन्टरनेटसहित प्रस्तुत भएकाे छ । हुन त कम्पनीले दशैं अफरको रुपमा १०० एमबीपीएसको इन्टरनेट यसअघि नै सुरु गरिसकेको थियो ।

अब पालो अर्को इन्टरनेट सेवा प्रदायक क्लासिक टेकको । क्लासिक टेकले यसअघि नै १०० एमबीपीएस गतिको इन्टरनेट प्याकेज बजारमा ल्याइसकेको छ । त्यतिले नपुगेर अब मेस राउटरसहित ५०० एमबीपीएस गतिको तयारी गरिरहेको कम्पनीले जनाएको छ ।

यसरी एकपछि अर्को गर्दै सेवा प्रदायकबीच ‘स्पिड वार’ सुरु हुनु ग्राहकका लागि पक्कै पनि फाइदाको विषय हो । किनभने यसले प्रयोगकर्तालाई सहुलियत मूल्यमा उच्च गतिको इन्टरनेट सेवा प्रयोग गर्न अवसर मिलेको छ ।

तर, सँगै जसरी कम्पनीहरूले सस्तो मूल्यमा उच्च गतिको इन्टरनेट दिने प्रतिस्पर्धा गरिरहेका छन्, त्यसरी नै गुणस्तरीय सेवा दिन सक्छन्/सक्दैनन् भन्ने विषय चुनौतीको विषय हो ।

‘यो खालको स्पिड वार नै गलत हो,’ प्राधिकणका निर्देशक तथा गुणस्तर शाखा प्रमुख मीनप्रसाद अर्याल भन्छन्, ‘कम्पनीहरूले ग्राहकसँग गरेको सम्झौता अनुसार इन्टरनेट दिनुपर्ने हुन्छ । ५०० एमबीपीएस भन्ने, अनि बेला बेलामा मात्रै उक्त स्पिड दिने खालको प्रचलनले गुणस्तर कायम रहँदैन । त्यो हुँदा यसलाई व्यवस्थित गर्न आवश्यक छ । हामी यो विषयमा अध्ययन गर्छौं ।’

उनले अगाडि भने, ‘ग्राहकलाई सेवा प्रदायकले तोकिए अनुसार इन्टरनेट दिएका छन् वा छैनन् भन्ने विषय हामीले पनि हेर्नुपर्ने भएको छ । हुन त प्राधिकरणले स्पिड टेस्टका विकल्प उपलब्ध गराएको छ । ग्राहकले त्यहाँ स्पिड टेस्ट गरेर इन्टरनेट स्पिड भनेजति नभएको खण्डमा गुनासो गर्न सक्छन् । त्यो भएको खण्डमा कारबाही गर्न ठाउँ पनि रहन्छ ।’

प्राधिकरणका पूर्व वरिष्ठ निर्देशक आनन्दराज खनाल भन्छन्, ‘अंक दिनु एउटा कुरा हो, त्यो अनुसार स्पिडको विषयले अर्थ राख्छ । किनभने शेयरिङ रेसियाे कति छ ? कुन समयमा यो स्पिड प्राप्त हुने हो त्यो विषयले यहाँ अर्थ राख्छ । ठूलो स्पिडभन्दा पनि ग्राहकले सर्भिस कसरी पाउँछन् भन्ने विषय आजको आवश्यकता हो । किनभने सेवाप्रदायकले भनेजति इन्टरनेट दिने हो भने एउटा घरका लागि २५ एमबीपीएसको इन्टरनेट पर्याप्त हुन्छ ।’

तर, भायानेटका निर्देशक तथा इन्टरनेट सेवाप्रदायक संघ नेपालका पूर्व अध्यक्ष विनय बोहोरा भने ‘स्पिड वार’ लाई स्वभाविक ठान्छन् । ‘अहिले स्पिड वारको खोला बगिरहेको छ,’ उनी भन्छन्, ‘जहिलेसम्म खोला बग्छ, त्यसमा टिक्नसक्ने टिक्छन् । नसक्ने बाहिरिन्छन् । टिक्नका लागि गुणस्तरीय इन्टरनेट दिन आवश्यक छ ।’

तर, यहाँ गुणस्तरमा पक्कै केही ग्याप छ । सेवाप्रदायकले यो ग्यापलाई मेन्टेन्ट गर्न कोसिस गरिरहेका छन् । कहिले फोन नउठ्नु, व्यवस्थित तार, तार चुडिने, काटिने समस्याले गुण्स्त कायम गर्ने चुनौती छ् । हुन त यी सेवा प्रदायकको समस्या हुन् । सेवा प्रदायकले कति छिटो समस्याको समाधान गर्छन् भन्ने विषयले अब अर्थ राख्छ ।

उनी भन्छन्, ‘अब ग्राहकसँग धेरै विकल्प छन् । एउटा सेवा प्रदायकको सर्भिस मन नपरेको खण्डमा अर्को सेवा प्रदायकमा सिफ्ट हुनसक्छन् । यो हिसाबले ग्राहकलाई पक्कै पनि फाइदा पुग्ने हो ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२